२०७९ माघ २१, शनिबार

“प्रादेशिक स्तरको आयुर्वेदिक स्वास्थ्य शिविर, स्वास्थ्य जाँचसँगै परामर्श र औषधि पनि”

जेठ ०४, २०७६  | १७९० पटक पढिएको

५ जेठ, तुलसीपुर / हापुरेका ७५ वर्षिय चन्द्र डाँगीलाई पेट दुख्ने निकै समस्या थियो । उनले गाउँकै क्लीनिकबाट पेट दुखेको औषधि समेत खाए । ‘खाँदासम्म निको भयो फेरी जस्ताको तस्तै भयो’ हापुरेमा आयोजना गरिएको आयुर्वेदिक स्वास्थ्य शिविरमा उनले चिकित्सकहरुलाई समस्या सुनाउँदै थिए । चेकजाँच गरेपछि उनलाई ग्यास्टिक भएको चिकित्सले बताए । डाँगीले शिविरबाट ग्याष्टिकको औषधि समेत निःशुल्क रुपमा लिएर गए ।

सोही ठाउँ निवासी २१ वर्षिया गरिमा चौधरीलाई शौचको बेला निकै गाह्रो हुने गर्दथ्यो । ‘शौचालय जान नपरोस् जस्तो हुन्थ्यो’ उनले चिकित्सकका सामुमा आफ्नो गुनासो पोखिन्् । चेकजाँच गर्दा उनलाई पायल्स भएको पाइयो । उनले पनि चेकजाँच मात्रै होइन निशुल्क औषधि समेत लिएर गइन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ७ वटै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रम अन्तर्गत ववई गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । गाउँमै विशेषज्ञ सेवाका साथै औषधि समेत निशुल्क पाउने भएपछि स्थानीयहरुको निकै बाक्लो उपस्थिति रहेको थियो । आयुर्वेद चिकित्सा महशाखा प्रमुख डा. मनकर्ण थापाले ३ सय वढि विरामीहरुको चेकजाँच र औषधि वितरण गरिएको जानकारी गराए । ‘स्थानीयहरु निकै उत्साहका साथमा सहभागी हुनुभयो ’ उनले भने ।

शिविरमा धेरै जसो पायल्स, ग्यास्टिक, स्त्री सम्बन्धि रोग, स्वासप्रश्वास र पत्थरीका विरामी आएको पनि डा. थापाले बताए । आयुर्वेदिक जीवन पद्धतिबाट स्वस्थ नागरिक निर्माण गर्ने उद्देश्यका साथमा शिविरको आयोजना गरिएको व्यवस्थापक खिमराज रिजालले बताए । उनले सातै प्रदेशमा आयोजना गरिएको कार्यक्रम अन्तर्गत ५ नम्वर प्रदेशको तुलसीपुरमा शिविरको आयोजना गरिएको पनि जानकारी दिए ।

पछिल्लो समय एलोपेथिक उपचार पद्धतिका कारण मानिसलाई औषधिको विभिन्न असर देखिने गरेकाले आयुर्वेदिक जीवन पद्धतिका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको पनि डा. थापाले जानकारी गराए । उनले प्रधानमन्त्री केपी शर्मा वलीले नै अभियान सञ्चालनका लागि चासो देखाएको बताए । ‘छिटो निको हुने र छिटो नै रोगी हुने उपचार पद्धतिका कारण पनि मानिसहरुले निकै दुख पाएका छन्’ उनले भने ।

गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीहरुले निकै खुसी व्यक्त गरेका छन् । आर्थिक अभावमा रोग लुकाएर बाँच्न बाध्य भएको भन्दै उनीहरुले यस्ता शिविरबाट रोगको बारेमा थाहा हुने समेत बताए । ‘रोगको पनि जाँच भयो औषधि पनि पाइयो यो भन्दा राम्रो के हुन्छ’ स्थानीय प्रज्ञा केसीले बताइन् । शिविरमा डा. मुनकर्ण थापा, डा. विजय भुर्तेल, डा. नदन कँडेल, डा. शारदा खनाल, डा. आश्मा केसी र डा. गोकर्ण दाहाल लगायत स्वास्थ्य चेकजाँच गरेका थिए ।

शिविरसँगै स्वस्थ रहनका लागि योग सिकाउँने उद्देश्यले सोही ठाउँमा विहान ४ बजेदेखि योग शिविर समेत सञ्चालन गरिएको व्यवस्थापक रिजालले जानकारी दिए । यसैविच शिविरका संयोजक डा. थापाका अनुसार आज डुरुवा स्वास्थ्य चौकी कोठरीमा पनि स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । उनले विहान ५ वजेदेखि बिजौरी आयुर्वेदिक चिकित्सालयमा योग ध्यान शिविर समेत सञ्चालन हुने जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस