२०७९ माघ २६, बिहीबार

आजबाट कक्षा १२ को परीक्षा, नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी

बैशाख १५, २०७६  | ९०३ पटक पढिएको

१५ बैशाख, भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने कक्षा १२ को वार्षिक परीक्षा आइतबारबाट सुरु हुँदैछ । परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट हुनेछ ।

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले कक्षा ११ मा पाँच लाख आठ हजार ४९४ र कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुने छन् । सबैभन्दा कम मनाङमा कक्षा ११ मा ५१ र कक्षा १२ मा ५९ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा बढी काठमाडौँमा कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुने जनाइएको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ। परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।

यसैबीच एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरिएको छ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट कडाइ गर्ने भएको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईई परीक्षाको जस्तो घटना दोहोरिन नदिन आफूहरू सचेत रहेको जानकारी दिँदै भने, “प्रश्नपत्र राखिएको ठाउँमा चौबीसै घण्टा सीसीटिभीको व्यवस्था गरिएको छ। सुरक्षाकर्मीसहितको कन्ट्रोल रूमको पनि थालनी गर्नेभएका छौँ ।”

प्रश्नपत्र गल्ती भएमा सबै केन्द्राध्यक्षलाई मोबाइल फोनबाट एकैसाथ तत्काल एसएमएस पठाउने व्यवस्था पनि गरिएको छ । विद्यार्थीलाई भने परीक्षा केन्द्रमा मोबाइल फोन लैजान प्रतिवन्ध लगाइएको छ भने क्याल्कुलेटरबाहेक इलेक्ट्रोनिक्स साधन पनि लैजान निषेध गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस