२०७९ माघ २६, बिहीबार

रिचेमा खानेपानी गोलमेच

चैत्र २४, २०७५  | १२७६ पटक पढिएको

खेमराज रिजाल
२४ चैत ।रुम्टिगढि(रोल्पा), रोल्पा जिल्लाको रुम्टिगढि गाउपालिकामा पर्ने रिचेमा शुक्रवार खानेपानी गोलमेच सम्मेलन सम्पन्न भएको छ । खानेपानीको सहजता संगै स्वच्छ खानेपानीकालागी शुक्रवार भएको यो तेस्रो गोलमेच सम्मेलन हो यो । वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरीने खानेपानीको मुहान क्षेत्र रहेको सो स्थानमा सोनापुर सिमेन्टको खानी क्षेत्र पहुंच सडक निर्माणका कारण मुहानमा लेदो बग्न थालेपछिको समस्या समाधानकालागी तीन बर्ष अघि गोलमेच सुरु भएपनि तार्किक निश्कर्षमा पुगेर काम हुन सकेको छैन ।
शुक्रवार खानेपानी उपभोक्ताहरु, राजनितिक दलका प्रतिनिधिहरु, सन्चारकर्मिहरु, सिमेन्ट उद्योगका अधिकारी, जिल्ला खानेपानी डिभिजनका प्रतिनिधि, सडक डिभिजन कार्यालयका प्रतिनिधि, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे सहित १७ र १८ वडाका वडाध्यक्षहरु सहित सन्चारकर्मिहरुसमेतको उपस्थीतिमा मुहान क्षेत्रको स्थलगत अनुगमनपछि भएको खानेपानी गोलमेच सम्मेलनमा खानेपानीको मौलिक अधिकार सुनिश्चित गर्न साझेदारीताको अभ्यास थाल्ने मात्रै सहमती भयो । जसकालागी डिपिआर तयार गरी अघि बढ्ने एकसुत्रिय निर्णय भएको छ ।

खानी क्षेत्र पहुंच मार्ग बनाउने क्रममा लेदोमाटो खस्दा मुहानै पुरिएर धमिलो पानी प्रशोधनमै समस्या आयो, अझै उत्खनन् सुरुहुंदै जांदा त्यसले मुहाननै सुकाउने होकि भन्ने आशंकालाइ निराकरणकालागी आयोजना गरिएको रिचे गोलमेच सम्मेलनमा सरोकारवाला सवै निकायले नैतिक, कानुनी एवं सामाजिक उत्तरदायित्वको शेयर गरी समस्याको समाधान गर्ने सहमती भएको छ । अनौपचारीक गोलमेच सम्मेलनमा वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतमले संस्थाले वितरणगर्ने पानीको मुहाननै संकटमा पर्न थालेको बताउंदै विषयप्रवेश गराएपछि गोलमेच सम्मेलनले आउंदो बर्षात अघि मुहानमा लेदो बग्न जोगाउने एउटा अभियान र पानीको मुहाननै संकटमा आउने सम्भावना आएमा अर्को दिर्घकालिन कार्ययोजनाको समेत प्रस्ताव गरेको थियो । यद्धपि यी दुवै प्रस्तावलाइ लिपिवद्ध गरी आधिकारीक निर्णय प्रक्रिया भने सुरु हुन सकेन ।

यस अघि भएका दुइवटा सम्मेलनले यस सन्दर्भमा एउटा विस्तृत प्रतिवेदन पनि तयार पारेको थियो, तर प्रतिवेदन कार्यान्वयनमा कुनैपनि निकायबाट पहल भएन । अघिल्लो बर्षातमा संस्थाका पदाधिकारीहरु धारामा आएको धमिलो पानी लिएर जिल्ला प्रशासन कार्यालयमा डेलिगेशनमा पनि गए, एउटा सहमती पनि भयो, तर कार्यान्वयन हुन सकेन । अनुगमन र गोलमेचले सार्थक निर्णय गर्न सकेन भने आसन्न बर्षातको मौसममा पनि वेलझुण्डि खानेपानीबाट वितरण गरिएका एक हजार २ सय धारामा आएको धमिलो खानेपानीबाट कम्तिमा २० हजार उपभोक्ता प्रभावित हुने छन् ।
‘निर्णय कार्यान्वयन नहुनुको प्रमुख कारण मुलुकका संबन्धित निकायहरु लगामविहिन हुनु थियो, तर अव जनप्रतिनिधिहरुकै उपस्थीतिमा भएको स्थलगत अनुगमन र सम्मेलनले हामीलाइ सुद्ध पानी पाउने संविधान प्रदत्त अधिकारप्रति आशावादी बनाएको छ’—गोलमेच सम्मेलनमा उपभोक्ता इश्वर पोख्रेलको अभिव्यक्ति थियो । त्यसैगरी उपभोक्ताहरुको संविधानप्रदत्त पानीको अधिकारलाइ अव जनप्रतिनिधिसहितको सम्मेलनले सम्वोधन गर्ने अन्य उपभोक्ताहरुको पनि आशा थियो । यद्धपि पानीको मुहानै पुरीने गरी सडक निर्माण गरीरहेको मध्यपश्चिम डिभिजन सडक कार्यालय र सहज खानेपानीको आपुर्तिको नेतृत् वगर्ने जिल्ला खानेपानी डिभिजन कार्यालयले भने आफ्नो दायित्वलाइ गम्भीरता पुर्वक लिन सकेनन्, तीनै सम्मेलनमा ।
‘हामीलाइ सडक निर्माणसंगै ग्याविन वालको मात्रै बजेट आउने हो, तर मुहानैमा इन्टेक निर्माणकालागी भिन्नै शिर्षकको पैसा आउंदैन’—सम्मेलनमा मध्यपश्चिम डिभिजन सडक कार्यालयका प्रतिनिधिले भने । कार्यालय प्रमुख भने अझैसम्म पनि सो स्थानमा स्थलगत अनुगमनमा जान चाहेका छैनन् । त्यसैगरी डिभिजन खानेपानी कार्यालयका प्रमुख पनि मुहानको त्यो सम्वेदनशिलता बुझ्न गम्भीर देखिंदैनन्, किनकि अघिल्लो बर्ष सोहि कार्यालयले बनाएको प्रतिवेदन कार्यान्वयनमा स्वयम खानेपानी डिभिजनले आफ्नो दायित्व किटान गर्न सकेन । ‘हामीलाइ बजेट क्रमांगत योजनाकालागी मात्र आउने हो, अरु बजेट त प्रदेश सरकार र संघसंग माग्ने हो, हाकिमसावलाइ भनौंला’—खानेपानी कार्यालयका सव इन्जिनियरको अभिव्यक्ति थियो ।
‘उपभोक्तालाइ झुक्याउनेगरी फेरी कागज रंगिन नबनाऔं, किनकि अवको अपेक्षा उपभोक्तालाइ स्वच्छ पिउने पानीको सुनिश्चितता हो, त्यसमा कुनै संझौता हुन सक्दैन’—तुलसीपुर उपमहानगरपालिका—१७ का वडाध्यक्ष तथा उपभोक्ता थलराज पुरी भन्छन्, समस्या समाधानकालागी अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम थालौं ।’ तुलसीपुर उपमहानगरपालिका—१८ का वडाध्यक्ष माधव वलीले पनि वातावरणमैत्री उद्योग सन्चालन संगै उपभोक्तालाइ स्वच्छ पानीको ग्यारेन्टी अव जनप्रतिनिधिहरुले गर्ने उद्घोष गरे । कार्यपालिका सदस्य देवराज विश्वकर्माले पनि सुद्ध खानेपानी उपभोक्ताको नैसर्गिक अधिकार भएकाले यसमा सवै सरोकारवाला निकायले सामुहिक दायित्व लिनुपर्ने अपेक्षा गरे ।

जिल्लाकै पुरानो खानेपानी योजनाका रुपमा रहेको यो योजनामा देखिएको समस्या समाधानकालागी तत्कालकालागी रिचे क्षेत्रको मुहान जोगाउने योजना सार्वजनिक गरिएको थियो । त्यसकालागी सेडिमेन्टेशन ट्यांक निर्माण र लेदो रोक्न तटवन्ध निर्माण हो । यसकालागी अघिल्लो बर्षनै कम्तिमा ९५ करोड रुपैयाको बजेट प्रस्ताव गरिएको थियो । त्यसमा कामको सुरुआतमा केहि रकम खानेपानी संस्थाले हाल्ने, केहि सडकले, केहि हिस्सा सोनापुर सिमेन्टले पनि सामाजिक उत्तरदायित्व अनुरुप सहयोग गर्ने र जिल्ला खानेपानी डिभिजन कार्यालयले पनि केहि हिस्सा रकम उपलव्ध गराइ काम सुरु गर्ने प्रस्ताव गरिएको थियो ।
सोनापुर सिमेन्ट उद्योगका सिइओ हरी पाठक भन्छन्—‘काम सुरु गर्नुस, हामी केहि हिस्सा सहयोग गर्न तयार छौं भनेकै छौं, तर अस्वाभाविक आर्थिक दायित्व कारखानाले लिन सक्दैन ।’ आफुहरु वातारणिय विनासप्रति सधै गम्भीर रहेको बताउंदै मुहानै पुर्नेगरी चुनढुंगा उत्खनन् नहुने बताए । वेलझुण्डि खानेपानीको रिचे मुहान उत्खनन् स्थलकै मुनी छ । उत्खनन्का क्रममा खस्ने माटोले मुहानै पुरीन पनि सक्छ । ‘चुनढुंगा उत्खनन्का क्रममा हामीले चारैतीर ढुंगामाटो खस्न नपाउनेगरी पर्खाल समेत लगाउन थालेका छौं, किनकि हामी समाजमा सधै वादविवाद सृजन ागर्न चाहन्नौं’—पाठकले भने, उद्योग चलाउंदा समस्या आउंछन्, समाधान पनि हुंदै जान्छन्, वातावरणमैत्री काम नगरे खानी विभागले हाम्रो लाइसेन्स सहजै खारेज गर्न सक्छ ।

बैधानिकतामा अल्झाइयो समस्या
यसैबीच अघिल्ला बर्षदेखिनै थालिएको अभियानलाइ यो सम्मेलनले बैधानिकतामा अल्झाएको छ । किनकि समयावधि सकिएको वेलझुण्डि खानेपानी संस्थाको अर्को निर्वाचन हुन सकेको छैन । त्यसैले समितिलाइ अविछिन्न आर्थिक अधिकारका विषयमा पनि प्रश्न उठाउन थालिएको छ । बैधानिकता विना कुनैपनि योजना कार्यान्वयन नहुने भन्दै तत्काल चुनावको अपेक्षा गरीयो । यद्धपि चुनाव कस्ले रोकेको हो? कुनैपनि निकाय बोल्न चाहेका छैनन् ।
सम्मेलनमा नगरप्रमुख घनश्याम पाण्डेले यो समस्यामा उपमहानगरपालिका गम्भीर भएको भन्दै शुक्रवार विहानै सम्पन्न कार्यपालिका बैठकले वेलझुण्डि खानेपानीको समस्या समाधान गर्न यो संस्था आश्रित १६, १७ र १८ र १९ वडाका अध्यक्षहरुलाइ जिम्मेवारी दिइसकिएको बताए । ‘संस्थालाइ संपुर्ण आर्थिक अधिकार नभएको सन्दर्भमा दिर्घकालिन बजेट माग्नै मस्कील भएको छ, जतिसक्दो चांडो कार्यसमितिलाइ बैधानिक बनाऔं’, पाण्डेले भने, सके सहमतीमा नेतृत्व नभए निर्वाचन प्रक्रियामै गएर पनि विधानसम्मत नेतृत्व चयन गरौं ।’ जनमैत्री उद्योग, जनमैत्री उद्योग प्रशासन र उद्योगमैत्री समुदाय निर्माण हुन आवस्यक रहेको बताउंदै उद्योगहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सन्चालन हुनुपर्ने बताए । साथै खानेपानीको मौलिक हकमा कुनैपनि निकाय बाधक बन्न नहुने भन्दै समस्याको समाधानकालागी उपमहानगरपालिकामा संबन्धित कार्यालयका प्रमुखसहित अर्को बैठक बस्ने पनि उनले बताए । ‘हामी आयौं, हेर्यौ, ढुक्क हुनुस्, अव रिचेमा अर्को पानी सम्मेलन गर्नुपर्ने छैन, समस्यालाइ सहकार्यमा समाधान गर्ने छौं ।’

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस