डडेल्धुरामा रोकिएको माइक्रोबस पछाडि गुड्दा १ जनाको मृत्यु, ९ घाइते


४ चैत, डडेल्धुरा / डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गुयलखेतमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिकाका २६ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् । जसमध्ये डोटी खतिवडाका ५७ वर्षीय कैल्या ढोलीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
घाइते सबैको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालक विनय बोहरा र गाडीधनी देव सिंहभाटलाई प्रहरीले नियन्त्रणमा दिएको छ ।

दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको माइक्रोबस सोमबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो ।
यात्रु चढाउनका लागि रोकिएको अवस्थामा माइक्रोबस अचानक ‘व्याक’ गएर झाडीमा गएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । डडेल्धुराको केआई सिंह राजमार्ग अन्र्तगत भएको उक्त दुर्घटनामा माइक्रोबस सडकभन्दा ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस