महिला सशक्तीकरणमा तुलसीपुर : जन्मनेबित्तिकै खातामा पैसा

फागुन १२, २०७७  | २१२ पटक पढिएको

१२ फागुन, तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी अभियान सञ्चालनसँगै छोरी जन्मनेबित्तिकै सबै तहको प्रोत्साहनका लागि छोरीहरुको बैंक खातामा पैसा समेत राखिदिन थालेको छ । यो अभियानमा ११ स्मार्ट छोरी खाता समेत सञ्चालन भैसकेको छ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठकले सवै वडालाई यस्तो अभियानमा जोडिनका लागि लिखित एवं मौखिक जानकारी समेत गराइसकेको छ ।

महिलालाई मुलुकको मुल प्रवाहमा ल्याउन र समानतामुलक समाजको निर्माणका लागि यो अभियान थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताएकी छिन् । खासमा यो अभियान महिलालाई सशक्तीकरण, सवलीकरण एवं सामाजिक न्यायका लागि पनि सक्षम बनाउनका लागि थालिएको बताइन् । पितृसत्तात्मक सोंचलाई परिवर्तन गरी महिला पुरुषलाई समान अवसर दिलाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले यो अभियान ल्याएको पनि उपमहानगरपालिकाले जनाएको छ ।

‘बीस पारी विहेवारी, यौनजन्य हिंसाको अन्त्यका लागि महिला शिक्षा र क्षमताको अभिवृद्धि गरिनुपर्दछ, सभ्य समाजको निर्माण र समाजमा समान हिस्सा महिलाहरुले पनि लिनु पर्दछ भनेर नै यो अभियान थालिएको हो’, उपप्रमुख आचार्यले भनिन् । यसले समतामुलक समाज निर्माण गर्ने र लैंगिक हिंसा र लैंगिक विभेदको पनि अन्त्य हुने आफुहरुको अपेक्षा रहेको पनि उनको अभिव्यक्ति थियो ।

यति हुँदाहुंँदै पनि तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरुमा व्यापक प्रचारप्रसार र अभियानलाई सशक्त गराउन वडा सरकार तथा टोलविकास समितिहरु जागरुक नबन्दा थोरै छोरीहरुको नाममा मात्र बैंक खाता खुलेको छ । उपमहानगरपालिकाले तोकेको सर्तमा गर्भावस्थादेखि जन्मदासम्म नै नियमित स्वास्थ्य परीक्षण गराएका महिलाहरुबाट जन्मने छोरीका नाममा बैंक खाता खोलिने विनियम बनेको छ ।

यद्यपि यो विषयमा अझै पनि आमाहरु जानकार छैनन् । अभियान सुरु गरेसँगै धेरै छोरीहरु जन्मेको भए पनि पछिल्लो तथ्यांकअनुसार ११ जना छोरीहरुको नाममा बैंकखाता सञ्चालनमा आएको हो । छोरीको आर्थिक सशक्तीकरणका लागि स्मार्ट छोरी अभियानलाई आम नागरिकहरुले पनि एउटा नविनतम् कार्यक्रम रहेको भनेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले थालेको यो अभियानलाई मुलुकका अन्य स्थानीय पालिकाले पनि अनुशरण गर्ने अभ्यास थालिसकेका छन् । त्यसका लागि आवश्यक कानुन निर्माणको प्रक्रिया पनि केही छिमेकी पालिकाहरुले गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको स्मार्ट छोरी कार्यक्रममा ११ छोरीको खाता खोलिएको छ । छोरीको आर्थिक र सामाजिक सशक्तीकरणका लागि ११ वटा छोरीको खाता खोलिएको हो । २०७७ साउन १ गते यता जन्मिएका सबै बालिका यो कार्यक्रममा सहभागी भइरहेका छन् ।

नगरभित्रका सबै बालिकाको नाममा जन्मेदेखि बीस वर्ष नपुग्दासम्म प्रत्येक महिना एक सय रुपैयाँका दरले रकम जम्मा गर्न थालिएको छ । बीस पारी विहेवारी… महिला हिंसा पनि नहोस् भनेर यो अभियान सुरु भएको हो । यसका लागि कति आवश्यकता अनुसारको बजेट विनियोजन भैसकेको पनि तुलसीपुर उपमहानगरपालिकाको दावी छ ।

भौतिक विकासले मात्र समाज पूर्ण नहुने भन्दै सामाजिक विकास र सामाजिक सवलीकरणको पाटो पनि एउटा समृद्धिको पक्ष भएको भन्दै यो अभियान थालिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताएका छन् ।

स्मार्ट छोरी कार्यक्रमका लागि दुई वटा बैंकसँग सम्झौता भएको छ । स्मार्ट छोरी कार्यक्रमका लागि जन्मदर्ता, बुबा आमाको विवाह दर्ता र स्वास्थ्य संस्थामै सुत्केरी भएको प्रमाण पत्र वडामा पेस गर्नुपर्छ । ती सबै प्रमाण पत्रहरू वडाले सिफारिस गरिसके पछि उपमहानगरपालिकाले बैंकलाई सिफारिस गरिसकेपछि बैंकले खाता खोलिदिने छ ।

जन्मेको पहिलो महिना एक हजार दुई सय रुपैयाँ र त्यसपछिका प्रत्येक महिना एक सय रुपैयाँ उपमहानगरले बचत गर्ने गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडाका लागि स्मार्ट छोरी कार्यक्रम ल्याइएको छ ।

उपमहानगरपालिकाले २० वर्ष नपुग्दै हुने विवाह रोक्न र बालिकाको माध्यमिक शिक्षा सुनिश्चित गर्न यो कार्यक्रम सुरु गरेको उपमहानगरका महिला, बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले बताइन् । यो कार्यक्रम बालविवाह न्युनीकरण तथा छोरीहरूको सशक्तीकरणको लागि धेरै नै प्रभावकारी हुनेमा आफुहरु विस्वस्त रहेको बताइन् ।

असक्षम छोरीहरु नै धेरै बालविवाहमा संलग्न हुने गरेको भन्दै छोरीहरू पढ्न उत्साहित हुने उनको भनाइ छ । कतिपय अभिभावकले अझै पनि छोरीलाई बोझको रुपमा लिने गरेकोले छोरीको उच्च शिक्षा अध्ययनमा सहजता हुने उनले बताइन् ।

२०७७ साउन १ गतेभन्दा पहिला जन्मेका भने सहभागी नहुने जनाइएको छ । १२ कक्षा उत्तीर्ण नगर्दै पढाइ छाडेमा वा बीस वर्ष नपुग्दै विवाह गरेमा भने खातामा जम्मा भएको रकम उपमहानगरकै खातामा फिर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस