सुखद् रहोस् नयाँ वर्ष

बैशाख ०३, २०७८  | १०२ पटक पढिएको

आजदेखि मुलुकको पात्रो फेरिएको छ । सबै नागरिकहरु नयाँ वर्ष २०७८ को स्वागत गर्दै छन् । नयाँ वर्षसँगै हरेक नयाँ कामको सुरुआत हुनु नै नयाँ वर्षको स्वागत गर्नुको सार्थकता पनि हो । त्यसैले आजको दिनमा कुनै न कुनै रचनात्मक काम गरेर नयाँ वर्षलाई स्वागत गर्न आम नागरिकहरुको तयारी पनि भैरहेको छ । नयाँको अर्थ फरक कामको सुरुआत पनि हो । यस अघिका कामलाई समीक्षा गर्दै थप सुधारात्मक कदमको थालनीको आधार पनि नयाँ वर्ष हो ।

मुलुकले नयाँ वर्षलाई स्वागत गरिरहँदा यहाँ थुप्रै चुनौतिहरु देखिएका छन् । विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरसको दोस्रो चरणको संक्रमण विश्व समुदायमा व्यापक भईसकेको छ । नयाँ वर्षको सुरुआतसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण दिन दुई गुना र रात चौगुनाकारुपमा फैलिन थाली सकेको अवस्थामा मुलुकको विद्यमान स्वास्थ्य प्रणालीले संक्रमितहरुको स्वास्थ्य उपचारलाई थेग्न सक्ने अवस्था छैन । हरेक स्थानीय पालिकामा अस्पताल निर्माणको नीति सरकारले अघिल्लै वर्ष ल्याए पनि सरकारको अस्थिरताका कारण अस्पताल निर्माण लगायतका धेरै विकास निर्माणका कामहरुले गति लिन सकिरहेका छैनन् ।

मुलुकको आर्थिक वृद्धिदर दिनदिनै ओरालो लागिरहेको छ । आन्तरिक रोजगारीको अवस्था नितान्त कमजोर रहेको छ । आर्थिक गतिविधिहरु कछुवाको गतिमा लम्किरहेका छन् । अस्पतालको अभावसँगै कोरोना भाइरसको खोपमा पनि सरकार र मेडिकल माफियाबीच जुहारी चलिरहेको छ । वैदेशिक व्यापारमा घाटा बढिरहेको छ ।

हामी नयाँ वर्षलाई स्वागत गरिरहँदा यावत् समस्याको समीक्षा गर्न आवश्यक छ । मुलुकलाई सुशासनको मार्गमा डोर्याउनका लागि भ्रष्टाचारमुक्त समाज निर्माणमा सरकारमा रहेका नेताहरुदेखि आमनागरिकहरु समेत जुट्नुपर्ने आवश्यकता देखिएको छ । समृद्ध नेपाल सुखी नेपालीको नारा कागजमा मात्र सीमित हुनुहँदैन ।

यसलाई व्यवहारमा उतार्नका लागि सुशासननै मुख्य मन्त्र हो । नयाँ वर्ष समृद्धिको वर्ष बनोस् । भ्रष्टाचारको अन्त भई मुलुकमा समृद्धिको ढोका खुलोस् । नयाँ वर्ष सुखद् रहोस् । नयाँ वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार