२०७९ माघ १३, शुक्रबार

ढुक्क भएर खानुस् हात्तिपाइले औषधी केहि हुन्न, नखाए…..

फागुन १३, २०७५  | १७१२ पटक पढिएको

खेमराज रिजाल
दाङ, १३ फागुन ।

हात्तिपाइले रोगको परजिवि विरुद्धको औषधि ढुक्क खानुस्, तपाइलाइ हात्तिपाइले रोगको संक्रमण हुने छैन, नखाए रोग फैलिसकेपछि त्यसको कुनै उपाय हुने छैन । खुट्टा वडेमानको केराको थाम जस्तो हुने छ, सहज रुपमा कपडा लगाउन सकिने छैन, हिंडडुल असम्भव हुने छ अनि तपाइको जिवन निरर्थक जस्तै…। त्यसैले ढुक्क भएर औषधी खानुस् अनि अरुलाई पनी औषधी खुवाउनमा सहयोग गर्नुृस । तुलसीपुर उपमहानगर पालिकाको स्वास्थ्य शाखाको आयोजनमा स्वास्थ्य प्रमुख डा गोर्कण दाहालले वताइरहेका थिए ।

हात्तिपाइले रोगको संक्रमण फैलिएका दाङ लगायत १५ जिल्लामा आठौं अभियानका रुपमा नेपाल सरकारले हात्तिपाइले विरुद्धको औषधि सहित जुकाको औषधि एकसाथ निशुल्क रुपमा खुवाउंदै छ । भोलि बुधवार तपाइले विहानको खाना खाइसकेपछि तपाइको पायक पर्ने क्लस्टरमा औषधि लिएर स्वास्थ्यकर्मि र जनप्रतिनिधिहरुको टोलि आउने छ । यसको सम्पुर्ण तयारी पुरा भैसकेको स्थानिय पालिकाहरुले जनाएका छन् । अघिल्लो पटक सम्म हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमले सार्थक उपलव्धि हासिल गर्न नसकेको अवस्थामा यसपटक राष्ट्रिय अभियानलाइ प्रभावकारी बनाउन जनप्रतिनिधिहरु सहित स्वास्थ्यकर्मिहरुको टोलि प्रत्यक्ष रुपमा परीचालित हुने पालिकाहरुले जनाएका छन् ।

क्युलेक्स जातिको पोथि लामखुट्टेको टोकाइबाट हात्तिपाइले रोगको परजिवि(उचेरेरियर व्यान्क्रफ्ट) मानव शरीरमा प्रवेश गरेपछि रगतमा मिसिन्छ र संक्रमण बढ्दै गएपछि लिम्फहरुमा त्यसले असर गरेपछि मानव शरीरमा हात्तिपाइले रोगका लक्षणहरु देखा पर्ने चिकित्सकहरुले बताएका छन् । परजिवि प्रवेश गर्ने वित्तिकै औषधि सेवन गरेको अवस्थामा संक्रमण फैलन नसक्ने अवस्था रहन्छ, अन्यथा संक्रमण फैलिएर तस्वीरमा देखाइएजस्तै अवस्था हुने पनि स्वास्थ्य विज्ञानको प्रमाणित तथ्यांकले देखाएको छ । पछिल्लो तथ्यांक अनुसार नेपालका विभिन्न २१ जिल्लामा १३ प्रतिसत व्यक्तिहरुमा हात्तिपाइले रोगको परजिवि भेटिएको छ । दाङमा पनि यो तथ्यांक १२ प्रतिसतको हाराहारीमा रहेको संबद्ध श्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले विश्वमा कम्तिमा १ सय २० मिलियन जनसंख्या हात्तिपाइले रोगबाट ग्रसित छ, जुन मानव श्वास्थ्यको गम्भीर चुनौति हो । यसै कारण यो घातक रोगलाइ निर्मुल गर्न विश्वका विभिन्न मुलुकहरुमा विश्व स्वास्थ्य संगठनले हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यलाइ राष्ट्रिय अभियानका रुपमा सन्चालन गर्न आग्रह गरेको थियो । अनर्गल प्रचार र नकारात्मक टिकाटिप्पणिका कारण सन २००३ देखि सुरु भएको अभियानले हाल सम्म पनि अपेक्षित उपलव्धि हासिल गर्न सकेको छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो औषधि दुइ बर्ष मुनिका वालवालिकाहरु, गर्भवती महिला, सात दिन भित्रका सुत्केरीहरु, मुटुरोग, मृगौला रोग, कलेजो रोगी, क्यान्सर पिडित, फोक्सोको दिर्घरोगी, छारे रोगी, २४ घण्टाभित्र ज्वरो आएका विरामीहरु, तथा कडा कुपोषण भएका ५ बर्षमुनिका वालवालिकाहरु (जो विरामीहरुले दैनिक क्रियाकलाप गर्न नसकि विछौनामै पल्टिरहेका)ले भने यो औषधि सेवन गर्न सक्ने छैनन् । त्यस वाहेक ७० बर्ष उमेरभित्रका सवै व्यक्तिहरुले औषधि सेवन गर्न सक्ने छन् । चिकित्सकका अनुसार औषधिसेवनले कुनै पनि घातक साइड इफेक्ट गर्ने छैन । हात्तिपाइले रोगको परजिवि भएका व्यक्तिहरुमा भने टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकि हुने लगायतका सामान्य प्रतिक्रिया देखिने चिकित्सकहरुले जनाएका छन् । जुन समस्याहरु एक दुइदिनमै सामान्य भएर जाने छन् । मानव शरीरमा औषधि प्रवेश गरीसकेपछि हात्तिपाइलेको परजिवि नष्ट हुने हुंदा त्यसबाट निस्केको टक्सिनका कारण सामान्य असर देखिन सक्ने पनि चिकित्सकहरुको दावी छ । गम्भीर रुपमा विरामी नपरेका उच्च रक्तचांप, सुगर, थाइराइड लगायतका सवै दिर्घरोगीहरुले पनि यो औषधि स्वास्थ्यकर्मिको सल्लाह अनुसार सहज रुपमा खान सक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मात्रा अनुसार २ देखि ५ बर्ष उमेरका व्यक्तिहरुले एक चक्कि हात्तिपाइलेको र एक चक्कि जुकाको औषधि खान सक्ने छन् । ६ बर्षदेखि १४ बर्ष उमेर समुहका २ चक्कि हात्तिपाइले र १ चक्कि जुकाको औषधि तथा त्यो भन्दा माथि उमेरका व्यक्तिहरुले ३ चक्कि हात्तिपाइले र १ चक्कि जुकाको औषधि सेवन गर्न सक्ने छन् ।

 

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले नेपाल सरकारको हात्तिपाइले विरुद्धको औषधि खुवाउने राष्ट्रिय अभियानका विषयमा सोमवार सरोकारवालाहहरुसंग छलफल गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सन्चारकर्मिहरु, विभिन्न सामुदायिक तथा निजि विद्यालयका प्रतिनिधिहरु, रेडक्रस प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु लगायत स्थानिय तहका स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अभियानका फोकल पर्शन बसन्त कुमार आचार्यले तुलसीपुर उपमहानगरपालिकाका सवै वडाहरुमा ४ वटा क्लष्टर निर्धारण भैसकेको बताए । सो अवसरमा श्वास्थ्य प्रमुख डा गोकर्ण दाहालले तुलसीपुर उपमहानगरपालिकाभित्र कम्तिमा १ लाख ६४ हजार २ सय १८ जनालाइ हात्तिपाइले विरुद्धको औषधि खुवाइने बताए । यो अभियान अवधिभरी नगर श्वास्थ्य क्लिनिकहरुमा आकस्मीक वाहेकका अन्य स्वास्थ्य उपचारसेवा कार्यक्रमहरु स्थगित हुने छन् । अभियान फागुन १५ देखि १८ गते सम्म चल्ने छ । छलफल कार्यक्रमको सहजीकरण जनश्वास्थ्य निरिक्षक विमल केसीले गरेका थिए । अभियानको सुभारम्भ तुलसीपुरस्थीत प्रादेशिक अस्पतालबाट गरीने छ । त्यहां कार्यरत चिकित्सक र जनप्रतिनिधिहरुलाइ औषधि खुवाएर अभियानको सुभारम्भ गरीने नगरपालिकाले जनाएको छ ।

तुलसीपुरमा ९५ स्वास्थ्यकर्मी
हात्तीपाईले बिरुद्धको औषधी खुवाउन तुलसीपुर उपनगरपालिकामा ९५ स्वास्थ्यकर्मी खटाईएको छ । स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहलका अनुसार प्रत्येक वडामा ५(५ जना स्वास्थ्यकर्मी खटाईएको हो । त्यसका लागि ११ लाख २७ हजार बजेट सरकारले पठाएको उनले बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख माया आचार्य, स्वास्थ्य शाखाका बिष्णु गिरी, बसन्त आचार्यलगायतले भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका बिमल केसीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस