कागती व्यवसायी भन्छन्ः एक घर–एक ‘कागती’ पुर्याउँने योजनामा छौं

फागुन १९, २०७७  | ३५७ पटक पढिएको

१९ फागुन, बिजौरी ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थानगाउँका रामचन्द्र खड्काले लगाएको कागती खेतीबाट मनग्य आम्दानी भएसँगै यतिबेला एक घर एक कागतीको अभियानमा छन् । सूर्य जैविक कृषि केन्द्र प्रा.लि दर्ता गरेर व्यावसायिक कागती खेती गरिरहेका उनले २०७४ सालदेखि स्थानगाउँमा करिब २२ काठ्ठा जग्गा लिजमा लिएर उन्नत जातको व्यावसायिक कागती खेती गरेका थिए ।

उनको कृषि फर्ममा हाल १५ सय बढी कागतीका बोट छन् । उनले लगाएका हाइब्रिड जातका कागतीले ६ महिनामै फल दिन थालेको थियो । वर्षमा तीन पटक फल दिने कागती स्थानीय कागतीभन्दा धेरै रस भएका कारण बिक्रीमा समस्या नहुने उनी बताउँछन् ।

‘अहिले घरमै आएर कागती किन्ने आउँछन, मलाई बिक्रीका लागि बजारसम्म जानु परेको छैन,’ उनले भने, ‘तर पहिलेको तुलनामा कागतीले फल बढाउँदै गएकाले अब बिक्रीका लागि आफैं हिँड्नु पर्ने हुनसक्छ ।’

उनले व्यवसायीसँगै एक र दुई किलो भनेर घरमै किन्न आउने उपभोक्तालाई बिक्री गर्ने गरेको बताए । अहिलेसम्म करोडभन्दा बढी रुपैयाँ खर्च गरेर व्यावसायिक कागती खेती गरेका खड्का कागतीका बिरुवा कलमे बनाएर बेच्ने पनि गरेका छन् । त्यसका लागि कलमे बिरुवा तयारी छन् । एक विरुवाको मूल्य २ सय ५० रहेको उनले बताउँदै यो आर्थिक वर्षमा करिव ५० हजार विरुवा उत्पादन गरि विक्रि गर्ने लक्ष्य रहेको बताए ।

स्थानीय सानो जातको कागतीभन्दा हाइब्रिड कागती राम्रो भएको खड्का बताउँछन् । उनकाअनुसार बाँझो जग्गा भाडामा लिएर उनले गाई भैंसीको जैविक मल प्रयोग गरी व्यावसायिक कागती खेती सुरु गरेका हुन् ।

तीन पटकसम्म विदेश बसेका खड्काले स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशबाट फर्किएर कागती खेती गर्न थालेका हुन् । अहिले उक्त कागती खेतीमा अर्का सञ्चालक विष्णु वली पनि छन् । दुई जना मिलेर सुरु गरेको कागती खेतीका लागि अहिले अध्ययनका लागि पनि सहज हुन थालेको छ ।

पछिल्लो समय उनको फर्ममा कागती किन्नेदेखि जिल्लाका कृषि अध्ययन गर्ने विद्यार्थी समेत अवलोकन गर्न आउन थालेका छन् । अहिले ‘पन्त १’ भन्ने नामको कागतीको खेती भइरहेको छ । यो कागती नेपालको जुनसुकै स्थानमा पनि हुन सक्ने भएकोले यो जातको कागती खेती गरिएको अर्का सञ्चालक विष्णु वलीले जानकारी दिए । यो कागतीबाट अचार, जुस, जाम, चटपटे लगायतका लागि बढी माग हुने गरेको बताए ।

‘कागतीको बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पुर्याउन भ्याई नभ्याई छु, उनले भने ‘बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।’ अहिले दाङका दुई स्थानमा आफूहरुले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर देशभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताए ।

अहिले हामी दुई जना छौं, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौं,’ उनले भने ‘त्यसका लागि एक सय ८ जना किसान थप गर्ने हाम्रो योजना छ ।’ उनकाअनुसार आफूले उत्पादन गरेको कागती देशभर पुर्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस