२०७९ माघ २१, शनिबार

प्रादेशिक चिकित्सालयमा विरामीको घुइचो, चिकित्सकको अभाव

जेठ ०१, २०७६  | १५३६ पटक पढिएको

साक्षी खबर, बिजौरी
दाङको विजौरीमा कुनै समय बिरामी अभावमा सुनसान बन्दै गएको थियो भने पछिल्लो समय बिरामीहरुको चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामीहरु उपचारका लागि आउने गरेका छन् । चिकित्सालयमा नयाँ सेवा थपेसंगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामकामेश्वर ठाकुरले बताए । ‘बिगत डेढबर्ष अघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’ उनले भने ‘तर नयाँ सेवा शुरु गरेपछि बिरामीको संख्या ह्वात्तै बढेको छ ।’ अहिले क्षारसुत्र, पञ्चकर्म, अग्नीकर्मलगायतका सेवाहरु थप गर्नुका साथै बिगतका सेवाहरुलाई पनि प्रभावकारी बनाएपछि सेवाग्राही बढेको उनको भनाई छ ।
अहिले दाङ मात्रै नभई डोल्पा, सल्यान, रुकुम, रोल्पा, प्यूठान, सुर्खेत, नेपालगंजलगायतबाट पनि उपचारका लागि आउने गरेका छन । ‘सेवा प्रभावकारी भए बिरामी आउनुहुन्छ’ उनले भने ‘हामीले बिरामीलाई गुरु ठानेर सेवा दिने गरेका छौं ।’ अस्पतालमा बिरामी थामि नसक्नु भएको भन्दै बिरामीले अघि नै सिट सुरक्षित गर्ने अवस्था आएको उनको भनाई छ । अहिले दरबन्दी अनुसार चिकित्सक नहुँदा एक्लै बिरामी जाँचमा खटिने गरेको भन्दै अहिले असार १९ गतेसम्म क्षारसुत्र सेवा लिने बिरामी बुक भईसकेको उनको भनाई छ । ‘बिशेषज्ञ चिकित्सक म मात्रै छु’ उनले भने ‘म एक्लै बिहान ७ देखि रातिसम्म बिरामी जाँच गर्छु, एक्लै धेरै बिरामीलाई सेवा दिन सकिदैन् ।’
गत वर्ष बैशाख देखि सुरु भएको क्षारसुत्र सेवा लिन दैनिक १२÷१३ जना आउने गरेको डा. ठाकुरले बताए । उनका अनुसार दैनिक तीन÷चारजनाको सफल अप्रेसन समेत हुने गरेको छ । अन्य स्वास्थ्य संस्थाभन्दा चिकित्सालयमा सस्तो मूल्यमा क्षारसुत्र सेवा प्रदान गरिदै आएको डा. ठाकुरले बताए । अन्य निजी स्वास्थ्य संस्थामा क्षारसुत्र सेवा लिन १० हजार भन्दा बढी लाग्ने भए पनि यहाँ दुई हजार मात्रै लाग्ने गरेको डा. ठाकुरले बताए । ‘निजी मेडिकलहरुमा क्षारसुत्र सेवाका लागि १० हजार भन्दा बढी तिर्नुपर्छ’ उनले भने ‘तर हाम्रोमा दुई हजारमा मात्रै सेवा प्रदान गरिन्छ ।’ चिकित्सालयले क्षारसुत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायतका रोगहरु निदान गर्दै आएको छ । क्षारसुत्र सेवा शुरु भएपछि आफु पायलस, फिस्टुला, फिसर रोगजस्ता सेवा लिन बुटवल, नेपालगंज, काठमाडौं जानुपर्ने बाध्यता हटेको सेवाग्राही खेमराज रिजालले बताए । ‘केही दिन अघि मैले पनि चिकित्सालयबाट क्षारसुत्र सेवा लिएको हुँ’ उनले भने ‘तर बिगतमा काठमाडौं, बुटवल, नेपालगंज जानुपर्ने बाध्यता थियो ।’ अस्पतालमा अहिले ३० बेडको भए पनि यसलाई स्तोरन्नती गरेर ५० बेडको बनाउने लक्ष्य रहेको उनको भनाई छ ।

पञ्चकर्म पनि प्रभाबकारी बन्दै
बैशाख देखि शुरु भएको पञ्चकर्म सेवा पनि प्रभावकारी भएको डा. ठाकुरले बताए । उनका अनुसार पञ्चकर्म सेवा लिन दैनिक १५÷२० जना आउने गरेका छन् । विभिन्न पाँचकर्म गरेर वात, पित्त तथा कपलाई निदान गर्न यो सेवा प्रदान गरिन्छ । लामो समय देखि पूर्बाधार निर्माण भए पनि सञ्चालन हुन नसकेको उक्त सेवालाई बैशाख देखि सञ्चालनमा ल्याईएको हो । नयाँ नयाँ सेवा बिस्तार भएपछि चिकित्सालयमा बिरामीको संख्या बढेको छ । कुनै समय सुनसान बन्ने गरेको आयुर्वे चिकित्सालयमा हिजो आज दैनिक एकसय भन्दा बढी बिरामीहरु आउने गरेको प्रमुख डा. ठाकुरले बताए । ‘कुनै समय अस्पताल सुनसान थियो’ उहाँले भन्नुभयो ‘तर सेवा बिस्तार भएपछि हिजो आज अस्पतालमा चहलपहल बढेको छ ।’

दरबन्दी सात, चिकित्सक एक
चिकित्सालय व्यवस्थित हुँदै गए पनि विशेषज्ञ डाक्टरको अभाव भने कायमै छ । ७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको चिकित्सालयमा अहिले १ जना मात्रै कार्यरत छन् । चिकित्सालयमा कायोचिकित्सक, स्त्री प्रसूती, सल्यसलाक, जनरल विज्ञ र बालरोग लगाएत विशेषज्ञको दरबन्दी छ । तर अहिले बालरोग विशेषज्ञ डा. रामकामेश्वर ठाकुर मात्रै हुन् । अन्य दरबन्दी भने रिक्त छन् । ‘दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामीहरुलाई सेवा दिन समस्या भएको छ’ उनले भने ‘विहान देखि साँझसम्म एक्लै खटिनुपर्छ ।’ त्यस्तै २ जना चिकित्सकको दरबन्दी रहेकोमा २ वटै रिक्त छन् । त्यस्तै सहायक आयुर्वेदमा २ जना, ल्याब, ईन्डोरलागतमा भने दरबन्दी अनुसारका चिकित्सक रहेको डा. ठाकुरले बताए । त्यस्तै १२ जना कार्यालय सहयोगीको दरबन्दी रहेको भए पनि अहिले चारजना मात्रै रहेको उनको भनाई छ ।

सेवा सुधार
विगत एक वर्ष अघि ओपिडीमा बिरामीहरुको अवस्था नाजुक थियो । तर अहिले सेवा प्रभावकारी भएको छ । विरामीका लागि प्रतिक्षालय निर्माण गरिएको छ । नागरिक वडापत्र, सूचना बोर्ड, अस्पताल सररसफाई थिएन्, अहिले भने यो समस्या छैन् । भौतिक पूर्वाधारको अवस्था अस्तव्यस्त थियो । ओजेटि गर्नेहरुको संख्या न्यून थियो, स्वयंसेवक थिएनन्, तर अहिले यी सबै समस्याको हल भएको डा. ठाकुरले बताए । साथै अपाङ्गमैत्री शौचालय पनि निर्माण भएको उनले बताए । डा. ठाकुरका अनुसार अस्पतालको आम्दानी न्यून थियो । अघिल्लो बर्ष ५० हजार मात्रै आम्दानी थियो । तर गएको आर्थिक बर्षमा तीनलाख आम्दानी भएको डा. ठाकुरले बताए । अब पञ्चकर्मको भवन, ईन्डोर, एक्सरे मेसिन, आधुनिक ल्याब, ओटि सेटअप आटी लाईटको ब्यबस्था गर्न लागिएको बताए ।
पूर्वाधारको निर्माण
चिकित्सालयलाई आवश्यक पर्ने विभिन्न पूर्वाधारहरु पनि निर्माण भएका छन् । सरकारको अनुदान तथा विभिन्न व्यक्तिहरुको सहयोगमा पूर्वाधार निर्माणका कामहरु भएका छन् । चिकित्सालयको पूर्वतर्फबाट बाटो खुलाउने काम भएको छ । त्यस्तै चिकित्सालय परिसरमा मन्दिर निर्माण, योगा हल निर्माण, ल्याब, अन्तरंग विभाग, पञ्चकर्म, क्षारसुत्र, फोटो थेरापी मेसिन, फ्रि वाईफाई, प्रविधिमैत्री रजिष्टेशन, सिसि क्यामेरा जडान, रहेको डा. ठाकुरले बताए ।

सिसी क्यामेराबाट निगरानी
प्रादेशिक आयुर्वेद चिकित्सालयमा सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउन सिसी क्यामेरा जडान गरिएको छ । अहिले अस्पतालका सेवा प्रवाह, सेवाग्राहीको अवस्थालाई सिसी क्यामेराबाटै निगरानी गरिएको आयुर्वेद प्रमुख डा. रामकामेश्वर ठाकुरले बताएका थिए । ‘सेवालाई थप चुष्त र प्रभावकारी बनाउन सिसी क्यामेरा जडान गरेका हौं’ उनले भने ‘जसबाट प्रभावकारी सेवा प्रदान भईरहेको छ ।’ अहिले चारवटा सिसी क्यामेरा जडान गरेको र आउँदो आर्थिक बर्षमा थप चारवटा सिसी क्यामेरा जडान गर्ने उनको भनाई छ । करिब डेढ लाख लगानीमा सिसी क्यामेरा जडान गरिएको हो । एक हप्ता अघिदेखि सिसी क्यामेरा जडान गरेर सेवा प्रवाह गर्न शुरु गरिएको हो ।

विद्युतियवाट हाजिरी
प्रादेशिक आयुर्वेद चिकित्सालयमा चुस्त, दुरुस्त वनाउन आयूर्वेदमा कार्यरत कर्मचारीको लागि डिजिटल हाजिरिको पनि व्यवस्था गरिएको डा. ठाकुरले वताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस