आकर्षणको स्थल बन्दै ‘जखेरा’

फागुन १२, २०७७  | २६८ पटक पढिएको

१२ फागुन, लमही ।

दाङ घोराहीका शम्भू शर्मा दुई पटक जखेरा ताल हेर्न र अनि डुंगामा बस्न आइपुगे । पहिलो पटक आउँदा त्यति धरै व्यवस्थित थिएन तर अहिले अलि व्यवस्थित भएकोमा खुसि देखिन्थे । जति हुनु पर्ने हो त्योभन्दा अझ धेरै गर्नुपर्ने उनको सुझाव छ ।

यहाँ दैनिकजसो आन्तरिक पर्यटकको घुइँचो हुने गर्दछ । लमही बजारदेखि झण्डै ५ किलोमिटर पूर्व–उत्तर क्षेत्रमा जखेरा ताल छ । तालको बीचमा मन्दिर छ । त्यही ताल पछिल्लो समय पर्यटकको लागि आकर्षणको स्थल बन्दै गएको छ । पिकनिक खानको लागि वा घुम्नको लागि त्यो आन्तरिक वा बाह्य पर्यटकको लागि च्वाइसमा पर्ने गरेको छ ।

आकर्षक पोखरी, बीचमा रहेको शिव र गणेशका छुट्टाछुट्टै मन्दिरमा पुजापाठसँगै पिकनिकका लागि पछिल्लो समय जखेरा ताल आकर्षकको केन्द्र बन्दै गएको स्थानीयको अनुभव छ । लमही नगरपालिका–३ जखेरा निवासी ओमभगत चौधरीको दैनिकी १६ वर्षदेखि जखेरा तालमा बित्ने गरेको छ । जखेरा तालमा डुंगा चालककारुपमा कार्यरत चौधरीले तालको संरक्षणको समेत काम गर्दै आएका छन् ।

‘सानो पोखरीकारुपमा रहेको ताललाई ठूलो बनाएर डुंगा राखेदेखि नै म यहाँ डुुंगा चालकका रुपमा काम गर्दैछु’, चौधरीले भने – ‘धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको तालमा डुंगा चलाउँदा सन्तुष्ट नै छु ।’ त्यसमा काम गरेबाफत मासिक १५ हजार तलव पाउने गरेको समेत बताए ।

तालमा डुंगा चलाउने उनी एक्ला माझी नभएता पनि दैनिकरुपमा चलाउने एक माझी हुन् । जखेरा तालमा तीन वटा डुंगाहरु रहेका छन् । तर बाँकी दुई वटा डुंगाका लागि मानिसहरुको चहल–पहल बढी भएमा मात्र ज्यालादारी रुपमा दुई माझी आउने गरेको उनले बताए ।

‘तालमा तीन वटा डुंगाहरु रहेका छन्, जसमा छुट्टाछुट्टै चलाउने व्यक्तिहरु समेत हुनुहन्छ’, उनले भने – ‘तर अन्य व्यक्तिहरु सधै आउनुहँुदैन । म भने सधैं आउने गरेको छु ।’

विगत १६ वर्षदेखि जखेरा तालमै डुंगा चलाउँदै आएका चौधरीले अन्य क्षेत्रको तुलनामा जखेरा तालको विकास हुन नसकेको बताउँछन् । देउखुरीकै अन्य ठाउँमा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरु जखेराको तुलनामा धेरै अघि बढिसकेको उनी बताउँछन् ।

‘सानो अजमरी बोटहरुले ढाकेको पोखरीलाई विस्तार गरेर समुदायबाटै डुंगा चलाउने बनायौं । तर राज्यले यो ठाउँको विकास र विस्तारका लागि पहल गर्न सकेन’, उनले भने – ‘जसले गर्दा देउखुरीमा पर्यटकीय विकासको राम्रो सम्भावना भएको जखेरा तालको विकास हुन सकिरहेको छैन ।’

उनकाअनुसार तालको बिस्तारसँगै मानिसहरुको चहल–पहल हुने ठाउँतिर रेलिङ, पिकनिकका लागि घर र खानेपानी धारा, व्यवस्थित पार्क निर्माणसँगै तालमा जलविहार गर्नका लागि स्टिमरको आवश्यकता रहेको चालक चौधरीले बताए ।

तर यसका लागि राज्यले सहयोग गर्न आवश्यक छ । ‘देउखुरीमा जलविहार गर्नका लागि जखेरा ताल मात्र छ, जसमा तीनवटा डुंगाहरु रहेका छन्’, उनले भने – ‘अब यी डुंगाहरु पूराना भईसके, त्यसैले अब स्टिमर ल्याउन आवश्यक छ ।’ जखेरा घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको काम समेत स्टिमरको हुने गरेको उनले बताए ।

करिब तीन बिगाहा क्षेत्रफलमा फैलिएको जखेरामा जलविहार गर्नका लागि समेत उपयुक्त रहेको उनी बताउँछन् । जखेरामा जिल्लाका विभिन्न ठाउँहरुसँगै कपिलवस्तु, प्युठान, रोल्पा, बाँके, बर्दियाबाट मानिसहरु घुम्न आउने गरेको बताए ।

धार्मिक तथा पर्यटकीय स्थलकारुपमा रहेको जखेरा तालमा दैनिक करिब ४ देखि ५ सय मानिसहरु घुमफिर तथा पिकनिकका लागि आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यालय सचिव सरिता चौधरीले बताइन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्रमा प्रवेश निःशुल्क भए पनि पोखरीमा डुंगामा चढ्नका लागि प्रतिव्यक्ति ५० रुपैयाँ लाग्ने गरेको छ । साथै जखेरामा पिक्निकको लागि घर, पर्याप्त मात्रामा खानेपानीको व्यवस्थासँगै सूचना, जानकारी तथा निर्देशित बोर्डहरुको आवश्यक रहेको बताइन् ।

डुंगामा चढेर पोखरी घुमेको र पिक्निकबाट दैनिक करिब ६/७ हजार रुपैयाँ संकलन हुने गरेको र त्यही पैसाबाट कर्मचारीलाई तलव, मन्दिरको विकास र संरक्षणमा लगाउने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस