२०७८ असोज ११, सोमवार

छाडा गाईगोरु व्यवस्थापन गर्न बेलझुण्डीमा गौशाला

भदौ १६, २०७८  | ५३२ पटक पढिएको

१६ भदौ, बेलझुण्डी । तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुडिस्थित नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा गौशाला सञ्चालनमा आएको छ ।

बजार, सडक तथा ग्रामिण क्षेत्रमा भौतारिने छाडा गाईगोरुको व्यवस्थित रुपमा संरक्षण गर्नका लागि करिव ४५ विगाहा जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको हो । गौशालाको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सोमबार जन्माष्टमिको शुभसाइत पारेर विधिवत् रुपमा प्रारम्भ गरे ।

‘यो गौशालाले तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका दुवै क्षेत्रका छाडा गाईलाई संरक्षकत्व प्रदान गर्ने छ, यसको थप व्यवस्थापनका लागि स्थानीय सरकारको आवश्यक सहयोग हुने छ’ नगरप्रमुख चौधरीले बताए ।

गौशाला सञ्चालनसँगै यसलाई दीर्घकालीन रुपमा सञ्चालनका लागि विशेष गुरुयोजना बनाउन पनि उनले आग्रह गरे । यताबाट उता खेदिने र उताबाट यता खेदिने गर्दा राष्ट्रिय जनावर गाईकै अपमान भैरहेको अवस्थामा योगी आदित्यनाथ फाउण्डेशनले थालेको यो संरक्षण अभियानमा स्थानीय पालिकाको पनि साथ र सहयोग हुने उनको अभिव्यक्ति थियो ।

पहिलो दिन सो केन्द्रमा कम्तिमा १५ वटा छाडा गाई राखिएको छ । सडकमा भेटिने अन्य छाडा गाईगोरुलाई पनि क्रमश गाई संरक्षण केन्द्रमा लगेर लालनपालन गरिने सञ्चालक संस्थाले जनाएको छ ।

‘अब छाडा गाईगोरुका कारण सडक दुर्घटनाहरु हुने छैनन्’, योगी आदित्यनाथ फाउण्डेशनका संरक्षक भरतनाथ योगीले भने, चाँडै गाई संरक्षणका लागि उपयुक्त आवास निर्माण गरिने छ । उनले गाई संरक्षण अभियानलाई क्रमिक रुपमा आयआर्जनसँग पनि जोडेर लैजाने फाउण्डेशनको योजना रहेको बताए ।

गाईको दुधसँगै मलमुत्रको समेत व्यावसायिक प्रवद्र्धन गर्ने खालको योजना ल्याउनका लागि फाउण्डेशनले मास्टर प्लान निर्माण गरेर अघि बढ्ने पनि उनको भनाइ थियो ।

गाई संरक्षण केन्द्र सञ्चालनको उद्घाटनका क्रममा यातायात व्यवसायी एवं तुलसीपुरका युवा व्यवसायी शुरेस हमालले नेपालको राष्ट्रिय जनावरको संरक्षण नहुँदा राष्ट्रियता माथिकै अपमान भैरहेको उल्लेख गर्दै हरेक टोल समुदायमा गाई संरक्षण केन्द्र सञ्चालनमा ल्याउन स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा स्थानीय युवा तथा विद्यार्थी नेता हरिषचन्द्र भण्डारीले नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण नेपाल संस्कृत विश्व विद्यालयको स्वामित्वकै जग्गामा थालनी हुनु आफैमा गर्वको कुरा रहेको उल्लेख गर्दै यस अभियानमा स्थानीयबासीको तर्फबाट आफुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष अनिल विष्टले गाई संरक्षणका लागि विश्वविद्यालयसँग जग्गा उपभोगको विधिवत्रुपमा सम्झौता समेत भैसकेको जानकारी दिए । गाई संरक्षण केन्द्रमा जतिसुकै छाडा गाईलाई पनि संरक्षण दिएर राखिने फाउण्डेशनले जनाएको छ ।

सो अवसरमा स्थानीयहरु तथा युवा व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र ३ अन्तर्गत २(ख)का उपसभापति प्रमोद बस्नेत, एमाले स्थानीय नेता रमेश डाँगी, तरुण नेता शंकर नेपाली, स्थानीय शिवराज डाँगी, खगेन्द्र डाँगी लगायतको सहभागिता रहेको थियो ।

बेलझुण्डीमा गाई संरक्षण केन्द्र सञ्चालनमा आएपछि स्थानीयबासी खुसी भएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस