२०७९ माघ २१, शनिबार

मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

जेठ १०, २०७६  | १२२३ पटक पढिएको

१० जेठ, तुलसीपुर / दाङको बबई गाउँपालिकाले २४ जना ज्येष्ठ नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिदिएको छ । आर्थिक अभावका कारण मोतियाबिन्दुका कारण आँखा बन्द भएका ज्येष्ठ नागरिकहरुलाई उज्यालो प्रदान गर्ने कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोग र राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रवार शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।

गाउँपालिका र नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालबिच यस आर्थिक वर्षमा १०० जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने सम्झौता भएको अध्यक्ष पौडेलले जानकारी दिए । पहिलो चरणमा २४ जनाको शल्यक्रिया गरीएको र अन्यको ज्येष्ठ नागरिको केही दिनमा नै शल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकारले आफुहरुको आँखामा देखिएको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको भन्दै स्थानीयहरु खुसी भएका थिए । सबै मोतियाबिन्दुका विरामीहरुलाई क्रमशः शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । त्यसैबिच शल्यक्रिया गरिएका विरामीहरुलाई शुक्रवार एक कार्यक्रममा बिच चश्मा तथा औषधी वितरण गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले गाउँपालिकामा रहेका सबै नागरिकहरुलाई आँखा उपचार सेवा पुर्याउने बताए । ‘क्रमश सबै आँखामा मोतियाबिन्दु देखिएका ज्येष्ठ नागरिकलाई शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने हाम्रो लक्ष्य हो’ अध्यक्ष पौडेलले भने ।

त्यसैगरी संघका सचिव खड्काले दाङका सबै स्थानीय निकायहरुसँग साझेदारी गरी मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको बताए । नेपालमै पहिलो कार्यक्रम दाङबाट सुरु भएको उनको भनाई थियो । नेत्रविशेषज्ञ डा. सुरेश रसाइलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष भुवनेश्वर पौडेल, सचिव सुरेन्द्रबहादुर खड्का, सहसचिव चिरञ्जीवि रिजाल, डा. सुरेश रसाइली, दृष्टी विशेषज्ञ ओम यादव, नेत्र अधिकृत शालिकराम गौतम लगायतले बिरामीहरुलाई चश्मा तथा औषधी वितरण गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस