२०७९ माघ २४, मंगलबार

“एक्टिभ भएन अनलाइन सेवा, मालमा गोलमाल”

जेठ ०२, २०७६  | १०३५ पटक पढिएको

– खेमराज रिजाल
२ जेठ, तुलसीपुर (दाङ) / ‘तपाइको काम आजै पनि हुन सक्छ, त्यसका लागि ‘अतिरिक्त’ बाह्र हजार रुपैंया लाग्छ, किनकि यसका लागि रातीमा काम गर्नुपर्छ’ तुलसीपुर मालपोत कार्यालयका कर्मचारीको भनाइलाई उद्धृत गर्दै टरीगाउँका सेवाग्राही डिल्लीराज भण्डारीले भने– ‘पैसा नदिएपछि भोलिपल्ट आउँदा मेरो फाइल त टेवुलको मुनि अलपत्र रहेछ । अहिले फाइल बल्ल टेवुलमाथि आएको छ ।’

‘म बैशाख २५ गते रजिष्ट्रेशन पासका लागि आएको छु, त्यसपछि दिनहुँ आएँ, म ढुक्क छु, आज पनि मेरो काम बन्ने छैन’, हेमन्तपुरका शिव थापाको गुनासो हो यो । उनलाई काम भोली हुन्छ भनेर दिनदिनै बोलाइएको छ, तर काम भएको छैन । पवननगरका महेन्द्र कुमार शर्माले मालपोत कार्यालय धाउन थालेको ५० दिन पुगेको छ । उनले मोहि सम्बन्धि कामका लागि भूमि सुधार कार्यालयबाट पत्र लिएर चैत ८ गते दर्ता गरेका हुन्, तर काम भएको छैन । ‘म सँगै त्यहि प्रकृतिको काम भने यहि कार्यालयबाटै दश दिनमै भयो, तर मैले ५० दिन धाउँदा पनि काम
नहुने’, शर्माको गुनासो थियो ।

दण्ड बहादुर शाही मालपोतकै काम लिएर रुकुमबाट दाङ झरे, उनले कार्यालयका कर्मचारीले भने अनुसार सबै प्रक्रिया पुरा गरेका छन्, तर एक महिनासम्म पनि काम हुन सकेन । होटलमा बस्दै उनी दिक्क छन् । तर अनलाइन प्रविधिका नाममा उनको फाइल कहाँ पुगेको छ पत्तै छैन । मोहि विवाद मिलाउन मालपोत धाउँदै आएकि जखरी चौधरीको पनि काम नबनेको आज २७ दिन नाघेको छ । तर उनी पाँच सय
भन्दा बढि सेवाग्राहीका बीचमा दिनदिनै हराउँदै आएकि छिन् । अर्थात् उनको काम नबनेकोमा गुनासो सुन्ने फुर्सद प्रमुख मालपोत अधिकृत लगायत कुनैपनि कर्मचारीलाई सुन्ने फुर्सद छैन । यस्तै अवस्थाले मालपोत कार्यालय तुलसीपुरको सेवा गोलमाल बनेको छ । रात्रिकालिन सेवाका नाममा आर्थिक अनियमितता समेत बढ्दै गएको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । दैनिकजसो काम पेन्डिङ हुँदा अहिले दैनिक सेवा लिन आउनेको संख्या हजार नाघ्न थालेको लेखापढि व्यवसायीले बताएका छन् । तर अनलाइन सिस्टमलाई अझैपनि गतिशिल बनाउन सकिएको छैन । काममा अति ढिलासुस्ती भएको छ । तर मालपोत कार्यालयका अधिकारीहरुले यो तितो यथार्थलाई स्वीकार गर्न तयार छैनन् । ‘तीन चार दिन भन्दा बढि काम रोकिएको छैन, जो बोलाएको समयमा उपस्थित हुन सक्नुहुन्न, उहाँहरुको काम मात्रै रोकिएको होला’— एक जना मालपोत कर्मचारीले बनावटि जवाफ दिए ।

बैशाख ४ गतेदेखि तुलसीपुर मालपोत कार्यालयमा अनलाइन सेवा सुरु भएको थियो । त्यसको केहि दिनमै राउटर बिग्रिएको भन्दै केहि दिन फेरी राउटर रिप्लेसका नाममा सेवा बन्द गरियो । राउटर चालु गरिएपछि फेरी अनलाइनसेवा सुरु भएपनि सेवा चुस्त दुरुस्त र प्रभावकारी नभएको सेवाग्राहीले बताएका छन् । अनलाइन सेवा सुरु भएपछि कम्तिमा एक हजार ३ सय बढि लिखित पेस भएका छन् । त्यसमा कम्तिमा ६ सय लिखितहरु अझैपनि पेन्डिङमै रहेका छन् । जसका कारण दैनिक यहि संख्यामा सेवाग्राहीले मालपोत कार्यालय धाउन बाध्य भएका छन् । कसको पालो कहिले आउने भन्ने जानकारी पनि मालपोत कार्यालयले दिन सकेको छैन ।

यसैबीच बिहिवार मालपोत कार्यालय तुलसीपुरमा सेवालाई प्रभावकारी गराउने विषय तथा सेवाग्राहीका गुनासा सुन्ने काम भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, नेपाल लेखापढि व्यवसायी संघका केन्द्रिय अध्यक्ष सीताराम दाहाल, दाङ जिल्ला लेखापढि व्यवसायी संघका पदाधिकारीहरु तथा अन्य जनप्रतिनिधिहरु र मालपोत कार्यालय तुलसीपुरका प्रमुखबीच छलफल भएको थियो । त्यसक्रममा लेखापढि व्यवसायी संघ तुलसीपुरका प्रमुख हरिलाल पौडेलले आफुहरुले प्राविधिक र प्रविधिको संयोजन पुर्ण रुपमा गरेर मात्र अनलाइन सेवा सुरु गर्न भनेको स्मरण गराए । ‘जबसम्म पूर्वाधार र जनशक्ति पर्याप्त हुंदैन तबसम्म अनलाइन सिस्टमले चुस्त र छरितो सेवा दिन सकिंदैन’ पौडेलले भने ।

छलफलकै क्रममा नगरप्रमुख घनश्याम पाण्डेले थप जनशक्ति उपमहानगरपालिकाले उपलब्ध गराउने तथा आवश्यक परे विहान साँझ समेत काम गराउन मालपोत प्रमुख नरेश कुमार खड्कालाइ आग्रह गरेका थिए । तर मालपोत प्रमुख खड्काले उपमहानगरपालिकाले उपलब्ध गराएको थप जनशक्तिबाट झनै काम गर्न असजिलो हुने र विहान सांझ पनि काम गर्न नसकिने अभिव्यक्ति दिएका थिए । त्यस क्रममा उनले कार्यालयमा अनलाइन सेवा सुरु भैसकेपछिको प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यसमा दैनिक ७० देखि १ सय सम्म लिखत पास भएको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

साथै उनले यहि जनशक्तिबाट आउँदो जेठ १५ गतेदेखि सबै सेवाग्राहीको काम दैनिक अपडेट हुने पनि आश्वासन दिएका थिए । मालपोत
प्रमुखले यसो भनिरहँदा मालपोत कार्यालयको सबै फाटमा सेवाग्राहीहरुको भिड अत्यधिक थियो । कार्यालयमा पर्याप्त शौचालयको समेत व्यवस्था नहुँदा सयौं सेवाग्राहीहरु होटल र पसलमा शौच गर्न जानुपर्ने बाध्यता रहेको सुनाइरहेको थिए ।

छलफलकै क्रममा नगरप्रमुख घनश्याम पाण्डे ! (हेर्नुहोस् भिडियो) 

Gepostet von Basant Acharya am Donnerstag, 16. Mai 2019

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस