किवानिस क्लबले हातिढुंगामा शिवरात्रीको दिन शिव महोत्सव गर्दै

फागुन २१, २०७७  | २५१ पटक पढिएको

तुलसीपुर,२१ फागुन ।


किवानिस क्लव अफ राप्तीले शिबरात्रीका दिन हात्ती ढुंगामा शिव महोत्सव गर्ने भएको छ । तुलसीपुर–१४ ड्वाङपुरमा रहेको हात्तीढुंगाको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धनका लागि थप टेवा पुर्‍याउने उद्देश्यले एक दिने शिव महोत्सव गर्न लागिएको किवानिस क्लब अफ राप्ती नेपालका अध्यक्ष बिमल पोखरेलले जानकारी दिनुभयो ।

क्लबको आयोजना तथा हाति ढुंगा संरक्षण समितिको सहआयोजना एवम् तुलसीपुर उपमहानगरपालिका र वडा नम्बर १४ को संरक्षणमा फागुन २७ गते शिव महोत्सव हुन लागेको हो ।

धार्मिक एवं ऐतिहासीक महत्त्व बोकेको हात्ती ढुंगाको महत्व फैलाउन एक दिने महोत्सवको आयोजना गरिएको क्लवका संरक्षक जागेश्वर वली जानकारी दिनुभयो । शिब लिंगजस्तै देखिने ढुंगाको महत्व फैलाउन शिबरात्रीका दिन क्लबले शिब महोत्सवको आयोजना गरेको उहाँले बताउनुभयो ।
यस अघि हात्ती ढुंगासम्म पुग्ने सडक पनि किवानिसले मर्मत गरेको थियो ।
अहिले दुई लेन सडक निर्माण भएपछि आवातजावतमा सहज भएको छ । तुलसीपुर उपमहानगरपालिकाले पनि त्यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाएको छ ।

महोत्सवमा भजनकीर्तन मात्रै हुने क्लबका कार्यक्रम संयोजक नरेन्द्र वलीले जानकारी दिनु भएको थियो । त्यस अवसरमा पत्रकार ओपेन्द्र बस्नेत, दीपक बोहरा, बसन्त पौडेल, जीतसागर जीएमलगायतले सुझाब राखेका थिए । पत्रकार सम्मेलनको सहजीकरण क्लबका प्रेस संयोजक राकेश बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस