न्यायिक समितिमा बितेको ६ महिनामा ७१ मुद्दा दर्ता

फागुन १२, २०७७  | २०० पटक पढिएको

मिना खड्का, १२ फागुन, तुलसीपुर ।

बितेको ६ महिनामा जम्मा ७१ वटा मुद्दा दर्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७१ वटा मुद्दा दर्ता भएका हुन् । सबैभन्दा धेरै खान लाउन नदिएका उजूरी दर्ता भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ४७(१) अन्तर्गत ५६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ४७ (२) अन्तर्गत १५ वटा मुद्दा दर्ता भएको न्यायिक समितिले जनाएको छ ।

जसअनुसार माना चामल र आमद इज्जतअनुसार खान लाउन नदिएको ४५, जग्गा विवादको ११, कुल पानी सम्बन्धी ३ र अन्य १२ वटा मुद्दा दर्ता भएका छन् । हालसम्म मिलापत्र भएका विवादको जम्मा संख्या २६ वटा रहेको छ ।

मेलमिलाप आदेश भई मुद्दा प्रक्रियामा गएका विवादको संख्या २९ र प्रक्रिया अघि बढाउन बाँकी १६ वटा मुद्दा रहेका छन्, भने यस आर्थिक वर्षमा ४५ वटा मुद्दा बाँकी रहेका छन् । गत आर्थिक वर्षको जिम्मेवारी सरी आएको मुद्दाको संख्या ३७ रहेको छ । गत वर्षका २० वटा मुद्दाको मिलापत्र भएको छ भने गत वर्षका १७ वटा मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन् । गत बर्ष देखिको १७ मुद्दा बाँकी रहेका छन् । हालसम्म अझै ६२ वटा मुद्दा फस्यौर्ट गर्न बाँकी रहेका छन् ।

न्यायिक समितिका संयोजक माया आचार्यले अहिले पनि महिलाहरु नै धेरै आफ्नो समस्या लिएर आउने गरेको बताइन् । पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानूनले पुरुषलाई महिला सरह सम्बन्ध विच्छेदको अधिकार दिएको भए पनि माना चामल र आमद इज्जतअनुसार खान नदिएको भन्दै महिलाहरु न्याय माग्न आउने गरेको उनले बताइन् ।

साथै कतिपय व्यक्ति कानुनी प्रकृया के छ भनेर नबुझेरै अथवा बुझेर पनि नबुझेको जस्तो गरिदिंदा आफुहरुलाई समस्या हुने गरेको उनको भनाई छ । ‘उपमहानगरपालिकाको न्यायिक समितिमा मिलाउन नसकिने र कानुनअनुसारका मुद्दाहरु अदालतमा पठाउने गरेको उनले भनिन् ।’

वर्तमान समयमा महिलाहरु पुरुषको दबाब, हिंसा र पारिवारिक पीडा सहन तयार छैनन्, बिस्तारै महिला आफ्ना हक अधिकारप्रति सचेत हुन थालेका छन्, सामाजिक चेनता वृद्धिले महिलामा आत्मविश्वास बढेको छ । त्यसकारण पनि पिडाको महशुस भएपछि अधिकांस महिला आफ्ना समस्या लिएर न्यायालय धाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस