२०७९ माघ १३, शुक्रबार

७३ वर्षमा नागरिकता, बल्ल पाइने भो वृद्ध भत्ता

बैशाख १४, २०७६  | १०९४ पटक पढिएको

१४ वैशाख, डोटी / कुनै बेला नागरिकता नपाएर छटपटिएका जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी भएका छन् । जीवनको उत्तरार्धमा पुगेका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उहाँकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उनले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका हुन् । नातिनातिनाले नागरिकता पाए पनि उनले नागरिकता लिन जिल्ला सदरमुकाम सिलगढीसम्म जान नसक्दा अहिलेसम्म नागरिकता पाएका थिएनन् । एकीकृत घुम्ती शिविरले घरैमा नागरिकता दिएपछि खुशी भएका खत्रीले भने, “अरु कुरो त छोडौँ नागरिकता नपाएरै मर्छु भन्ने सोचेको थिएँ, नागरिकता घरैमा दिए दिनेलाई धन्यवाद ।”

नागरिकता पाएसँगै खत्रीले अब सामाजिक सुरक्षाभत्ता अर्थात् वृद्धभत्ता पनि सहजै पाउनु भएका छन् । नागरिकता नभएर भत्ता नपाउँदा आफ्नो जीवन निर्वाह गर्न निकै समस्या भएको बताउँदै खत्रीले भने, “नागरिकता पाएँ, अब मर्ने बेला सरकारको पैसा पनि खान पाउने भएँ, योभन्दा अरु खुशी के नै होला र रु” खत्रीले घरैमा नागरिकता पाएसँगै उनको परिवारमा पनि खुशियाली छाएको छ ।

उक्त गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरमा ४७५ महिला र ३५३ पुरुष गरी ८२७ अन्य नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकता लिनका लागि जिल्लासम्म आउन नसक्ने अवस्थाका सो गाउँपालिकाका केही स्थानीय बूढापाका घरैमा नागरिकता पाएसँगै हर्षितसमेत भएका छन् ।

जनताको घरदैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी तथा शिविरका संयोजक टेकनारायण पौड्यालले बताए । उनले भने, “ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्षरूपमा सेवा पुगोस् भनेर हामीले घुम्ती शिविर सञ्चालन गर्दै आएका छौँ, नागरिकले पनि घरैमा सेवा पाएर सरकार भएको अनुभूति गर्न थालेका छन् ।”

गाउँपालिकामा मङ्गलबारदेखि सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा जिल्लामै सबैभन्दा बढी अर्थात् ठूलो परिमाणमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुका साथै अन्य सेवा पनि उपलब्ध गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

उनले भने, “जिल्लामा सञ्चालन भएका शिविरमध्ये हाम्रो गाउँपालिकामा सबैभन्दा बढी नागरिकले नागरिकता पाएका छन्, यो आफैँमा राम्रो पक्ष हो ।” जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारीअनुसार शिविरमा ८२७ ले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, ६९ को स्वास्थ्योपचार तथा चेकजाँच, ६२ जनाले आयुर्वेद सेवा, १३३ ले पशुसेवा, ६० ले कृषि सेवा पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच सहकार्य गरेर डोटीमा पहिलोपटक बोगटान गाउँपालिकाबाट शुरु गरिएको एकीकृत घुम्ती शिविर क्रमशः सायल गाउँपालिका, आदर्श गाउँपालिका हुँदै चौथो स्थानीय तहको रुपमा जोरायल गाउँपालिकामा सञ्चालन गरिएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस