२०७९ माघ १७, मंगलबार

ग्वार…..ग्वार…… गौमुखि !

बैशाख ०४, २०७६  | २८४८ पटक पढिएको

– खेमराज रिजाल
४ बैशाख, गौमुखि (प्युठान) / नयाँ वर्षको पहिलो दिन दिउँसो १ बजे घोराहीबाट सुरु भएको थियो गौमुखि यात्रा । पाँच नम्बर प्रदेश लगायत काठमाण्डौँका प्रमुख राष्ट्रिय दैनिक, टिभि तथा अनलाइन मिडियाका सञ्चारकर्मिहरु सम्मिलित गौमुखि मिडिया सम्मेलनको निम्तो मान्न सहकर्मिमित्र सन्तोष सुवेदीसँगको मोटरसाइकल यात्रा गौमुखि गाउँपालिकाको ठुलाबेसीमा रोकियो ।

साँझ साढे सात बजे गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीसँग फोनमा सम्पर्क भयो । ‘म माथि पत्रकार साथीहरुलाइ लिएर ठुलाचौर आइपुगें, भर्खर खोलेको ट्रयाकमा राती समस्या हुन सक्छ, तपाइहरु त्यतै रात बिताएर विहानै यता आउनुहोला’ गिरीले हामीलाइ ठुलाबेसीमै रात कटाउने चाँजो मिलाइसकेका रहेछन् । मकैको आटो, दहिदुध, न्युरोको तरकारीले हाम्रो भान्सो बास्नामय बन्यो, त्यो रात ।

सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा सहित पत्रकार महासंघका अध्यक्ष आदरणीय गोविन्द आचार्य र सुर्य थापा पनि विजुवार बजारमै रोकिएका थिए । मिडियासम्मेलनको स्थान ठुलाचौरमा उनीहरु आइनपुग्दै हामीले गौमुखिको पैदल यात्रा सकाइसक्नुपर्ने थियो । विहानै पाँच बजे हामी लाग्यौं, गौमुखिको यात्रामा । ठुलाचौर पुगेपछि सबै जिल्लाबाट आएका करीव ५० जना पत्रकारहरु जुट्यौं गौमुखिको यात्रामा । स्थानीयले ४५ मिनेटको पैदल यात्रा सुझाइरहेका थिए । तर हामीले पहिल्यै अनुमान गरिसकेका थियौं, हामीलाई वानवे २ घण्टा लाग्ने छ ।
ग्वारग्वार गौमुखि सुरु भयो पदयात्रा । प्राकृतिक सुन्दरताले मनोरम अर्खामा वारीमा पाक्न थालेका मुडुला गौले हामीलाई स्वागत गरिरहेका थिए, गोठमा रहेका कुकुरहरुले हामीलाई स्नेहता प्रदान गरिरहेका थिए । कस्तो छ गौमुखी ?

हामीले सडकमै भेटिएका स्थानीय बहिनी रेखा न्यौपानेलाई सोधेका थियौं । उनको जवाफ थियो, ‘गौमुखि झिमरुक नदिको सीर हो, बुढापाकाका अनुसार उहिल्यै त गौमुखिबाट दुध वर्षन्थ्यो रे, तर अहिले पानी आइरहन्छ । अद्भुत शैलिमा गुफाबाट आएको त्यहि पवित्र जलले स्नानगरे मनोकांक्षा समेत पुरा हुनेछ ।’ रेलिङ समाउंदै सिढि उक्लदा हाम्रो यात्रा केहि सहज पनि भयो, जुनवेला हामीले करिव १ घण्टाको उकालो पारगरिसकेका थियौं । अनकण्टार भिरमा ढुंगा फुटाएर बनाएको बाटोमा पर्यटन विभागले फलामका रेलिङ बनाइरहेको छ । यद्यपि रेलिङ निर्माणको काम अझै पुरा भएको छैन । गाउँपालिका अध्यक्षले भनेका थिए, तपाई गौमुखि पुगिदिनुभएन भने तपाइको
यहाँसम्मको यात्रा अधुरो हुनेछ । मन्त्रीको भाषणले भन्दा पनि गौमुखिको यात्राले तपाइका कलमलाई सृजनशिल बनाउने छ भन्ने उनको अभिव्यक्तिलाइ भुल्न सकेनौं । पुग्यौं गौमुखिमा ।

गौमुखि मेरो थियो, मेरो मुटुको थियो, पहाडी हार्दिकता बोकेको थियो । गौमुखी पुगेपनि सवै पत्रकारहरुको मन फुरुङ भएको थियो । गुफा भित्र रहेको गाइको मुखाकृतिबाट एकतमासले पानी बर्षिरहेको थियो । पुरातात्विक महत्वका विभिन्न आकृतिहरु थिए, गुफाभित्र । न जाडो, न गर्मिको अनुभूति । गौमुखि उत्तरपटिको अग्लो पहाड छिचोल्न सके बाग्लुङ भेटिन रहेछ । तर सडक सञ्जाल नभएकाले गौमुखिबासी स्याउलीवाङ हुँदै बाग्लुङको धोरपाटन पुग्दा रहेछन् । नेपालगञ्जका पत्रकार गजेन्द्र रानाले भनेका थिए, गौमुखि साच्चिकै पर्यटन हो, यसको प्रवद्र्धनमा राज्यलाइ घच्घच्याउने छौं । पत्रकार महिलाहरुपनि हौसिंदै त्यहा पुगिसकेका थिए हामी भन्दा अघिनै । भुटेको मकैभट्ट
र कालो चियाले स्वागत गरियो गौमुखि किनारामा । हामीलाई अर्नि खुवाउन स्थानीय त्यहा पुगीसकेका रहेछन् ।

गौमुखि पुग्न केहि कठिन भएको थियो, किनकि हाम्रो बानी सडक सन्जालले विगारीसकेको थियो, खानपानको खराव आचरणले गलाएको थियो । गाडि नचल्ने ठाउं सायद पर्यटननै होइनन् भन्ने मान्यताले पनि जरो गाडेको थियो । सायद केहि वर्षपछि गौमुखिमा पनि गाडि पुग्न सम्भव छ, विद्युत सेवा सम्भव छ । ठुलाचौरको मिडिया सम्मेलन उद्घाटन गर्दै सन्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भनेका थिए, फेरी अर्को पटक म गौमुखि जानेगरी आउने छु, यसलाइ पर्यटनको गन्तव्य बनाउन सरकार लाग्ने छ । साथै उनले ठुलाचौरको समृद्धि पर्यटनमा छिपेको भन्दै होमस्टे सन्चालनको अवधारणा ल्याउन स्थानिय सरकारलाई आग्रह गरे ।

कार्यक्रममा गाउपालिका अध्यक्ष विष्णु कुमार गिरीले गौमुखि, रेसुंगा, लुम्विनि र स्वर्गद्धारीलाइ लिंक गरेर बृहत पर्यटन गुरुयोजना बनाउन सरकारको सहयोगको अपेक्षा गरे । प्युठानमै जन्मीएर काठमाण्डौलाइ कर्मथलो बनाउंदै आएका पत्रकार सुर्य थापाले प्रदेश नंवर ५ मा पर्यटन विकाशको एकिकृत अवधारणा प्रस्तुत गरेका थिए । पत्रकार महासंघ प्युठान शाखाको आयोजनामा भएको कार्यक्रमको आतिथ्यता गौमुखि गाउपालिकाले गरेको थियो । गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्युठान शाखाका सभापति महावीर रानाले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस