२०७९ माघ २६, बिहीबार

बसपार्क नहुँदा समस्या

जेठ १०, २०७६  | ११७४ पटक पढिएको

१० जेठ, रुकुम / सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप बढी छ । जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा पार्किङको व्यवस्था नहँुदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् ।

जिल्लामा विस्तारै नयाँ बस थपिँदै छन् तर ती बस पार्किङका लागि जिल्लामा एउटा पनि बसपार्क छैन । जिल्ला टुक्रिएपछि प्रस्ताव गरिएको नयाँ सदरमुकाम रुकुमकोटमा मान्छेको चहलपहल बढ्दै गइरहेको छ । धमाधम नयाँ संरचना बन्न थालेका छन् । बजार र सडक छेउछाउमा निर्माण सामग्री थुपारिएका छन् । जसले गर्दा पार्किङमा झन थप समस्या पर्न गएको हो ।

बसपार्क नहुँदा सडक दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ हुँदै आएका छन् । घर अगाडि र सडक छेवैमा गाडी पार्किङ गराउँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । बजारमा भएको अव्यवस्थित गाडी पार्किङले ग्राहक पसलसम्म पुग्न नसकेको छिप्रीदह बजारवासी बताउँछन् । “बजार र बाटोघाटोमै गाडी पार्किङ गराउँदा कहिँलेकाहीँ त मान्छे आवतजावत गर्ने ठाउँ नै हुँदैन ।” स्थानीय भन्छन्, “अव्यवस्थित गाडी पार्किङले बजारमा फोहर बढ्दै गएको छ ।” मुख्य बजार केन्द्र छिप्रीदह, चोक बजार, कमल दहमा फोहर बढ्दै जाँदा सदरमुकाम दुर्गन्धित बन्दै गएको छ ।

व्यवस्थित बसपार्क नहुँदा व्यवसायी समस्यामा परेको पूर्वी रुकुम यातायात समितिका सदस्य सनम गौतम ९झक्कु० ले बताउनुभयो । रुकुमकोटमा बसपार्क छिटै निर्माण गरिने सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । उहाँका अनुसार बसपार्कको लागि जग्गा छनोट गरी काम शुरु पनि गरिएको थियो । तर, त्यस जग्गामा विवाद देखिएपछि फेरि अर्को ठाउँमा उपयुक्त जग्गा छनोटको काम भइरहेको छ ।

खेलकूदमा न लगानी न पूर्वाधार

कमजोर भौतिक पूर्वाधार र लगानीको अभावले रुकुमपूर्वको खेलकूद क्षेत्रले फड्को मार्न सकेको छैन । नियमितरुपमा जिल्लामा कुनै प्रकारका ठूला खेलकूद प्रतियोगिता नहुनु, नियमित प्रशिक्षण नहुनुले नयाँ खेलाडी उत्पादन हुने र खेल्ने अवसरबाट समेत वञ्चित हुनुपरेको छ । जिल्लाको खेलकूद भलिबल र फुटबलमै सीमित रहेको छ ।

सानो चौर नेट र बल भयो भने सजिलै खेल्न सकिने भलिबल रुकुमपूर्वमा धेरै पहिलेदेखि खेलिँदै आएको छ । पछिल्लो केही वर्षयता जिल्लामा वार्षिकरुपमा रुकुम कप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । फुटबलको लहर बढे पनि भलिबलको लोकप्रियतामा कमी भने आएको छैन । स्रोत साधनको अभावमा भलिबलले पनि फड्को मार्न सकेको छैन । विद्यालय र क्लबले आयोजना गर्ने प्रतियोगिताले जिल्लाको भलिबल धानेको छ । क्रिकेट, कबड्डी, टेबलटेनिस, ब्याडमिन्टन, एथ्लेटिक्सलगायतका खेलकूद सञ्चालन नहुँदा यी खेलका खेलाडी जिल्लामा प्रायः शून्य छन् ।

देश सङ्घयतामा गएसँगै रुकुम जिल्ला टुक्रिएर दुई वटा जिल्ला बनिसकेपछि रुकुमपूर्वमा खेलकूद विकास समिति गठन गरी सबै काम शून्यबाट शुरु गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हरिबहादुर थापाले बताउनुभयो ।

जिल्ला खेलकूद विकास समितिसँग पर्याप्त बजेट र गाउँसम्म लुकेका प्रतिभा खोज्नसक्ने स्थिति नभएको जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष नामेन्द्र सुनारले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार अभावले खेलकूद विकास समिति पनि भाडाको घरमा रहेको छ । प्रतिभावान् खेलाडी छनोट गर्नसके मात्रै लुकेका प्रतिभा बाहिर आउनसक्ने एकपटक राष्ट्रिय खेल खेलिसकेका एथ्लेटिक्स खेलाडी प्रकाश बस्नेतले बताउनुभयो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस