२०७९ माघ २४, मंगलबार

हापुरेको मुहार फेरिदै– जक्सन हापुरे, जोइनिङ कर्णाली

फागुन ०५, २०७५  | १५२० पटक पढिएको

खेमराज रिजाल,  हापुरे (दाङ)
हापुरेको वस स्टपमा भेटिएका जुझारु युवा एक तमासले बोलिरहेका थिए, ‘जक्सन हापुरे जोइनिङ कर्णाली’….। ती युवाको नाम झुपलाल बुढाक्षेत्री, पुख्यौली घर जुम्ला हो रे, त्यसैले उनको परिवारलाइ जुम्ली पनि भन्छन् । हाल उनको बुवाको पुस्तादेखिको बसाइ हापुरेमै झरेको रहेछ ।

 

यातायात समितिमा आवद्ध ती युवाको धुलाम्मे कथा थियो, अघिल्लो बर्षसम्म । तुलसीपुरबाट वाइकमा आउंदा हापुरेमा रहेका घरपरीवार सदस्यले नचिन्ने हन्थ्यो, धुलाम्मे शरीर । तर अहिले तुलसीपुर देखि हापुरेसम्मको सडक कालोपत्रे भैसकेको छ । अव हापुरेबाट सुर्खेतको छिन्चु सम्म अर्को बर्ष सम्म कालोपत्रे भैसक्ने योजनाकासाथ काम अघि बढिरहेको छ । कामको ठेक्का कालिका कन्स्ट्रक्शनले लिएकोमा पनि हापुरेबासी अलि बढि आशावादी छन्, चांडै काम सकिनेमा । किनकि कालिका कामी र नामी ठेक्का कम्पनी हो, जसले संझौता मितिमै काम सक्छ । तुलसीपुर—हापुरे—सुर्खेत सडक सन्चालनमा आएपछि कर्णालिबासीलाइ राजधानीसंग जोडिन कम्तिमा ६७ किमि छोटो पर्ने छ ।
अहिले हापुरे जोंसिलो बनेको छ । उत्साहित बनेको छ, अनि हापुरे सोझै कर्णालिसम्म जोडिनेमा आशावादी पनि बनेको छ । पश्चिम दाङको फस्टाउंदो बजार । ‘हापुरे अव कर्णालीसंग जोडिनेमा कुनै शंका छैन, वरु अर्को सडक विकल्प नेपालभारत सिमा बजार सम्मको हो’—हापुरेकै स्थानिय युवा व्यवसायी तथा वाघमारे सहकारीका अध्यक्ष चुडामणि कंडेल भन्छन्, गंगटेलाइ पनि जोड्नेगरी पुर्वपश्चिम राजमार्गको बांके खण्डको चप्परगढि सम्म सडक जोडिंदै छ । त्यसैले पनि अहिले हापुरेमा व्यवसायीक पुर्वाधारहरु विकाश हुंदै छन् । होटल लजदेखि बैंक तथा वित्तिय संस्थाहरुको सहज पहुंचले त्यहांको आर्थिक क्रियाकलापलाइ मलजल थपेको छ । ‘बजार विस्तार र व्यवसाय विस्तार एक साथ अघि बढिरहेका छन्’, युवा व्यवसायी कंडेल भन्छन् बजारको भविश्य आशावादी छ ।
हापुरेलाइ विश्वले चिनेको करीव डेढदशक मात्र भएको छ । किनकि तात्कालिन माओवादीको शशस्त्र जनयुद्ध रोक्न यहां विसं २०६० शालको भदौ महिनामा दोस्रो शान्तिवार्ता भएको थियो ।

तस्वीरमा देखाइएको यो घर, जहां माओवादी र सरकारबीच शान्तिबार्ता हुंदैछ भन्ने घरवेटी शिवलाल खत्रीलाइ समेत थाहा थिएन, हेलिकोप्टर ल्याण्ड गरेपछि मात्र शिवलाल लगायत हापुरे बासिलाइ यहां शान्तिवार्ता हुन थालेको छ भन्ने थाहा भएको हो । ‘त्यसवेला हापुरेले शान्ति खोजिरहेको थियो, अहिले आर्थिक समृद्धि खोजिरहेको छ’, पश्चिम दाङका पुराना पत्रकार तथा हंशपुरमा त्यो वेलाका पिसिओ सन्चालक शेखर शर्मा भन्छन् । जव माओवादी तर्फका वार्ता कमिटि संयोजक वावुराम भट्टराइले सोहि पिसिओवाट विविसीलाइ अन्र्तवार्ता दिएपछि मात्र बार्ता असफल भएको हापुरेबासीले थाहा पाएका थिए, यद्धपि शान्तिको चाहना भने मरेको थिएन ।
बुधवार मुलुकभरी चौविसौं जनयुद्ध दिवस मनाइरहंदा हापुरबासीले भने पन्ध बर्ष अघिको त्यो शान्तिवार्तालाइ स्मरण गरीरहेका थिए । ‘त्यसपछिनै यहांको व्यवसायीक चहलपहल क्रमिक रुपमा बढ्दै गएको हो, अहिले अझै व्यापक रुपमा बढदै गएको छ’, हापुरेका सवैभन्दा पुराना हार्डवेयर व्यवसायी तुलसीराम सुवेदी भन्छन्, अहिले त धेरै हार्डवेयर पशलहरु च्लिरहेका छन् । पश्चिम दाङको पर्यटकिय गन्तव्यका साथै कर्णालि ट्रान्जिट पनि बनाउन खोजेका छन्, स्थानियबासीहरुले हापुरे बजारलाइ । त्यसैले त विकाशमा साथ साथ छन् उनीहरु । हापुरे बजारभरी १२ मिटर चौडा सडक कालोपत्रे गर्ने अन्तिम तयारी भैरहेको छ, यद्धपि अन्य सडक खण्डमा भने ७ मिटर चौडा मात्र सडक कालोपत्रे भएको छ । ‘बजारभरीको सडकलाइ १२ मिटर चौडा बनाउंदै छौं, त्यसमा सवै बजारबासीको ऐक्यवद्धता छ’, स्थानिय स्वर्गद्धारी लजका सन्चालक आशिश सुवेदी भन्छन्, यहां कुनैपनि स्थानियबासी विकाश विरोधी छैनन् । सडकमा पानी वग्ने उपयुक्त नाला सहित ठाउंठाउंमा वाइपास कल्भर्टहरु समेत निर्माण भैरहेका छन् । बजारमा सवथोक सामाग्रि पाइन्छन् । शिलाइ कटाइ केन्द्र देखि होम डेकोरका सामाग्रिहरु सम्म । दर्जनजति वित्तिय संस्था सन्चालनमा छन्, चाहिएको वेला अधिक्तम १० लाख रुपैया सम्म त्यहिंकै बंैकबाट तत्काल निकाल्न सकिन्छ ।

 

गाउंपालिकाले आर्थिक समृद्धिका योजनाहरु बुनिरहेको छ । भर्खरै सम्पन्न भएको गाउंसभाले अनुमोदन गरेका योजनाहरुलाइ कम्प्युटरमा लिपिवद्ध गरीरहेका छन् गाउंपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल । ‘दाङ—कर्णालि सडक सन्जालले जोडिनेमा कुनै कन्फ्युज छैन, हामी त हापुरेलाइ सोझै पुर्वपश्चिम राजमार्गसम्म जोड्न अभ्यस्त छौं’—गाउंपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल भन्छन् । त्यसकालागी हापुरेबाट गंगटे सम्मको २३ किलोमिटर सडक ग्राभेलकालागी ठेक्का भैसकेको छ । त्यसकालागी प्रदेश सरकारले १ करोड ३१ लाख बजेट समेत विनियोजन गरीसकेको छ । त्यसपछि गंगटेबाट पुर्वपश्चिम राजमार्गको चप्परगढिसम्म जोड्नकालागी डिपिआर समेत भैसकेको ववइ गाउंपालिकाले जनाएको छ । यो सडक निर्माण सम्पन्न भए दाङकै कर्णालि भनेर चिनिने गंगटे पनि सडक सन्जालको मुल प्रवाहमा आउने छ । हापुरेलाई गाउंपालिकाको केन्द्र बनाइएको छ । बांकि दुर्गम बस्तीमा सडक सन्जाल र विद्युतिकरणको अभियानमा पड्को मारीरहेको छ । ‘असार सम्म गंगटेमा बत्ति बल्ने छ’, गाउंपालिका उपाध्यक्ष सावित्रा विक भन्छिन्, त्यसका लागि ५ किलोमिटर पोल गाड्ने र तार तान्ने काम समेत सम्पन्न भैसकेको छ, बांकि स्थानमा पोल खसालीसकिएको छ । साथै गाउंपालिकाले असारमा ‘विकाश होलिडे’ मनाउने तयारी समेत गरेको छ । सावित्रा भन्छिन्, ‘हाम्रा कम्तिमा ६५ प्रतिसत विकाश निर्माणका योजनाहरु सम्पन्न भैसकेका छन्, बांकिलाइ फागुन मसान्त सम्म संझौताको अन्तिम समय दिएका छौं । बैसाख मसान्तसम्म सवै विकाश निर्माणका काम सम्पन्न भैसक्ने पनि गाउंपालिकाले दावी गरेको छ । असार महिनामा कुनैपनि विकाश निर्माणका काम नहुने उनले बताइन् । असार महिनाभरी गाउंपालिकाले आगामी आर्थिक बर्षका लागि योजना बनाउने छ ।

त्यसैगरी हापुरेलाइ सल्यान सदरमुकामसंग जोड्ने सडक निर्माणलाइ पनि गाउंपालिकाले प्रार्थमिकतामा राखेको छ । हापुरेबाट निर्माणधिन सिमेन्ट कारखाना हुंदै सल्यानको अंखेला जोडिने सडक निर्माण हुंदै छ । जम्मा १५ किमि सडक निर्माण भएपछि पश्चिमको तितिलेख पारगरी सल्यानसम्म सडक जोडिने बताइएको छ । यसकालागी पनि अघिल्लो आर्थिक बर्षमा १ करोड २५ लाख रुपैया बजेट केन्द्रिय सरकारले विनियोजन गरेको थियो । हापुरेबासीको सामुहिक उद्घोष छ, शान्ति ल्यायौं, अव समृद्धि……।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस