बनेन वनस्पति उद्यान, खालि छात्रावास


साक्षी खबर
पर्याप्त अर्थ व्यवस्थापनको अभावमा विकास निर्माणमा ढिलाइ भैरहेको अवस्थामा यहाँको नेपाल संस्कृत विश्वविद्यालयलाई नेपाल सरकारले वनस्पति उद्यान निर्माणका लागि उपलब्ध गराएको एक करोड रुपैया करीव एक बर्षदेखि बैंकमा डम्प भएको छ । यो विषयमा विश्वविद्यालय कार्यकारी परीषद कानमा तेल हालेर बसीरहेको छ । विश्वविद्यालयका पदाधिकारीहरु यो रकम खर्च गर्ने योजना बनाउन कुनै चासो देखाएका छैनन् ।

नेपाल संस्कृत विश्वविद्यालयका आयुर्वेद अध्ययन संस्थानका डिन प्रा. डा. सन्जय पोखरेलको संयोजकत्वमा बनेको समितिले विश्वविद्यालयको माताहतमा वनस्पति उद्यान निर्माण बनाउने प्रस्ताव तयार गरी अघिल्लो आर्थिक वर्ष कम्तिमा ४ करोड अनुदान विश्वविद्यालय अनुदान आयोगसंग माग गरीएको थियो । आयोगले यो योजनालाई संबोधन गर्दै चार वर्षभित्र काम सम्पन्न गर्ने गरी यो आर्थिक वर्षका लागि काम थाल्न भन्दै १ करोड रुपैया गएको जेठ महिनामै विश्वविद्यालयको खातामा पठाएको थियो । तर विश्वविद्यालयका पदाधिकारीहरुबीच निजी स्वार्थ देखिंदा यो बजेट खर्च गर्नका लागि थप कार्ययोजना नै बनेन । जसका कारण एक वर्ष बित्न थाल्दा पनि सो रकम खर्च हुने कुनै संकेत देखिएको छैन ।
डिन पोखरेलको संयोजकत्वमा बनेको समितिले बनाएको प्रस्तावमा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयदेखि दक्षिण पश्चिममा रहेको कम्तिमा १० विगाहा जग्गा समेत नामजांच गरी सकिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगी स्वयमले जग्गाको नापजांच गरी प्रस्तव विश्वविद्यालय कार्यकारी परीषदमा समेत पठाइएको थियो । सो जग्गा वातावरणीय रुपमा पनि उपयुक्त भएको समितिले ठहर गर्दै यहां कम्तिमा २ सय ५० प्रजातिका विरुवा रोप्ने तयारी भएको थियो । त्यसको प्रारम्भिक अध्ययन समेत भैसकेको थियो ।

नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गत आयुर्वेद चिकित्साको कविराज तथा विए.एम.एस. तह अध्ययन गर्ने विद्यार्थीहरुलाई जडिबुटिजन्य विरुवाको जानकारी गराउन पनि वनस्पति उद्यान सहयोगी बन्ने विश्वविद्यालयको अपेक्षा थियो साथै प्रयाप्त जग्गामा निर्माण हुने जडिबुटि उद्यान वनस्पतिशास्त्र अध्ययन गर्ने अन्य विश्वविद्यालयका विद्यार्थीहरु तथा विदेशी विद्यार्थीहरुका लागि समेत अध्ययन केन्द्र बन्ने पनि अपेक्षा गरीएको थियो । तर विश्वविद्यालयका पदाधिकारीहरुको गैरजिम्मेवारीपनका कारण यो कार्यक्रम सुरु हुन सकेको छैन । जनता विद्यापीठ बिजौरीमा अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो प्रयोगात्मक अभ्यासका लागि च्यावनप्रास बनाउन आवश्यक जडिबुटि ल्याउन भारतीय भूमिमा जानु पर्ने बाध्यतालाई पनि यहिं जडिबुटि उत्पादन भए सहजता आउने आशा गरिएको थियो तर नेपाल सरकारले पैसा उपलब्ध गराएरै पनि काम नहुंदा आयुर्वेद चिकित्सा अध्ययन गर्ने विद्यार्थीहरु समेत निराश बनेका छन् ।
डिनको कार्यदलले गरेको प्रस्तावलाई विश्वविद्यालय अनुदान आयोगले स्वीकृत गरी अनुदान उपलब्ध गराए पनि त्यो रकम खर्च गर्न सो कार्यदललाई अधिकार विश्वविद्यालयले दिएको छैन । ‘पैसा आएको हो, विश्वविद्यालयकै खातामा छ, तर त्यसलाई खर्च गर्ने अख्तियारी समितको टोली विश्वविद्यालय कार्यकारी परीषदले बनाउन सकेन’–विश्वविद्यालयका डिन प्रा. डा. सन्जय पोखरेल भन्छन्, ‘विकास निर्माणका काममा पनि अनावश्यक किचलो झिक्नु उपयुक्त हुंदैन ।’ कार्यकारी परीषदले कार्यविधि बनाएर अख्तियारी दिए अझै पनि काम सुरु गर्न सकिने पनि पोखरेलले बताए । अनुदान आयोगले दिएको बजेट नै सो शीर्षकमा खर्च हुन नसकेको अवस्थामा अब आउँदो आर्थिक वर्ष यो शीर्षकमा फेरी रकम आउन सक्ने सम्भावना न्युन रहन्छ, तर विश्वविद्यालयका उपकुलपति, रजिष्टार र रेक्टरबीच यो विषयमा अझैसम्म पनि आधिकारीक रुपमा छलफल हुन सकेको छैन ।
कार्यकारी परीषदका एक सदस्यले भने, भिसिले कार्यकारी परीषद बसाउ भनेर पत्राचार गर्दा पनि रजिष्टार र रेक्टरले कार्यकारी परीषद बसाउनै मानेका छैनन्, त्यसैले बजेट खर्च गर्ने विषयमा छलफल नै हुन सकेको छैन ।
खालि छात्रावास
नेपाल संस्कृत विश्वविद्यालयमा संस्कृत विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि भनेर निर्माण गरिएको छात्रावास भवन प्रयोगविहीन बनेको छ । पुरानो भवन जीर्ण भएको भन्दै कम्तिमा १५ कोठा भएको नयां छात्रावास निर्माण भए पनि त्यहां कम्तिमा एक वर्षदेखि विद्यार्थीहरु बसेका छैनन् । विश्वविद्यालयले छात्रावास रुंग्न भने दुई जना सहयोगीलाई खटाएको छ । पुरानो छात्राबास भवनमा गाइबाख्रा ओत लाग्ने थलो बनेको छ भने नयां भवनका सबै कोठामा ताला झुण्डाइएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय मातहतकै आयुर्वेद चिकित्सा अध्ययन गर्ने कम्तिमा दुई सय विद्यार्थीहरु अन्यत्र डेरा लिएर बसिरहंदा पनि खालि रहेको सो छात्रावास भवनमा उनीहरुलाई बसाइएको छैन । केन्द्रीय विद्यापीठका प्राचार्य बंशिधर आचार्य भन्छन्, संस्कृतका विद्यार्थीलाई भनेर छात्रावास बनाइएको हो, उनीहरु नै नबसेपछि खालि भएको हो । अनुसन्धान केन्द्र दाङमै सरेपछि त्यहांका विद्यार्थीहरु बस्न सक्ने भन्दै छात्रावास रंग रोगन गरिए पनि विद्यार्थीहरु नआउँदा छात्राबास खालि नै रहेको छ । संस्कृत पढ्ने जम्मा १० जना विद्यार्थीहरु मध्ये सबै दाङका छन् ।
एक जना विद्यार्थी महेन्द्रनगरका भर्ना भए पनि उनी छात्रावासमा बस्न आएका छैनन् । विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेपछि मात्रै आयुर्वेदका विद्यार्थीहरुलाई सो छात्राबासमा बसाउन सकिने केन्द्रीय विद्यापीठ वेलझुण्डीले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस