अझै तयार भएनन् दाङका स्थानीय तहमा मातृभाषाका पाठ्यक्रम

कार्तिक २७, २०७६  |  २४५ पटक पढिएको  |   साक्षी खबर

गोकर्ण पौडेल,
बिजौरी,
संस्कृत विद्यालयमा कक्षा ४ देखि नै संस्कृत शिक्षा पढाइ हुन्छ तर दुर्भाग्य नै ठान्नुपर्दछ । बहुसंख्यक थारु समुदायका छोराछोरी यस विद्यालयमा अध्ययरत गर्छन तर मातृभाषामा होइन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बिजौरीमा रहेको जनता संस्कृत माध्यमिक विद्यालयमा शिशु कक्षादेखि दशसम्म ३ सय ५० बढी थारु समुदायका विद्यार्थी अध्ययनरत छन् । नेपालको संविधान २०७२ भाग तीनको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३१ शिक्षासम्बन्धी हकमा उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानूनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हकको व्यवस्था गरेको छ । नेपालको संविधान २०४७ ले पनि प्राथमिक तहसम्म मातृभाषामै पढ्न पाउने अधिकार सुनिश्चित गरेको थियो । संविधान जारी भएको ४ वर्ष र स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुग्दा समेत यस विद्यालयमा थारु समुदायका विद्यार्थीहरुले आफ्नो भाषामा पढ्न पाइरहेका छैनन् । थारु समुदायका विद्यार्थी बाहुल्यता रहेको तुलसीपुर उपमहानगरपालिकाको जनता संस्कृत माध्यमिक विद्यालय एउटा उदाहरण मात्र हो ।

थारु समुदायको बाहुल्यता रहेको दंगीशरण, शान्तिनगर, गढवा, राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकामा रहेका विद्यालयमा समेत थारु भाषामा पढाइ सुरु भएको छैन । घोराही उपमहानगरपालिकाले २०७५ माघ महिनादेखि नै कार्यालयका थारुभाषा कामकाजी भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । थारु भाषामा सेवाग्राहीले कागजपत्र माग गरे सोही बमोजिम पाउने व्यवस्था गरिएको छ । घोराही उपममहानगरपालिकाले काम काजीरुपमा थारु भाषालाई प्रयोगमा ल्याएको दाबी गरेता पनि केही दिन अघि पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले माग गरेको विवरण नै पहिलो पत्र थियो । पोख्रेलले उपमहानगरपालिकाले निर्माण गरेका जलाशयका बारेमा जानकारी दिनका लागि थारु भाषामै निवेदन दिनुभएको थियो भने उपमहानगरपालिकाले समेत थारु भाषामै जानकारी उपलब्ध गराएको थियो । जिल्लाका दुई वटा स्थानीय तहमा भने थारु समुदायबाटै नेतृत्व तहमा पुग्नुभएको छ तर संविधानको मौलिक हकमा भएको कुरा समेत कार्यान्वयनमा आउन सकिरहेको छैन ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी थारु भाषी समुदायका व्यक्तित्व हुनुहुन्छ । एक हजार शातब्दीतिर थारु राजा दंगीशरणबाट गाउँपालिकाको नामाकरण गरिएको छ । यता अवधि भाषीको बाहुल्यता रहेको गढवा गाउँपालिकामा समेत अवधिभाषी समुदायकै व्यक्ति नेतृत्व तहमा पुग्नुभएको छ । त्यहाँ पनि कुनै पनि विद्यालयमा अवधि भाषामा पढाई भएको छैन । गढवा गाउँपालिकाको अध्यक्षमा अवधि भाषी समुदायका सहजराम यादव अध्यक्ष हुनुहुन्छ । दाङ जिल्लामा थारु भाषीको बाहुल्यता रहेको छ भने गढवा, राजपुर गाउँपालिकामा अवधिभाषीको बाहुल्यता रहेको छ भने लमही नगरपालिकामा अवधि भाषीको संख्या कमै मात्रामा रहेको छ ।

यद्यपि ती स्थानीय तहहरुले समेत पढाईका लागि खासै काम सुरु गरेका छैनन् । तुलसीपुर उपमहानगरपालिकाले परिक्षणकारुपमा एक विद्यालयमा खाम भाषाको पढाई तालिमका रुपमा सुरु गरेको उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो । आगामी शैक्षिक सत्रदेखि थारु, अवधि भाषाको पाठ्यक्रम नै तयार गरि विद्यालयमा पाठ्यक्रम लागु गर्ने संयोजक विश्वकर्माले बताउनुभयो ।

के भन्छन् अभियन्ताहरु
स्थानीय तहहरुले मातृभाषामा पढाउनका लागि पाठ्क्रम त तयार पारेका छैनन् तर थारु भाषामा पढाइ सञ्चालनका लागि भने अभियन्ताहरुले स्थानीय तहका नेतृत्वहरुलाई दवाव दिइरहेका छन् । केही अभियन्ताहरु दबाब मात्र दिएका छैनन्, व्यावहारिकरुपमा समेत उतारेका छन् । त्यस्तैमध्ये एक अभियन्ता हुनुहुन्छ रोहित चौधरी । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धम्कापुरका चौधरीले सोही विद्यालयमा २०६७ सालदेखि मातृभाषाको कक्षा सञ्चालन सुरु गर्नुभएको हो । धम्कापुरमा रहेको बाल चेतना आधारभूत विद्यालयमा थारु भाषाको पढाई भइरहेको छ । यस अघि पाठ्यक्रममा भएको सिर्जनात्मक अभिव्यक्ति कला पाठ्यक्रमअनुसार पढाई भईरहेको अभियन्ता चौधरीले बताउनुभयो । सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका चौधरीले शिक्षा ऐनमा जारी भएको स्थानीय तहले मातृभाषामा पढाई सञ्चालनका लागि एक सय पूर्णाङ्कको पाठ्क्रम बनाउनुपर्ने कुरामा शिक्षा शाखामा निरन्तर आवाज उठाइरहनुभएको छ । दुई जना थारु भाषी शिक्षिका रहेका कारण पढाई सञ्चालनका लागि केही सहज भएको बताउनुभयो ।

शिक्षाको अधिकार स्थानीय तहमा प्रत्यायोजन भएपछि ७५ प्रतिशत थारुभाषी रहेको सोही विद्यालयका एक थारु भाषी जनशक्ति अन्यत्र सरुवा गर्दा केही अप्ठ्यारो भएको चौधरीले बताउनुभयो । यता थारु संस्कृतिविद् अशोक थारुले संविधान र शिक्षा ऐनमा समेत मातृभाषा पठन पाठकको स्पष्ट हुँदा पनि कार्यान्वयनमा नआउनु सम्बन्धित समुदायको इच्छा शक्तिको अभाव रहेको बताउनुभयो । प्राथमिक तहको सिकाई उपलब्धि मातृभाषामै पठन पाठन हुँदा बढी प्रभावकारी हुने भएकाले स्थानीय तहहरुले मातृभाषामै पठन पाठनको वातावरण मिलाउनुपर्ने बताउनुहुन्छ । आफू शिक्षण पेशामा आबद्ध हुँदा २०४५ सालमा माथिल्लो कक्षा पढाउन छाडी तल्लो कक्षामा मातृभाषाको पढाई सुरु गरेको बताउनुभयो ।

पाठ्यक्रम विकास समेत मातृभाषामा पढाई सञ्चालनका लागि सकारात्मक हुनु मातृभाषीहरुका लागि राम्रो भएको बताउनुभयो ।
यता थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष चौधरी दाङ जिल्ला थारुभाषी बाहुल्यता रहेको जिल्ला भएका कारण स्थानीय तहका नेतृत्व वर्ग जिम्मेवार भएर पाठ्यक्रम तयार पार्नुपर्ने धारणा राख्नुहुन्छ । दाङ जिल्लामा थारु भाषीको बाहुल्यता रहेको छ भने अवधि, मगर खाम र लोपोन्मुख अवस्थामा पुगेको कुसुन्डा भाषी समेत बसोबास गर्छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार