२०७९ असार २३, बिहीबार

युरो कप : स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा

असार २३, २०७८  | २०३ पटक पढिएको

असार २३ गते, काठमाडौं । युरो कप अन्तर्गत मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जित हात पार्दै इटालीले फाइनलमा स्थान पक्का गरेको छ । 

इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । इङ्ल्यान्डको वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 

इटालीका लागि पेनाल्टीमा आन्द्रे बेलोट्टी, लियोनार्दो बोनुची, जर्जिन्हो र फेडेरिको बर्नार्डेस्कीले गोल गर्दा म्यानुएल लोकाटेली भने चुके । 

लोकाटेलीको प्रहारलाई स्पेनका गोलरक्षक उनाइ सिमोनले बचाएका थिए ।  पेनाल्टीमा स्पेनका जेरार्ड मोरिनो र थिएगो अल्कन्तराले गोल गर्दा डानिल ओल्मो र अल्भारो मोराटाले भने गोल गर्न सकेनन् । 

ओल्मोको प्रहार पोस्टमाथिबाट बाहिरिँदा मोराटाको प्रहारलाई इटालियन गोलरक्षक जियानलुजी डोनारुम्माले बचाए ।

खेलको ६० औँ मिनेटमा फेडेरिको चेइसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । 

चेइसाले काउन्टर एट्याकमा सिरो इम्मोबिलेले उपलब्ध गराएको बललाई स्पेनिस डिफेन्डसले क्लियर गर्न नसक्दा त्यसको फाइदा उठाउँदै गोल गरेका थिए ।

खेलको ८० औँ मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोराटले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । उनले डानिल ओल्मोको पासलाई सदुपयोग गरेका थिए ।

मोराटा खेलको ६२ औँ मिनेटमा फेरान टोरेसका स्थानमा मैदान प्रवेश गरेका थिए । इटालीले उपाधिका लागि आइतबार इङ्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस