तुलसीपुर विकास प्राधिकरणमा राजनीतिक भाइरस: ३ किलोमिटर नसक्दै ५ किमिको अभियान

फागुन ०५, २०७७  | २६० पटक पढिएको

०५ फागुन, बिजौरी ।

तुलसीपुर उपमहानगरपालिका—१७ झिंगैका स्थानीयबासी तिलक भण्डारी स्थानीय सरकारको सडक स्तरोन्नतिका सवालमा कत्ति पनि सन्तुष्ट छैनन् । पोहोरसालै कालोपत्रे गर्ने सडकलाई अधुरो राखेर फेरी सोहि क्षेत्रमा अर्को सडक कालोपत्रेका नाममा सडक फेरी धुलाम्मे बनाइएका मात्रै छैन, सडक चौडाका लागि ट्रयाक खोल्न समेत विवाद देखिएको छ ।

तुलसीपुर उपमहानगरपालिका—१८ का विपिन शर्मालाई पनि स्थानीय पालिकाको काम अधुरो रहेकोमा गुनासो छ । यस अघिनै तुलसीपुर उपमहानगरपालिकाले हरेक वडामा ३ किमि सडक कालोपत्रेको अभियान सञ्चालनमा ल्याएको थियो, तर त्यो पुरा हुन नपाउँदै फेरी नयाँ सडकका ट्रयाकहरु खोलेर नागरिकहरुलाई भिडाउने काम भैरहेको उनको अभिव्यक्ति थियो ।

चरणबद्ध र सिस्टममा काम हुन नसक्दा तुलसीपुर विकास प्राधिकरण क्रमशः विवादमा आउन थालेको नागरिक अगुवाहरुले बताएका छन् । विकास निर्माणका कामलाई समानुपातिक र समावेशी विकास अवधारणालाई कार्यन्वयनको उद्देश्यले स्थापित गरिएको तुलसीपुर विकास प्राधिकरणका कामप्रति नगरबासीहरुले धेरै गुनासो गरेका छन् ।

खासमा तुलसीपुर उपमहानगरपालिकामा जोडिएका ग्रामिण बस्तीसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्दै लैजानका लागि बास्केट फण्ड तुलसीपुर उपमहानगरपालिकाले प्राधिकरणमा विनियोजन गरेको थियो । गतसाल प्राधिकरणले हरेक वडामा ३ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएर काम समेत सुरु भएको थियो ।

प्राधिकरणले थालेको कालोपत्रे अभियानका क्रममा खसाइएका सडक किनाराका ढुंगा मात्र चोरिएनन्, ग्राभेलका गिट्टि पनि कहाँ हराउँदैछन् भन्ने उपमहानगरपालिकालाई अत्तोपत्तो छैन ।

कालोपत्रेका लागि तयार भैसकेका तीन किमि सडक त्यहिबेला कालोपत्रे गरिएको भए थोरै खर्चमा सम्पन्न हुन सक्थे, तर अहिले कालोपत्रेको अन्तिम तयारीमा रहेका सडकहरुमा फेरी ग्राभेल बिच्छाउने अवस्था देखिएको छ । यसमा नागरिकहरुले समेत असन्तुष्टि जनाएका छन् ।

गतसालका योजना अधुरा रहँदै गर्दा फेरी अहिले सरकारी नम्बरप्लेटका टिप्परहरुले रातारात गिट्टि, बालुवा कहाँ ओसारिरहेका छन् ? व्यक्तिको आग्रहमा कि आवश्यकताको आधारमा ? यो विषयमा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु केही बोल्न चाहेका छैनन् ।

तीन किमि सडक कालोपत्रे गर्न गतसाल विनियोजन भएको २२ करोड बजेट तुलसीपुर विकास प्राधिकरणले खर्च गर्न सकेन । कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै बजेटलाई शीर्षकान्तर गरियो । अनि रकमान्तर गरियो । प्राधिकरणका लागि टिप्परहरु खरिद भए ।

नदीजन्य पदार्थ संकलनका लागि स्काभेटरदेखि टिप्परसम्म उपमहानगरपालिकाले खरिद गरेको छ । तर विकास निर्माणका काममा कोरोनाको भाइरसभन्दा पनि राजनीतिक भाइरस सक्रिय भएको छ । मुलुकमा दुई तिहाइ बहुमतको सरकार गठन हुँदाको आशालाई आम नागरिकहरुले पछिल्लो समयमा कोरोना भाइरसभन्दा पनि राजनीतिक भाइरसको देखिएको बताएका छन् ।

यो चालु आर्थिक वर्ष फेरी तुलसीपुर उपमहानगरपालिकाको विकास प्राधिकरणका लागि १५ करोड रुपैया विनियोजन भएको छ । यो बजेट पनि खर्च गर्ने समय अब धेरै महिना बाँकी छैन । आर्थिक वर्षको अन्त्यसम्म यो बजेट खर्च गर्ने तयारी भैसकेको प्राधिकरणका इन्जिनियर पवन योगीले बताएका छन् ।

योगीकैअनुसार यो बजेट खर्च गर्नका लागि ठेक्का सम्झौता पनि केही वडामा भैसकेका छन् । उनकाअनुसार यो वर्ष केही वडाका सडकहरुमा ठेक्का सम्झौता समेत सम्पन्न भैसकेको छ । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ६, ७, ७, ८, र ९ वडामा मात्रै कालोपत्रेका लागि सम्झौतासँगै अन्य प्रक्रिया समेत अघि बढेका छन् । तर अन्य वडामा भने योजना सम्झौता र ठेक्का सम्झौताका प्रक्रिया पनि सुरु भएका छैनन् ।

५ किमि सडक कालोपत्रेको लालीपप

तुलसीपुर उपमहानगरपालिकाले फेरी हरेक वडामा ५ किमिको लालीपपको अभियान सुरु गरेको छ । गतसालको बजेट नै सडक स्तरोन्नतिमा खर्च नगरेर रकमान्तर गरेको उपमहानगरपालिकाले फेरी ५ किमि सडकको लालीपप नगरबासीलाई देखाउँदै छ । हरेक वडामा ५ किमि सडक स्तरोन्नति हुने कुनै लक्षण नै नदेखिएको स्थानीयबासीहरुले बताइरहेका छन् ।

‘हरेक वडामा ५ किमि सडकको अभियान सुरु भएको मात्रै हो, मलाई लाग्छ, यो वर्ष ट्र¥याक खोल्ने कामसम्म हुन सक्दछ’—प्राधिकरणका सिइओ पवन योगीले भने ।

गतसालको बजेटमा ग्राभेल गरिएका सडकहरुमा भने यो वर्ष जसरी पनि कालोपत्रेको अन्तिम तयारी भएको पनि उनको अभिव्यक्ति थियो । अलकत्र ल्याउनका लागि पनि प्रक्रिया अघि बढिसकेको पनि उनको अभिव्यक्ति थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार