‘राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउन प्रशस्त प्रमाण’ : अनुसान्धान टोली

मंसिर १८, २०७६  |  १५४ पटक पढिएको  |   साक्षी खबर

१८ मंसिर, काठमाडौँ / अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ ।

ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मङ्गलवार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ । समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध पुर्याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन् । राष्ट्रपतिले साक्षीहरूलाई तर्साउन खोजेको अनि कर्मचारीहरूलाई समितिले गरेको बोलावट अटेर गर्न दबाव दिएको पनि आरोप लागेका छन् ।

ह्वाइट हाउस क्रुद्ध
समितिका अध्यक्ष एडम शिफले ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठानेको र शक्ति दुरुपयोग गरेको प्रशस्त प्रमाण रहेको बताएका छन् ।

वाशिङ्टनस्थित बीबीसी संवाददाता क्रिस बक्लर भन्छन्, ‘ती कुनैपनि आरोप राष्ट्रपति ट्रम्प वा उनको दलका नेताहरूका निम्ति नौलो भने हुनेछैन । तर यो सबै प्रयत्नलाई राजनीतिक रूपले प्रेरित अभियान भन्दै आएका ट्रम्प थप आक्रोशित भने हुनेछन् ।’

ह्वाइट हाउसले उक्त प्रतिवेदनको विरोधमा तीखो प्रतिक्रिया दिँदै त्यसलाई एकपक्षीय र नक्कली प्रक्रिया भनेको छ ।

के के छन् आरोप ?
राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रपतिले सन् २०२० मा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा आफ्नो स्थिति बलियो बनाउने उद्देश्यले महिनौँसम्म युक्रेनबाट वैदेशिक हस्तक्षेप खोजिरहेको प्रतिवेदनमा लेखिएको छ ।

यो प्रतिवेदन ट्रम्पलाई पदबाट हटाउनका निम्ति आधार तयार पार्ने हिसाबले आएको छ । दुई महिनाभन्दा धेरै समयदेखि सङ्कलन गरिएको १७ जना साक्षीहरूको बयानमा सो प्रतिवेदन आधारित छ । राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको र आफूविरुद्ध योजनाबद्ध तरिकाले निरन्तर विपक्षी खनिइरहेको बताउँदै आएका छन् । – साभार बिबिसिबाट

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार