२०७९ माघ १३, शुक्रबार

बंगुरपालन व्यवसायमा जमेका विष्णु/मधु

चैत्र ०५, २०७५  | १७७९ पटक पढिएको

वास्तविक किसानलाई अनुदान दिंदैन
विजौरी,

हेर त बुढी, चितवनमा त वर्डफ्लु आएछ नी ! खोर नजिकै बंगुर हेरचाहमा रहेकी श्रीमती मधुमाया जिसीलाई श्रीमान विष्णु गुरुङले सुझाइरहेका थिए । मधुमाया भने बंगुरहरुसंगै गुनगुन गरीरहेकी थिइन् । एउटाले पाठा पाएको तीन दिन भएछ, दुध खुवाउन अप्ठेरो भएपछि माउले एउटा पाठा ठहरै पारेको बताउंदै थिइन् उनी । छेवैमा उनीहरुकी भाउजुले बंगुरको दाना तयार गर्दै थिइन् । चार बर्ष अघि दुई वटा बंगुरका पाठाबाट जमेको तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरस्थित आरविएस पशुपंक्षी फर्ममा अहिले १९ वटा बंगुर छन् । चार वटा व्याएका छन्, दुई वटा भरेभोली भएका छन् भने अन्य सबै व्याउने छन् । प्रजननका लागि एउटा सांढे छ । अघिल्लो महिना १४ थुने बंगुरले १९ बच्चा पाउँदा ती पाठाहरुलाई हुर्काउन कम्ति गाह्रो भएको थिएन । बंगुरका जति थुन हुन्छन्, त्यति नै पाठा हुर्कने हो, बाँकी मरेर जान्छन् । संयोग छेवैको अर्को खोरमा पनि बंगुर सुत्केरी भएकी थिइ, उसका थुन भन्दा कम पाठा भएकाले मधुमायाले उसैको दुध खुवाएर बाँकी ४ पाठा पनि हुर्काउन सफल भइछन् ।

बंगुरको नियमित स्वास्थ्य र खानपानका विषयमा मधुमायालाई राम्रै हेक्का छ । रोग लागेका बेला औषधी उपचारदेखि व्यथाले च्यापेको बंगुरलाई सहज रुपमा प्रसूति गराउन पनि उनी खप्पिस छन् । ‘प्रसूतिका क्रममा एकदमै थोरै मात्र पाठा खेर गएका छन्, सकेसम्मको प्रयासले सकुशल प्रसूति गराउने अभ्यास बसेको छ’–मधुले साक्षी खबरलाई भनिन् । अचेल त छिमेकी बंगुरपालक किसानहरुले पनि बंगुर बिरामी भए मधुसंग सल्लाह लिन आउँछन् । बंगुर व्यवसायमा मधु, विष्णु र अर्की एक जना दिनदिनै खट्ने गरेका छन् । प्रहरी सेवाको जागिर पेन्सन भएपछि श्रीमान विष्णु गुरुङ पनि मधुमायाले थालेको व्यवसायमा जोडिएका छन् । तीन जनाले आ–आफ्नो काम बांडेका छन् । दाना विभाग, व्यवस्थापन विभाग र स्वास्थ्य उपचार तथा हेरचाह विभाग । कार्यविभाजनले पेशालाई सहज बनाइ दिएको छ । अब उनीहरुले ५ वटा खोर थप गर्ने सोंचमा छन् । एउटा बंगुरले २० वटासम्म पाठा पाउंदो रहेछ । बाली लगाएको १ सय १४ दिनमै व्याउने । व्याएको एक महिनामै विक्रि भैहाल्छन् पाठा । राम्रो मुल्य परे एउटाकै ४ हजार ५ सय रुपैयासम्म । अहिले लोकल जात र कालो धराने बंगुर समेत पालेका छन् उनीहरुले । यहां बजार नपाए नवलपरासीसम्म फोन गरेर बोलाउंँन् । पाठा नबिक्ने समस्या खासै उनीहरुलाई भएको छैन ।

क्षेत्रीय पशुसेवा निर्देशनालय नेपालगन्जले दिएको एक महिने पशुपालन तालिम लिएपछि सुरुमा उनीहरुले ब्रोइलर फार्म सञ्चालन गरेका थिए, तर व्यापार राम्रो जमेन । त्यसपछि बंगुर पालन पनि सुरु गरे । त्यसैले फार्मको नामनै पशुपंक्षी फार्म राखेका रहेछन् । अहिले खोरमा रहेका सबै बंगुरहरुको विमा गरिएको छ । तर सरकारको विमा नीति मधु र विष्णुलाई चित्त बुझेको छैन । ४० हजार रुपैया पर्ने बंगुरलाई २० हजारको मात्रै विमा हुने रहेछ । त्यसमा पनि २ हजार कट्टि गर्दा १८ हजार रुपैया मात्र पाइनेमा उनीहरुको राज्यप्रतिको गुनासो छ । औषधीहरु पनि भनेको ठाउँमा नपाइने हुँदा केहि समस्या हुने गरेको उनीहरुको गुनासो छ ।
बंगुर पालनबाटै उनले एउटी छोरीलाई स्टाफ नर्स पढाएर अष्ट्रेलिया पठाइसकेकी छिन्, अर्की कृषि विज्ञानमा जेटिए पढ्दै छिन् । छोरा पनि बोर्डिङमा पढ्दै छ । बंगुर व्यवसायमा भएको सन्तोषसंगै उनीहरुलाई छोराछोरीले राम्रो पढेकोमा झनै सन्तोष लागेको छ । मधुमाया भन्छिन्–‘छोराछोरीको पढाइ र घरखर्च कटाएर बर्षमा ४÷६ लाख रुपैया बच्ने गरेको छ, दुःख बिरामीका बेला पनि खर्चको जोहो गर्न ऋण खोज्नु परेको छैन ।’

वास्तविक किसानलाई अनुदान दिंदैन
व्यावसायिक पशुपालक किसानहरुलाई राज्यले आवश्यक सहयोग नगरेकोमा भने उनको गुनासो छ । दैनिक सामाजिक सञ्जाल र अनलाइन समाचार हेर्ने उनीहरुले कहिलेकाहिं वास्तविक किसान नै नभएका व्यक्तिहरुलाई राज्यले अनुदान दिएको खबर पढ्दा आफुहरु दिक्क भएको बताउँछन् । ‘सरकारले वास्तविक किसानलाई सहुलियत ऋण र अनुदान दिएको छैन, नत आवश्यक परेको बेला निशुल्क औषधी र प्राविधिकबाट निशुल्क उपचार सेवा नै’ – विष्णु गुरुङ भन्छन्, पहिलो पटक सरकारी सुविधा वापत ५ हजार रुपैयाँ मात्रै पाएका छौं, त्यो पनि प्रति बंगुर सुत्केरी भए वापत ५ सय रुपैयाँका दरले । वास्तविक रुपमा व्यावसायिक बनेका किसानलाई राज्यले सहुलियत ऋण र अनुदान दिनुपर्ने उनीहरुको चाहना छ । तर कतिपयले खोरको फोटो र भिडिओ देखाएर अनुदानको दुरुपयोग गर्दै आएकोमा गुनासो छ ।

सरकारले पशुपालक किसानहरुलाई सहुलियत ऋण र अनुदानका लागि वर्षेनी करोडौं रुपैया खर्च गर्दै आएको छ । तर राजनीतिक दलका नेताहरुको पहुँचका भरमा सम्बन्धित कृषि तथा पशुसेवा कार्यालयका कर्मचारीहरुको मिलोमतोमा गैर किसानहरुलाई त्यो अनुदान दिईदै आएको आरोप किसानहरुले लगाउंदै आएका छन् । ‘पचास हजार अनुदान पाए एक वर्षमै पाँच लाख बनाएर देखाइ दिन्थ्यौं’– मधुमायाले भनिन् । बंगुरको दाना अचाक्लि महंगो भएपछि उनीहरुले घरमै दाना मिल बनाएका छन् । अहिले गहुं र मकै मिलाएर घरमै रहेको मिलमा दाना उत्पादन गर्छन् । बंगुरले असाध्यै मनपराउने घास पनि उनीहरुले आफ्नै बारीमा रोपेका छन् । त्यसले सन्तुलित दाना उपलव्ध गराउन सहयोग पुग्ने पनि उनले अपेक्षा गरेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस