म्यानमारमा सेनाद्वारा ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

चैत्र १५, २०७७  | १८१ पटक पढिएको

१५ चैत्र, काठमाण्डौ ।

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा बढी प्रदर्शनकारी मारिएका छन् ।

नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको हो ।

शनिबार सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गरेका छन् ।

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाएकी हुन् ।

प्रदर्शनकारीहरुमाथि गोली हान्ने आदेश दिएकाबारे भने उनले केही खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस