२०७९ माघ १३, शुक्रबार

जनताको जीवनस्तर सुधार्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

बैशाख २२, २०७६  | १२०९ पटक पढिएको

दाङ बैशाख २२ गते । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएपछि दाङका दुर्गम बस्तीका जनताहरु लाभान्वित हुन थालेका छन् । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका जिल्लाका तीन गाउँपालिकामा कार्यक्रम लागू भएपछि स्थानीयहरु लाभान्वित भएका भएका मात्रै छैनन्–कार्यक्रमलाई आफ्नो जीवनस्तर सुधार्ने माध्यम बनाउन थालेका छन् ।

प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरेको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत दाड. जिल्लाका बबई, राजपुर र बंगलाचुली गाउँपालिकाले योजना छनौट गरेर स्थानीयको जीवन सुधार्ने अभियानको थालनी गरेका छन् । तीनवटै गाउँपालिकाहरुले कार्यक्रमका लागि छनौटमा परेका योजनाहरु सञ्चालन गरिरहेको जिल्ला कार्यक्रम सहजकर्ता श्रीधरकुमार राजभण्डारीले जानकारी दिनुभयो । राजभण्डारीका अनुसार कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले प्रत्येक गाउँपालिकालाई यस वर्ष रु ४५ लाख ९० हजारका दरले बजेट वितरण गरेको छ ।

समाजमा रहेका बिपन्न, दलित तथा पछाडि परेका समुदायका लागि रोजगारमुलक कार्यक्रमदेखि विभिन्न सहयोग प्रदान गर्नेसम्मका कार्यक्रमहरु रहेको कार्यक्रम सहजकर्ता राजभण्डारीले जानकारी दिनुभयो । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै आएको भन्दै पश्चिम दाङको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार स्कुल भर्ना तथा ड्रपआउट रोक्नका लागि स्टेशनरी तथा खाद्यान्न वितरण कार्यक्रमका लागि ६ लाख रुपैया, स्वरोजगार कार्यक्रमका लागि ११ लाख ६० हजार रुपैया, कृषिका लागि १३ लाख रुपैया र राहत तथा पुनःस्थापनाका लागि ६ लाख ३० हजार रुपैया वजेट विनियोजन भएको छ ।
त्यस्तै राजपुर गाउँपालिकाले पनि शिक्षा, रोजगार, कृषि र बालविवाह न्यूनीकरण र राहत तथा पुनःस्थापनाका लागि ५ लाख ९० हजार रुपैयाको वजेटमा कार्यक्रम छनौट गरेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर केसीले शिक्षाका लागि शिक्षाका लागि ५ लाख रुपैया, बालविवाह न्यूनीकरण र हिंसा नियन्त्रणका लागि ९ लाख रुपैया, स्वरोजगार कार्यक्रमका लागि ८ लाख ६० हजार रुपैया, कृषिका लागि ६ लाख रुपैया र राहत तथा पुनःस्थापनाका लागि ६ लाख रुपैयाको कार्यक्रम छनौट गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, स्वरोजगार, कृषि र राहत तथा पुनःस्थापना कार्यक्रमका लागि योजना छनौट गरेको छ । गाउँपालिका प्रमुख भक्तबहादुर ओलीका अनुसार शिक्षा तथा स्वास्थ्यमा २० लाख रुपैया, कृषिमा ४ लाख ७० हजार, स्वरोजगारमा १० लाख रुपैया र राहत तथा पुनःस्थापनामा ८ लाख ४० हजार रुपैयाका योजना छनौट गरी कार्यान्वयन गरिरहेको छ ।
आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका गाउँपालिकाका समुदाय, घरपरिवार तथा व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसर तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरेको भन्दै कार्यक्रम सहजकर्ता राजभण्डारीले कार्यक्रमले जनताहरुको जीवनस्तर उकास्ने लक्ष्य लिएको बताउनुभयो । ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अनुसार लक्षित वर्गको क्षमता अभिवृद्धि तथा सशक्तीकरण गर्ने र स्वरोजगार तथा आयआर्जनका क्रियाकलापमा जोड दिइने छ’, सहजकर्ता राजभण्डारीले भन्नुभयो, ‘लक्षित वर्ग, स्थानीय तह र गैरसरकारी संस्थासँगको सहकार्यमा सहभागितामूलक विधि अपनाएर कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यविधि बनाएर कार्यक्रमलाई प्रभावकारी बनाइरहेका छौं ।’

कार्यक्रम सञ्चालन हुने प्रत्येक जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला व्यवस्थापन तथा समन्वय समिति र सम्बन्धित गाउँपालिकामा गाउँपालिका प्रमुखको संयोजकत्वमा कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति गठन गरिएको छ । यो कार्यक्रम प्रदेश नं ५ का १२ वटै जिल्लाका ३४ गाउँपालिकामा लागू गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस