२०७९ माघ १७, मंगलबार

भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

बैशाख ०३, २०७६  | ११९५ पटक पढिएको

३ वैशाख, सुर्खेत / प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।

बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो ।

आजै सुर्खेत आउनुभएका प्रधानमन्त्री ओलीले यसपछि सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । ‘बे्रक थु्र’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित हुनुहुन्थ्यो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस