२०७९ माघ १३, शुक्रबार

दंगीशरण गाउँपालिकाको यातायात गुरुयोजना माथि छलफल

जेठ २६, २०७६  | २०९४ पटक पढिएको

– दिप्तीशिखा चौधरी
२६ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिका यातायात गुरुयोजनाले पहिचान गरेका सडक सञ्जालहरु १ सय १५ वटा रहेको जानकारी गराईएको छ । दंगीशरण गाउँपालिका यातायात गुरुयोजना दंगीशरण गाउँपालिका हेकुलीको प्रारम्भिक रिपोर्ट माथिको छलफल कार्यक्रममा यस्तो जानकारी गराईएको हो । गुणस्तरीय इञ्जिनियरीङ सेवा घोराहिका ईञ्जिनीयर डिल्लीराम डाँगी र प्रविण थापाले आईतबार गाउँपालिकाको कार्यालयमा दंगींशरण गाउँपालिका भित्रका सबै सीमानाहरुको नक्सा मार्फत गुरुयोजनाको बारेमा जानकारी गराएका थिए ।

यस्तै गाउँपालिकाको नक्सामा राष्ट्रिय सडकमा ७.९ किलो मिटरको तुलसीपुर सुर्खेत सडक, ७.५ किलोमिटरको उरहरी बेलासपुर सडक, १७.८ किलो मिटरको बखरीया बंगालपुर सरुवाडाँडा गोल्टाकुरी फृुर्केसल्ली कालीतरा सडक र कोईरालडाडाँ बुराडावर खईरेनी जुम्लेकुला सडक जिल्ला स्तरीय सडकमा परेको जानकारी गराईएको थियो ।

यस्तै ग्रामीण सडकमा १ सय ५७ किलोमिटर सडक परेको जनाईएको थियो । सो अवसरमा नक्सामा वडाका धेरै सडकहरु नदेखिएपछि वडामा थप निर्माण भएका सडकहरुका बारेमा वडा का वडा अध्यक्षहरुले जानकारी गराएका थिए । सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाहरुको आवश्यक योजना तयार गर्ने, सडकहरुको प्राथमिकीकरणको आधार तय गर्ने, प्राथमिकीकरण गरिएका सडकहरुको भौतिक तथा आर्थिक कार्यान्वयनको वस्तुगत योजना तयार गर्ने र गाउँपालिका यातायात गुरुयोजना तयार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिका यातायात गुरुयोजनाको परिचय, गाउँपालिका स्तरीय सडकको पहिचान, पहिचान गरिएका सडकहरु माथि छलफल र पहिचान गरिएका सडकहरुको प्राथमिकरणका बारेमा छलफल गरिएको थियो ।

छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खड्का, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा न. १ का अध्यक्ष श्रीप्रशाद चौधरी, वडा न. २ का अध्यक्ष तुलसीराम देवकोटा, वडा न. ३ का पूर्ण बहादुर चौधरी, वडा नं. ४ नेव बहादुर कवँर, वडा न. ५ का दिपक गौतम, वडा न.६ का टंक वली र वडा न. ७ का विर बहादुर वली ईञ्जीनीयर अंकित आचार्य लगाएतको उपस्थिती रहेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस