म अनि हाम्रो पत्रकारिता

पुष ०८, २०७७  |  १८४ पटक पढिएको

कसरी भनुम दिन रात काम गरेर महिना मर्दा पैसा नहुँदाको पीडा अनि कसरी भनुम दिउँसभर ओ हो पत्रकारज्यु आउनुस् चिया खाउ भनेर कसैले भन्दा मन भरी चियाको तल्तल लाग्दा नि मैले चिया खान छाडें सर भनेर हिड्दाको पीडा यो सबैको कारण पैसामा नै जोडिँदो रैछ । गाडिमा पाँच मिनेटको बाटोलाई खल्तिमा पैसा नहुँदा एक घण्टा लगाई हिडेर गएर समाचार सङ्कलन गरेर फर्कदा त्यो समाचारले स्थान नपाउँदाको पीडा मैले महसुस गरेको छु ।

देशको चौथो अंग पत्रकार जस्ले कसैको बारेमा राम्रो समाचार लेख्दा आफू वरिष्ठ पत्रकार भनी दिन्छ अनि त्यहीँ ब्यक्तिले गल्ती गर्दा गल्ती गर्यो भनेर लेख्दा फुटपाथको पत्रकार यो कहाँसम्मको न्याय हो त ? किन सत्यलाई सत्य भयो भनेर लेख्न नपाउने होर ? मेरो परिवार मेरो तलब आउला र मैले के के गरुम्ला भनेर आश गर्नु नै पर्ने त स्थिति थिएन तर आफू जागिरे भएर घरमा आफ्नो खर्चको लागि पैसा माग्न जाँदाको पीडा अरुले त कति महसुस गरे त्यो भन्दा कम मैले पनि महसुस गरिनँ होला ।

दश हजार दिन्छ रे भनेर आफ्नो जिल्ला छाडेर पल्लो जिल्ला गाको तर त्यहाँ आफ्नो कामको सम्मान नहुँदाको पीडा मैले राम्रोसँग महसुस गरेको छु तर यति हुँदाहुँदै पनि मैले अझैसम्म हार मानेको छैन किनकी म एक कलमजीवी हुँ ।

कलम चलाएर विहान बेलुकाको छाक टार्ने मान्छे । न कसैको गुलाम बनेर बसेको छु, न बस्ने नै छु । सबैको आ–आफ्नो पेसा छ, मान मर्यादा पनि छ । जसले जसको नुन खाएको छ नुनको सोझो गरेकै छ र गर्नु पनि पर्छ । मेरो पेसा पनि पत्रकारिता हो । मेरो पनि आफ्नै इज्जत र मान मर्यादा छ । मैले पनि नुन खाएको छु र नुनको सोझो गरेकै छु ।

पत्रकारिता मेरो पेसा मात्रै होइन, मेरो धर्म पनि हो । गाउँमा जन्मिएको एक साधारण किसानको छोरा म । पत्रकारिता क्षेत्रमा यहाँसम्म आउँछु भनेर सोच्नु त के एसएलसीसम्म पत्रकारिताको ‘प’ थाहा नभएको मान्छे । तर आज विभिन्न मिडियामा काम गर्दै यहाँसम्म आएको छु । भलै ममा पत्रकारिताको पूरापुर गुण न होला तर अहिले ‘प’ होइन पत्रकारिताकै अर्थ बुझ्न थालेको छु ।

मेरो पत्रकारिताको दौरानमा थुप्रै त्यस्ता काम गरे जसले सकरात्मक दिशा दिएको छ । गर्व गर्छु, मेरो कामबाट कसैको आँखा खुलेको छ, कसैलाई सहयोग मिलेको छ, कसैलाई सकरात्मक बाटो देखाएको छ । यो दौरानमा थुप्रै चुनौतीहरु खेपे, थुप्रै आरोह अवरोह खेपें तर सधैँ अगाडि बढ्ने जमर्को गरें, गर्दै आएको पनि छु ।

चाहे खाने पानीको समाचार सङ्कलन गर्न जाँदा १ घण्टा उद्योगमै थुनेर राखेको घटना होस्, चाहे विद्यालयमा विकृति विसंगतिविरुद्ध आवाज उठाउँदा विद्यालयमै थुनेको घटना होस् या नगरपालिकामा अनियमितताको रिपोर्टिङको घटना अझै ताजै छ ।

आफ्नो पेसालाई कहिल्यै कमाई खाने भाँडो ठानिनँ । बरु सधैँ विकृति विसंगति विरुद्धमा लागे, जनतालाई सूसुचित गर्ने जमर्को गरेँ । आफूलाई प्रण गरेको छु– विकृति विसङ्गतिको अगाडि कहिल्यै नझुक्ने, कहिल्यै नलुक्ने ।

अब कुरा गरौँ पत्रकार महासंघको

राजनीतिक आडम्बर भित्र रहेर गरिने पत्रकारिताले के सत्य उजागर गर्न सक्ला ? कुनै दलको खोल ओढेर समचार कक्षमा चलाइने कलमले आम पाठकलाई सही सूचना दिन सक्ला ?

राजनीतिक छत्रछायाँमा गरिने पत्रकारिता हिजोआज बढ्दै गएको छ । स्वतन्त्र पत्रकारहरुको योगदानलाई भन्दा पार्टीगत पत्रकारिताको योगदानलाई तिनै राजनीतिक दलको आसेपासेहरुले उच्च मुल्याङ्कन गर्दै वरिष्टताको उपनाम दिने प्रचलन बढ्दो छ ।

केही समययता राजनीतिक खोल ओढेर, व्यापारिक उद्देश्य बोकेकाहरुको निष्पक्ष पत्रकारिता हावी हुँदै गएको छ । पत्रकार साँच्चिकै पत्रकारभन्दा पनि कार्यकर्ता भएका छन् । सिमित बाहेक धेरै पत्रकार कार्यकर्ता पत्रकारको झुण्ड बन्दै गएका छन् । त्यसैले हुन सक्छ जिल्ला जिल्लामा रहेका पत्रकार महासंघको कार्यलयमा सदस्यता शुद्धीकरण भन्दै कतै आन्दोलन कतै तालाबन्दी गरिएको छ । व्यापारी, दलका कार्यकर्ता पत्रकार महासंघको सदस्य भएका धेरै उदाहरण छन् ।

पत्रकारलाई राज्यले चौथो अंगको संज्ञा दिएको छ । यो हचुवांको भरमा दिइएको होइन । यस भित्रको कारण पत्रकारहरुले समाज परिवर्तनका लागि खेल्ने भूमिकालाई आँकलन गरि दिइएको जिम्मेवारी हो । तर हिजोआज पत्रकार, मिडिया माथि नै प्रश्न खडा हुन थालेको छ । मिडियाको भूमिका गैर जिम्मेवारी बन्दै गएको छ । नेपालमा यसको उदाहरण दिइरहन जरुरी छैन्, प्रशस्तै भेटिन्छन् ।

नेपालमा स्वतन्त्र पत्रकारहरु नभएका होइनन् तर ती श्रमजीवी पत्रकारका बारेमा बोल्ने महासंघको नेतृत्वमा पुग्न सक्दैनन् । कुनै पनि राजनीतिक पार्टीको भगिनी संस्थामा नभएका पत्रकारहरुले सामान्यतया एक्लो महसुस गर्नुपर्छ । अन्यथा काम पाउन पनि मुस्किल पर्छ । अन्नपूर्ण पोष्टका पत्रकार सुर्यप्रकाश कँडेल भन्छन्, ‘पत्रकारितामा पत्रकारिताभन्दा पनि पार्टीकारिता बढी छ ।’

नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संस्था हो । महासंघले समाजले पत्रकारलाई हेर्ने दुष्टिकोणको के हो ? त्यसको आँकलन गर्न जरुरी छ । अधिकांस मिडिया राजनीतिक हस्तक्षेपका आधारमा चल्छन् भन्ने तितो यथार्थतालाई चिर्न सक्नुपर्छ । त्यसका लागि महासंघसँग आवद्ध पत्रकारहरु राजनीतिक पूर्वाग्रहबाट टाढा रहन सक्नुपर्छ । ताकि कलम चलाउने बेलामा निष्पक्षता प्रस्तुत गर्न सकियोस् ।

एउटा पत्रकारलाई समाजले हेर्ने दुष्टिकोण फरक हुन्छ । ऊ आम नागरिक हो । तर समाजले त्यो भन्दैन । अझै पनि पत्रकारलाई न्यायलयसँग दाज्ने समाज हाम्रै वरपर छ ।

पत्रकारले बोलिदिए, लेखिदिए हुन्थ्यो, अन्याय विरुद्ध लडिदिए हुन्थ्यो भन्ने एउटा अधिकारविहीन जमात छ जो आफै अन्यायमा परेको छ । तर बोल्न सक्दैन । लड्न सक्दैन । हो त्यहि वर्गको न्यायको वकालत पत्रकारले गर्न सक्नुपर्छ । त्यो वकालत राजनीतिक पूर्वाग्रहरहीत हुनसक्नु पर्छ । पार्टीको गन्ध आउने पत्रकारिताले सामाजिक उत्तरदायित्वलाई बुझ्न सक्दैन ।

यसलाई मनन गर्न सकिएन भने पत्रकारिता पत्रकारिता हुँदैन । पत्रकारिता आवाज विहिनहरुको आवाज शब्द विहीनहरुको शब्द हुन सक्दैन ।

पत्रकार महासंघ स्वतन्त्र संगठन हुसक्नु पर्छ । न कि पैसा तिरेर पत्रकार महांसघको सदस्यता पाइयोस् । राजनीतिक रुपमा धब्वा लागेका मानिसको प्रवेश निषेध गरिनुपर्छ । राजनीतिक तथा व्यापारिक कुण्ठा भित्र पत्रकारिताको धर्म मौलाउन सक्दैन ।

योसँगै एउटा पत्रकार स्वतन्त्र पत्रकार भएर समाजमा बाँच्न सक्नु अहिलेको अर्काे चुनौतीको विषय हो । म पत्रकार हुँ भनि सामाजमा स्वतन्त्र पहिचान बनाउन सक्नुपर्छ । म आफू स्वयं पत्रकार भएको नाताले मैले देखेको र भोगेको पत्रकारितामा स्वतन्त्र पत्रकारहरुको संख्या दिनानुदिन घट्दो अवस्थामा देख्छु ।

सिधा भन्नुपर्दा पत्रकारहरुको स्वतन्त्रताको बाकसको चावी घुमाई फिराई दलहरुको गोजीमा पुगेको छ । जसको परिणाम श्रमजीवी पत्रकार ऐन २०६४ अझै कार्यान्वयन भएको छैन ।

अन्त्यमा, आशा गरौं स्वतन्त्र पत्रकारहरुको अस्तित्व हराउँदै गएको यो अवस्थामा पेशालाई अझ मर्यादित र कलंकित दाग हटाउन आगामी दिनमा सफल होस् ।

प्रतिक्रिया दिनुहोस