२०७९ माघ १७, मंगलबार

सार्वजनिक सुनुवाईमा जनताले भने “अनुगमन प्रभावकारी हुनुपर्यो”

बैशाख २३, २०७६  | १००९ पटक पढिएको

२३ वैशाख, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ का जनताले योजनाको अनुगमन प्रभावकारी ढँगले गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उपभोक्ता समितिका नाममा भ्रष्टाचार मौलाएको भन्दै उनीहरुले अनुगमन प्रभावकारी नवनाउँदा केयौ योजना अधुरै रहने गरेको बताए । स्थानीय तिलक केसीले वडास्तरबाट पनि नियमित रुपमा योजनाको अनुगमन हुनुपर्ने बताए । “झारा टार्नका लागि मात्रै भन्दा पनि वास्तविक रुपमा अनुगमन हुनु आवश्यक छ ” उनले भने । कतिपय उपभोक्ता समितिहरुले भ्रष्टाचार गरेको भन्दै केसीले समिति बनाउँदा विशेष ध्यान दिनुपर्ने कुरा औल्याए ।

आइतबार उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्दै इश्वरी गिरीले सिँचाईका काम हुन नसकेको भन्दै वडालाई किसानमुखी वजेट ल्याउन सुझाएका थिए । “सिँचाईका लागि केही पनि भएन तपाईहरुले यसमा ध्यान दिनुपर्यो” उनले भने । अर्का स्थानीय टेकवहादुर गिरीले क्रसर उद्योगले वातावरण प्रदुषण गरेपनि त्यसलाई रोक्न स्थानीय सरकारले ध्यान नदिएको वताए । जथाभावी उत्खननले खोला गहिरिएको वताउँदै उनले पानीका मुहानहरु सुक्दै गएको दुखेसो गरे । मावि वालापुरका सहायक प्रधानाध्यापक फणेन्द्र अधिकारीले बालबालिकाका लागि स्थानीय सरकारले लगानी गर्नुपर्ने बताए । “स्कुलमा खेल मैदान छ खेल्ने सामग्री छैन, पुस्तकालय छ पुस्तक छैन यो बारेमा विशेष ध्यान दिनुहोला ” उनले भने ।

तकियापुर खानेपानी समितिका अध्यक्ष मोहन डाँगीले सबै ठाउँमा उपभोक्ता समिति गठन नहुनुको कारण खोतलेका थिए । उनले किताबमा उल्लेख भए वमोजिम बजेट उपभोक्ता समितिले नपाउने गरेको गुनासो पनि गरे ।

कार्यक्रममा जनताका गुनासो सम्वोधन गर्दै वडाध्यक्ष राजु आचार्यले जनताको अपेक्षा अनुसार काम गरेको वताएका थिए । योजना छनौटमा पारदर्शिता अपनाएको बताए । “कुनै पनि प्रतिशोध नसाँधेर सबैतिर वरावर बजेट विनियोजन गरेको छुँ” उनले भने । वडालाई तुलसीपुरको नमुना वडाका रुपमा विकास गर्नका लागि आफु निरन्तर लागिरहने वताउँदै आचार्यले जनताको साथ विना विकास सम्भव नहुने बताए ।

उपभोक्ता समितिका कामहरुलाई सबैले खवरदारी गर्नुपर्ने वताउँदै आचार्यले विकास आफ्नै लागि हो भन्ने मानसिकता सबैमा हुनुपर्ने आवश्यकता औल्याए । वडाका विभिन्न टोल विकास संस्थाका पदाधिकारी समेत रहेको कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस