अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थ्याङ्क्सगिभिङका अवसरमा पहिलो पटक अफगानिस्तान भ्रमणमा

मंसिर १३, २०७६  |  ३०० पटक पढिएको

१३ मंसिर, काठमाडौँ / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणम गर्दै त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेटेका छन् ।

त्यस क्रममा उनले अमेरिका र तालिवान विद्रोहीबीच वार्ता भइरहेको बताए । बाग्राम सैन्य अखडामा अमेरिकी सेनालाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘तालिबानहरूले वार्तामार्फत् सहमति जुटाउन चाहिरहेका छन् ।’

आफ्नो पहिलो अफगानिस्तान भ्रमणका अवसरमा उनले अफगान राष्ट्रपति असरफ गनीसँग पनि भेटघाट गरेका छन् ।

अमेरिकी योजना
शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिबानबीच भएको बन्दी आदानप्रदानपछि ट्रम्पले थ्याङ्क्सगिभिङ भनिने अमेरिकी पर्वको अवसरमा अचानक अफगानिस्तान भ्रमण गरेका हुन् ।

त्यस क्रममा ट्रम्पले अमेरिकाले सैनिकको सङ्ख्यालाई उल्लेखनीय रूपमा घटाउन लागेको बताए । अहिले अफगानिस्तानमा झन्डै १३,००० अमेरिकी सैनिकहरू परिचालित छन् ।

सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएका आतङ्कवादी आक्रमणपछि अमेरिकाले त्यहाँ आफ्नो सेना पठाएको १८ वर्ष पुगिसकेको छ । शान्ति वार्ताको पहल सुरु भएपछि हालै तालिबान विद्रोही र अमेरिकी पक्षबीच कतारको दोहामा वार्ता भएको थियो । तर औपचारिक वार्ता भने अझै सुरु भइसकेको छैन । Source : bbc nepali

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार