२०७८ असोज ११, सोमवार

गिद्ध संरक्षणमा सामुदायिक वनको भुमिका महत्वपुर्ण

साक्षी खबर  |  भदौ १०, २०७८  | २२९ पटक पढिएको

भाद्र १० गते, बाघमारे । गिद्ध संरक्षणमा सामुदायिक वनको भुमिका महत्वपुर्ण हुने सरोकारवालाहरुले बताएका छन् । दिगो विकाश तथा अनुसन्धान केन्द्र दाङले विहिवार शान्तिनगर गाउपालिकाको वाघमारेमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

‘हाम्रा वनमा सवैभन्दा बढि गिद्ध छन् भनेर अरु व्यक्ति आएर भनिदिनुपर्ने कस्तो दुर्भाग्य हो ? हामीहरु अझै पनि जैविक विविधतामा कत्तिपनि जिम्मेवार बन्न सकिरहेका छैनौं’, स्थानिय उपभोक्ता डम्वर वलीले भने ।

जिल्लाकै सवैभन्दा बढि गिद्धका गुणहरु भएको र सवैभन्दा बढि गिद्धहरु पाइने वाघमारेमा अचेल सुन गिद्ध र हाडे गिद्धहरु देखिनै छाडेकोमा सामुदायिक वन उपभोक्ता तथा प्राकृतिक संपदामा चांसो राख्ने जानकारहरुले चिन्ता व्यक्त गरे । जैविक विविधता नास हुंदै जांदा विभिन्न खाले प्राकृतिक विपतहरु आइरहेको भन्दै उनीहरुले वनमा भएका हरेक रुखविरुवा र वन्य जन्तु तथा पशुपंक्षिलाइ संरक्षण गर्न सके मात्र वातावरणिय सन्तुलन कायम हुन सक्ने उनीहरुको अभिव्यक्ति थियो ।

‘वैज्ञानिक वन व्यवस्थापनका नाममा पश्चिम दाङको अपार वन संपदालाइ समाप्त पार्ने खेल भैरहेको छ, यसमा डिभिजन वन लगायत सेक्टर बनका अधिकारीहरुले समेत उपभोक्ताहरुलाइ झुक्याउने काम गरीरहेका छन्, यसमा उपभोक्ताहरु सचेत हुन आवस्यक छ’, वन उपभोक्ता वलीले भने । पछिल्लो समयमा राज्यका विभिन्न निकायहरु यो र त्यो वाहनामा वन विनासमा मात्रै उद्धत हुन थालेको पनि उनको अभिव्यक्ति थियो । सुन गिद्ध र हाडेगिद्धहरु मात्र नभएर पछिल्लो समयमा वनमा हुने धेरै प्रजातीका चराचरुङगीहरु पनि हराइसकेको बताउंदै वन उपभोक्ताहरुले पर्यावरणिय सन्तुलनका लागि सरकारले प्याकेजमा कार्यक्रम ल्याउन पनि सुझाव दिएका थिए ।

पर्यावरणिय दिगो विकाश तथा अनुसन्धान केन्द्र दाङको आयोजना तथा विसिएनको आर्थिक सहयोगमा विहिवार वाघमारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउपालिका—२ का वडाध्यक्ष फर्साराम डांगीले प्रकृतिको कुचिकार विभिन्न प्रजातिका गिद्धहरुको आश्रयस्थल वागमारेलाइ अन्तराष्ट्रिय रुपमै गिद्ध अनुसन्धानस्थलका रुपमा विकाश गर्न गाउपालिकाले आवस्यक कार्यक्रम र बजेट समेत ल्याउने आश्वासन दिए । ‘गिद्ध पर्यावरणीय सन्तुलनकालागि अपरीहार्य पक्षि हो भन्नेमा हामीहरु विश्वस्त छौं, आगामि कार्यक्रममा हामीले गिद्ध संरक्षणका अभियानहरुलाइ पनि सम्वोधन गर्ने छौं’—प्रमुख अतिथि डांगीले भने ।

नेपाल सरकारले पछिल्लो पटक पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा पुर्ण प्रतिवन्ध लगाइसकेको बताउंदै उनले गिद्धको आहारालाइ पनि समुचित व्यवस्थापन गर्नकालागी वन उपभोक्ता समुहहरुले पनि विशेष कार्यक्रम ल्याउन आग्रह गरे । ‘हामी वाघमारेको वनलाइ प्राकृतिक एवं जैविक विविधताको अध्ययन स्थल बनाउन प्रतिवद्ध छौं, यसकालागि डिभिजन वन कार्यालय लगायत यस क्षेत्रमा कामगर्ने विभिन्न गैरसरकारी संस्थाहरुसंग समन्वगर्न तयार छौं’, प्रमुख अतिथि डांगीले भने । त्यसै अवसरमा प्रमुख अतिथि डांगीले गिद्धको वासस्थानका रुपमा प्रयोग हुने सिमल लगायतका विभिन्न अग्ला प्रजातिका विरुवाहरु हुर्काउन तथा जोगाउन वन उपमोक्ता समुहले विशेष पहल गर्न पनि सुझाव दिए ।

कार्यक्रममा स्थानिय उपभोक्ता कुलवहादुर वलीले अहिले मानिसहरु आधुनिक विकाशमा रुमल्लिदा दिगो विकाशको अभियानमै धक्का लागेको अभिव्यक्ति दिएका थिए । मानिसले पृथ्वी कव्जा गर्ने हुंकारका कारण प्राकृतिक विनासले तिब्रता पाइरहेको बताउदै उनले योजना बनाएर मात्रै काम गर्न स्थानिय सरकारलाइ चेतावनी दिए । ‘सडक बनाउंदा कुनै इन्जिनियरीङ देखिंदैन, डोजर डाइभरको निर्देशनमा मनोमानी जमिन खनेर सडक बनाइदा भुःक्षयको संभावना अधिक बढेको छ’—वलीले भने । स्थानिय उपभोक्ता टेकन केसीले गिद्ध लगायत विभिन्न जैविक विविधता संरक्षणकालागी उपभोक्ताहरुमा सचेतनाको अभियानलाइ फैलाउनुपर्ने सुझाव दिएका थिए ।

सो अवसरमा साम सामुदायिक वन उपभोक्ता सम्हका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष लक्ष्मण खत्रीले आगामी वन कार्ययोजनामा गिद्ध संरक्षण एवं पर्यावरणिय सन्तुलनकालागी विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे । ‘गिद्ध र मानवको अनन्य संवन्धलाई हामीले गम्भीरतापुर्वक लिएका छौं, पश्चिम दाङको वाघमारे क्षेत्रका सामुदायिक वनलाइ गिद्ध अनुसन्धानको हव बनाउन प्रतिवद्ध छौं’—वन उपभोक्ता समुहका अध्यक्ष खत्रीले भने । साथै उनले सामुदायिक वनमा रहेको गौशालालाइ थप व्यवस्थीत गरी गिद्धे रेष्टुरेन्ट निर्माणमा पनि वन उपभोक्ता समुहले विशेष पहल गर्ने बताए ।

कार्यक्रममा पर्यावरणिय गिदो विकाश तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली वहादुर रावतले गिद्ध प्रकृतिका कुचिकार भएको र पछिल्लो समयमा हराउंदै जान थालेकाले गिद्ध संरक्षणमा वन उपभोक्ताहरुको विशेष पहलको अपेक्षा गरेका थिए । विश्व समुदायका पंक्षिवीदहरु गिद्धको अध्ययन तथा अनुसन्धानकालागी दाङ आउन थालेको बताउंदै यसलाइ अझै फराकिलो र सहज बनाउन हरेक वन उपभोक्ता समुहहरुले वन कार्ययोजनामै पर्यावरणिय एवं जैविक विविधता संरक्षणलाइ प्रार्थमिकतामा राख्न पनि आग्रह गरे ।

सिनियर सामाजिक परीचालक क्षितिज रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिपेन्द्र लामीछानेले गरेका थिए । गिद्ध संरक्षणकालागी देउखुरीको सिसहिनिया र तुलसीपुरको स्यालापानीमा गिद्ध रेष्टुरेन्ट सन्चालनमा आइरहेका छन् । यी क्षेत्रमा विभिन्न देशहरुबाट पंक्षि विज्ञहरु अध्ययन तथा अनुसन्धानका लागि आउने गरेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस