चारलेन सुस्त, पक्की पुलमा पिच भत्किए

असोज १४, २०७७  |  ३१० पटक पढिएको

१४ असोज, दाङ / राष्ट्रिय गौरवको योजनामा पर्ने घोराहीको कुइरेपानी सम्मको सडक उन्नति गरी चार लेन बनाउने काम रोकिएको छ । यस अघि निर्माण सम्पन्न भैसकेको भनिएका पक्की पुल माथिको पिच भत्किएर खाल्डैखाल्डा परेका छन् । पहिलो पटक पक्की पुलको ढलान माथि गरिएको कालोपत्रे भत्किएपछि दोस्रो पटक पिच गरियो । तर पिच गरेको तीन महिना पनि नबित्दै पक्की पुल माथिका पिच भत्केर खाल्डैखाल्डा पर्दा यातायात सेवामै समस्या भएको नागरिकहरुले बताएका छन् ।

पक्की पुल निर्माण सम्पन्न भएर हस्तान्तरण नै नहुँदै पुलमाथि गरिएको पिच छेदविछेद हुँदा पनि पुल निर्माणको ठेक्का लगाउने र गुणस्तर हेर्ने मध्यपश्चिम सडक डिभिजन कार्यालय भने मौन बसेको छ । अहिले सबैभन्दा बढी समस्या संक्राम खोला पुलमा देखिएको छ भने यो वर्ष सञ्चालनमा आएका गुर्जेखोला पुल, कटुवाखोला पुल र कुइरेपानीको बबई नदी पुलमा पनि यस्तै समस्या देखिएको यातायात व्यवसायी मिनप्रकाश शर्माले बताए । ‘वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्था त छँदैछ, यसले दुर्घटनाको जोखिम समेत बढाएको छ’–यातायात व्यवसायी शर्माले साक्षी खबरलाई भने । पानी पर्नासाथ पुलमा पानी जम्ने समस्याले पुलको आयुमै समस्या हुन सक्ने सडक प्राविधिकहरुले बताएका छन् ।

निर्माण सम्पन्न भैसकेको घोराही–तुलसीपुर सडक खण्डको पक्की पुलमा भने यस्तो समस्या देखिएको छैन । पुल ढलान भैसकेपछि वल्लो पल्लो किनारामा समेत निर्धारित स्लोपमा सडक कालोपत्रे गरेर मात्रै ग्वारखोला पुल सञ्चालनमा आएको हो । ढलानमाथि अर्को ढलान गरेर मात्रै पुल सञ्चालनमा ल्याइएको थियो । ढलानमाथि गरिएको अर्को ढलानले पुलको आयुलाई तोकिएको समयसम्म जोगाइ राख्ने प्राविधिकको ठम्याइ रहेको छ ।

तर पुल सञ्चालनमा ल्याए पनि वल्लो र पल्लो साइडमा सडक ग्राभेल मात्र गरी छाडिदा वर्षातको समयमा संक्राम खोला पुलको वल्लो पल्लो भागमा धेरै मोटरसाइकल र स्कुटीहरु दुर्घटनामा समेत परेको उपभोक्ता अधिकारकर्मी तथा स्थानीयवासी केशव कुमार शर्माले बताए । पुल निर्माणसँगै वल्लो पल्लो किनारामा पनि पिच गरेर कालोपत्रे सडकसम्म जोड्नुपर्ने सम्झौता भए पनि निर्माण व्यवसायीले ग्राभेलमै अलपत्र पारेको आरोप स्थानीयवासीहरुको छ ।

संक्राम खोला पुल निर्माण कम्पनी रौताहा निर्माण सेवाले भने पुलको वल्लो पल्लो किनाराको कालोपत्रे गर्ने काम अब चार लेन सडक निर्माण परियोजनाले नै गर्ने बताएर आफु पन्छिदै आएको छ । साथै पक्की पुलको ढलान माथि दुई पटक पिच गरे पनि भत्किएकाले समस्या भएको बताएको छ । यद्यपि मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराहीले भने पक्की पुलमाथि अब पिच नगरेर फेरी अर्को एक लियर ढलान गर्न निर्माण कम्पनीलाई पत्राचार गरिसकेको बताएको छ ।

‘हामीले निर्माण कम्पनीलाई पत्राचार गरिसकेका छौं, पानी रोकिना साथ काम गर्ने भनेको छ’– मध्यपश्चिम डिभिजन सडक कार्यालयका डिइ निरज शाक्यले भने । अब पक्की पुलको ढलान माथि पुनः ढलान नै गर्न कार्यालयले भनेको पनि उनले बताए । संक्राम मात्र नभएर गुर्जेखोला र बबई नदी पुल निर्माण कम्पनीलाई पनि त्यसरी नै पत्राचार गरेको डिइ शाक्यले बताए । त्यसरी नै वर्षौदेखि आधा काम भएर पनि निर्माण रोकिएको पत्रेखोला पुलको पनि सुपरस्ट्रक्चर स्वीकृत भई भेरीएशनको काम एक दुई दिनमै टुंगोमा लाग्ने डिइ शाक्यको अभिव्यक्ति थियो । अब पत्रे खोला पुल पनि यसै वर्ष निर्माण सम्पन्न हुने शाक्यले बताएका छन् । यस सडकखण्डअन्तर्गत सबै खोलामा पुल निर्माणका क्रममा रहे पनि हापुर खोला र सेवार खोलामा भने पुलको अझै सर्वेसम्म पनि भएको छैन । यस वर्षको वर्षातमा यी तिनै खोलामा आएको बाढीले पटक पटक साना तथा ठुला सवारीसाधनलाई समेत अवरुद्ध पारेको थियो । जिल्लावासीहरुले यी बाँकी रहेका खोलामा पनि पुल निर्माणको प्रक्रिया थाल्न नेताहरुलाई आग्रह गरेका छन् । तर अर्थपूर्ण पहल भने हुन सकेको छैन । बरु पश्चिम दाङको च्याटी खोला र पूर्वी दाङको भालुवाङ–धानखोला सडक खण्डको नजिक पर्ने प्युठान सिमेन्ट कारखानालाई जोड्ने राङसिंह खोलामा भने पक्की पुलका लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले बताएको छ ।

चारलेन सडक सुस्त
यसैबीच राष्ट्रिय गौरवको योजना भनिएको दाङ जिल्लाको कुइरेपानीदेखि तुलसीपुर सम्मको चारलेन सडकको स्तरोन्नतिको काम भने सुस्त मात्र होइन, निर्माण कार्यनै रोकिएको छ । भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले चारलेन सडकको स्तरोन्नतिको जिम्मा लिएको थियो । पहिलो वर्षका केही महिना द्रुतगतिमा काम भएको देखाए पनि निर्माण कम्पनीले गएको चैत महिनादेखिनै सडक निर्माणको काम रोकेको हो । असार महिनामा केही काम गरेको देखिए पनि असार मसान्तपछि भने सडक निर्माणमा एक जना मजदुर पनि लगाइएको अवस्था छैन ।

चार लेन सडक परियोजना लमहीले पनि सडकको निर्माणको काम रोकिएको विषयमा केही आधिकारिक जानकारी गराएको छैन । निर्माण कम्पनीका स्थानीय प्रतिनिधि जनक डाँगीसँग पनि फोन सम्पर्क हुन सकेको छैन । पुल निर्माण सम्पन्न भएर वल्लो पल्लो किनारामा ग्राभेलमात्रै गरेर छाडिएका काम समेत चारलेन सडक निर्माणका क्रममै काम हुने भनिएपछि अझै केही वर्ष दाङका सडक हिलाम्मे र धुलाम्मे हुने अवस्थामा देखिन्छन् । ३३ महिनामा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको चारलेन सडक परियोजनामा केही स्थानमा सडक किनारामा पर्खाल लगाउने र सडक क्षेत्रमा पर्ने रुख कटान गर्ने बाहेकका कुनै पनि काम हुन सकेका छैनन् ।

यससँगै चारलेन सडक परियोजनामा काम गर्ने मजदुरको पारीश्रमिक समेत भुक्तानी नभएको मजदुरहरुले बताउंदै आएका छन् । लकडाउनसँगै मजदुरलाई खालिहात विदाइ गरेपछि सल्यान, रुकुम र जाजरकोटका मजदुरहरु पैदल हिँडेर खालि हात घर जान बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार