क्याम्पसमा कोरोना अस्पताल ‘हाम्रो क्याम्पस फिर्ता दे’ भन्दै नाराबाजी

पुष २९, २०७७  | ४१५ पटक पढिएको

२९ गते, बिजौरी,

नेपाल संस्कृत विश्वविद्यालयमा सञ्चालन भैरहेको आयुर्वेद स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुले क्याम्पस मागेका छन् । करीव दश महिना क्याम्पसविहीन भएका विद्यार्थीहरुको एउटा प्रमुख माग क्याम्पस भवन फिर्ता दे भन्ने थियो ।

अर्को माग भनेको ५ वर्षे कोर्षलाई ८ वर्ष लम्व्याउनु हुँदैन भन्ने हो ।
तर आम विद्यार्थीका मागमा विश्वविद्यालय पदाधिकारीहरु गम्भीर छैनन् । पाँच वर्षे कोर्षलाई ८ वर्ष लम्व्याउँदै गर्दा पदाधिकारीहरु गर्व गर्दछन् ।

सङ्घीय माताहतमा रहेको बिएएमएस कलेजलाई प्रदेश सरकारले जबर्जस्तरुपमा कोभिड अस्पताल बनाउँदा विद्यार्थीहरु क्याम्पसविहीन भए ।
दुई चार महिनाका लागि अस्थायी अस्पताल बन्नु स्वाभाविक थियो, तर कोरोना अस्पतालको अन्य विकल्प नखोजिनुले समस्या गम्भीर बन्दै गयो, अन्ततः क्याम्पस भवनमा रहेको कोरोना विशेष अस्पतालमै विद्यार्थीहरुले आवाज बुलन्द गरे, हाम्रो क्याम्पस फिर्ता दे ।


विद्यार्थीहरुको आन्दोलनलाई सम्हाल्न प्रहरी परिचालन गर्नुप¥यो, विद्यार्थी आन्दोलनलाई सम्बोधन गर्न घोराही र तुलसीपुरका प्रमुख आउनुप¥यो, यो कति लाजमर्दो अवस्था हो । क्याम्पस गायव, विद्यार्थी अलपत्र ? किन यो अवस्था आयो, विद्यार्थीहरुको यही माग थियो । चौथो व्याचदेखि नबौं व्याचसम्मका विद्यार्थीहरुको गुन्जन थियो, यो निष्पक्ष विद्यार्थी आन्दोलन हो ।

‘हाम्रो पहिलो माग भनेको कोरोना विशेष अस्पताललाई तत्काल विस्थापन गरी विद्यार्थीलाई हस्तान्तरण गर्ने, भौतिकरुपमा पढाइको व्यवस्थापन गर्ने, प्रयोगात्मक कक्षाका लागि पनि क्याम्पस भवन नभई नहुने थियो’, चौथो व्याचका विएएमएसका विद्यार्थी शिखर पोख्रेलले भन्नुभयो । त्यसैगरी उहाँकै अभिव्यक्तिमा शैक्षिक भ्रमण पनि कार्यान्वयन नभएको र तोकिएको समयमा पढाइ पनि पुरा नभएकोमा विद्यार्थीहरुको गुनासो थियो ।

त्यसैगरी सेनीटाइज द युनिभर्सिटि पनि माग रहेको छ । इन्टर्नशिपको हाफ स्यालरी पनि विश्वविद्यालयले दिन सकेको छैन भन्ने पनि विद्यार्थीको माग रहेको छ । त्यसैगरी विद्यार्थी ओसार्न नेपाल–भारत सहयोगमा आएको गाडि पनि सहि प्रयोजनमा आउन नसकेकोमा पनि विद्यार्थीको आपत्ति थियो ।

अनलाइन कक्षाले मात्र चिकित्सक बन्नका लागि पर्याप्त छैन, यसका लागि भौतिक उपस्थितिबीचमै पढाइ सुरु गर्न पनि विद्यार्थीहरुले आग्रह गरे पनि समस्या सुल्झाउन घोराही र तुलसीपुरका मेयर पनि विद्यार्थीमाझ पुगेका थिए ।

‘पदाधिकारी चेन्ज हुनु नियमित कुरा हो, तर यहाँ कोभिड विशेष अस्पताललाई हटाएर जनरल अस्पताल सञ्चालनको व्यवस्थापन गर्न सके सबैलाई सहयोगी बन्न सक्छ’ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भन्नुभयो । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि विद्यार्थीहरुको समस्यामा आफुहरु गम्भीर भएको बताउँदै केही दिनमै विद्यार्थीहरुलाई क्याम्पस भवन उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
यो बीचमा समयमा परीक्षा पनि नभएको, प्रयोगात्मक कक्षा पनि नभएकाले आफूहरु ठूलो मारमा परेको विद्यार्थीहरुको भनाई थियो । लकडाउनको बीचमा अनलाईनबाट कक्षा सञ्चालन भए पनि प्रभावकारी नभएको विद्यार्थीहरुको गुनासो छ । पाँच दिनभित्र आफ्ना माग सम्बोधन नभए कडा कदम चाल्ने विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

विद्यार्थीका माग जायजः डीन पोख्रेल


विद्यार्थीहरुले क्याम्पस फिर्ता आन्दोलन गरीरहँदा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डीन प्राध्यापक डा. सन्जय पोख्रेलले विद्यार्थीहरुका माग जायज भएको बताउनु भएको छ ।

कम्तिमा एक वर्ष उनीहरुले अनलाइन कक्षामा थेउरी अध्ययन गरे, तर अब उनीहरुलाई प्रयोगात्मक कक्षाका लागि क्याम्पस भवन चाहिन्छ, हामीले पनि यो विषयमा विश्वविद्यालयका पदाधिकारी तथा प्रदेश सरकारका अधिकारीसंग कुरा गरीरहेका छौं’–डीन पोख्रेलले भन्नुभयो ।

कोभिड विशेष अस्पताललाई चाँडै अन्यत्र व्यवस्थापन गरी त्यहाँ विएएमएसका विद्यार्थीहरुको पठनपाठन नियमित गर्न आफु पनि अत्यन्तै आतुर रहेको पनि उहाँको अभिव्यक्ति थियो ।

क्याम्पस खालि हुन्छः प्रवक्ता सामाजिक विकास मन्त्रालय

यसैबीच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुस्पराज पौडेलले केही समयमै अस्थायी कोरोना अस्पताल खालि हुने बताउनु भएको छ ।

बिरामीहरुलाई सेवा दिन प्रादेशिक अस्पतालमा व्यवस्थापनका लागि प्रदेश सरकारले पहल गरिरहेको पनि उहाँले साक्षी खबरलाई बताउनु भयो ।

‘हामीहरु पनि विद्यार्थीका समस्यामा गम्भीर छौं, चाँडै अस्थायी कोरोना अस्पताललाई तुलसीपुर प्रादेशिक अस्पतालमा व्यावस्थापनको तयारीका लागि आग्रह समेत गरेका छौं’–सुचना अधिकारी पौडेलले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार