२०७८ असोज ११, सोमवार

आत्मनिर्भर बन्न सिकाउँदै शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय

भदौ १६, २०७८  | २३७ पटक पढिएको

१६ भदौ, घोराही । दाङको घोराहीमा रहेको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न सिकाइरहेको छ । शिक्षालय स्थापना भएको छोटो अवधिमा नै धेरै विद्यार्थीहरूको आकर्षण बन्न सफल भएको छ ।

शिक्षालयमा अहिले फार्मेसी, ल्याब, रेडियोग्राफी, बाली विज्ञान, फरेष्ट्रि, आर्किटेक्चर इन्जिनियरिङ, होटल म्यानेजमेन्ट फण्ड एण्ड डेरी टेक्नोलोजी विषय पढाई भइरहेको छ । यी सबै विषय ८५ हजार रुपैयाँदेखि ९५ हजार रुपैयाँसम्ममा अध्यापन भइरहेको शिक्षालयका प्रमुख अच्युतराज दाहालले जानकारी दिए ।

शिक्षालयमा एक वर्षमा कुल ३ सय ८ जना विद्यार्थी भर्ना हुन पाउने उनले जानकारी दिए । यी मध्ये ३१ जना विद्यार्थीले पूर्णरुपमा निशुल्क पढ्न पाइरहेका छन् ।

त्यसैगरी दलित समुदायका ४० जना विद्यार्थीलाई निशुल्करुपमा फुड एण्ड डेरी विषय अध्यापन भइरहेको जानकारी दिए । उनकाअनुसार इन्स्योर परियोजना अन्तर्गत स्वीस सरकारकाको सहयोगमा दुई वर्षे होटल म्यानेजमेन्ट विषय अध्यापन भइरहेको छ । सो विषयमा पनि २० जना विद्यार्थीले पूर्ण निशुल्क पढ्न पाइरहेका छन् ।

शिक्षालयले थप तीन ओटा विषय अध्यापनका लागि अनुमति प्राप्त गरिसकेको छ । पूर्वाधार निर्माण भइसकेपछि ती विषय अध्यापन गराइने शिक्षालयको उप–प्रमुख केशरमान बुढाथोकीले जानकारी दिए । उनकाअनुसार मेकानिकल इन्जिनियरिङ, एनिमल साइन्स भेटनरी र फिजियोथेरापी विषयको अनुमति प्राप्त भइसकेको छ । पूर्वाधार तयार भएपछि आगामी वर्षहरूमा ती कार्यक्रम सञ्चालन गरिने बुढाथोकीको भनाई छ ।

शिक्षालयले सिक्दै कमाउँदै कार्यक्रम शुरु गरेको छ । सो कार्यक्रम अन्तर्गत शिक्षालयका विद्यार्थीहरूले बेकरी उत्पादनको काम गर्ने छ । विद्यार्थीहरूले शिक्षालयमा सिक्दै आफै काम गर्ने छन् । उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था शिक्षालयले लिएको छ । यसबाट विद्यार्थीहरूले आफ्नो खर्च आफै कमाउन सक्ने शिक्षालय प्रमुख दाहाल बताउँछन् ।

यो युग प्राविधिक शिक्षाको हो : अच्युतराज दाहाल

मुलुक विकासको आधार भनेकै उत्पादन हो । हाम्रो देशमा अहिले पनि धेरै बस्तु आयात भइरहेको छ । आयात विस्थापित गर्नका लागि हामीले उत्पादनमा जोड दिनुपर्छ । उत्पादनका लागि सीप सिकेको जनशक्ति आवश्यक पर्छ ।

हाम्रो मुलुकमा लामो समयसम्म ज्ञान प्राप्त गर्ने शिक्षा मात्र प्रदान भयो । ज्ञान मात्रै भएर हुँदैन । मुलुक विकासका लागि सीप आवश्यक हुन्छ । हाम्रा शिक्षालय डिग्रीको सर्टिफिकेट प्रदान गर्नेमा मात्रै सीमित भए । डिग्री पास गरेर धेरै विद्यार्थीहरू बेरोजगार बस्नुपर्ने अवस्था छ ।

अब हामीले हाम्रो पुस्तालाई बेरोजगार बनाउनुहुँदैन । त्यसका लागि नयाँ पुस्तालाई सीपमुलक शिक्षा दिनैपर्छ । सीपमुलक शिक्षा भनेकै प्राविधिक शिक्षा हो । प्राविधिक शिक्षाको महत्वको बारेमा हामीले सबैलाई जानकारी दिनुपर्छ । प्राविधिक शिक्षा पढेकाहरु बेरोजगार बस्नुपर्दैन ।

दाङमा प्राविधिक शिक्षाको महत्वको बारेमा धेरैलाई बुझाउनुपर्ने छ : केशरमान बुढाथोकी

म यो शिक्षालयमा स्थापनाकालदेखि नै कार्यरत छु । स्थापनाकालमा म प्रशिक्षकको रुपमा काम शुरु गरेको थिए । त्यसपछि शिक्षालयको कोर्डिनेटर भएर काम गरे । अहिले शिक्षालयको उप–प्रमुखको जिम्मेवारीमा छु ।

हाम्रो शिक्षालयमा अहिले पनि दाङभन्दा पनि बाहिर जिल्लाका विद्यार्थीहरू धेरै छन । यहाँ मुलुकका विभिन्न २५ ओटा जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आएका छन । हाम्रो दाङमा यस वर्षदेखि अलि धेरै विद्यार्थीहरूले आवेदन दिएका छन् ।

विगतका वर्षहरूमा दाङका विद्यार्थीहरूको सहभागिता न्यून थियो । घर आँगनमै सस्तो शुल्कमा प्राविधिक शिक्षा हाँसिल गर्न सकिने भए पनि अहिलेसम्म यहाँका अभिभावक तथा विद्यार्थीहरूलाई प्राविधिक शिक्षाको महत्वको बारेमा बुझाउन सकिएको छैन ।

प्राविधिक शिक्षा भनेको पढ्दै कमाउँदै गर्ने शिक्षा हो । यसले व्यावहारिक ज्ञानमा निपूर्ण बनाउँछ । अहिलेको युग भनेको विज्ञान र प्रविधिको युग हो । हामीले सक्षम, दक्ष र क्षमतायुक्त जनशक्ति उत्पादन गर्नुपर्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस