माडी र शारदाले सिञ्चिएला दाङ उपत्यका

साउन २१, २०७७  |  ३८४ पटक पढिएको

गोकर्ण पौडेल, २१, साउन बिजौरी /माडीको पानी दाङमा आउने रे । धेरै हल्ला ठानेँ कतिपयले चुनावी नारा सम्झिए । साँच्चिक्कै माडीको पानी दाङमा झर्ला त ?

नेताहरुका लागि चुनावी नारा बनेको शारदाको पानी दाङ उपत्यका लागि त सम्भव नै देखिएन् । किनकी वातावरणीय दृष्टिकोणले नदीको बहावको पानी १३ देखि २६ प्रतिशत मात्रै अन्यत्र लैजान पाउने प्रावधान रहेको छ ।

यस्तो अवस्थामा शारदाको पानी दाङमा आउने सम्भावना पूर्णरुपमा अन्त्य भएको छ भनेँ माडीको पानी दाङ उपत्यकामा झार्नका लागि भनेँ सिचाई विभागले प्रारम्भिक सम्भाव्यता अध्ययनको काम सम्पन्न गरेको छ  ।

प्रारम्भिक अध्ययनअनुसार २५ किलोमिटर सुरुङ मार्ग खनेपछि मात्रै माडीको पानी दाङको हापुर खोलामा झर्ने छ । जुन पानीबाट ४० हजार हेक्टर क्षेफलमा सिंचाई सुविधा पुर्याउँन सकिनेछ । मेलम्ची सपना २०४८ सालमा कृष्णप्रसाद भट्टराईले देखेका थिए तर तीस वर्ष पुग्दा समेत अझै काठमाडौ उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन् ।

मेलम्चीको पानी काठमाडौमा झार्दा राज्यको २५ अर्ब खर्च भएको छ जुन २६ किलोमिटर सुरुङ खन्नुपर्ने थियो यता माडीको पानी दाङमा झर्नका लागि २५ किलोमिटर सुरुङ खनेपछि दाङ उपत्यकामा पानी झर्नेछ ।


प्रारम्भिक चरणमा सिंचाई विभागले अध्ययन गर्दा माडीको पानी दाङमा ल्याइ विद्युत उत्पादन गर्ने योजनाका साथ काम अघि बढाइएको थियो तर चिनिया राष्ट्रपति नेपाल आएको बखत गरिएको सम्झौताअनुसार माडीको पानी सिंचाई विभागले अध्ययन गरेको एक किलोमिटर दक्षिणमा ड्याम बनाई विद्युत उत्पादन गर्ने सहमति तय भएको छ ।

त्यसैअनुरुप लगानी बोर्डमार्फत त्यसका लागि जल विद्युत विकास कम्पनीले सम्भाव्यता अध्ययनको काम अघि बढाएको छ । माडीमै जलाशय निर्माण गरी जल १५६ मेघावाट क्षमताको जलविद्युत उत्पादन गर्न सकिने जल विद्युत विकास कम्पनीका नायब महाप्रबन्धक अरुण रजौरे बताउनुहुन्छ  ।

जलाशयबाट विद्युत उत्पादन गरी त्यहाँको पानीबाट ४० हजार हेक्टर क्षेत्रफलको जमिन सिञ्चाई गर्न सकिनेछ । चिनिया कम्पनीले अध्ययनको प्रक्रिया बढाएको छ ।


एउटा झिनो आशामा कतै तुषारापात लाग्ने कि भन्ने आशङ्का उत्पन्न भएको छ । पक्कै पनि एउटा झिनो आशाको किरणले मरुभूमिमय बन्दै गरेको दाङलाई उर्वराभूमिमय दाङ पक्कै बनाउन सक्नेछ ।

हरेक समस्या समाधानका उपायहरु लिएर नै आएका हुन्छन् । यहाँ देखिएको समस्यामा पनि समाधानका उपाय पक्कै देखापर्नेछन् । दाङ उपत्यकामा खेती योग्य जमिन ५६ हजार हेक्टर रहेको छ । ५६ हजार हेक्टर जमिनमध्ये करिब २९ हजार हेक्टर क्षेत्रफल सिञ्चित भूमि रहेको छ ।

बाह्रै महिना पानी त पुग्दैन तर दुई बाली उत्पादनमा भने २९ हजार हेक्टर क्षेत्रफलमा सिचाई हुँदै आएको छ भनेँ बाँकी २७ हजार हेक्टर क्षेत्रफलको भूमि भनेँ सिचाईविहिन अवस्थामै रहेको छ । दाङ उपत्यकामा पानी झारेर मात्रै सम्भव छैन ।

त्यसका लागि ग्वार खोलामा हाइ ड्याम समेत बनाउनुपर्ने देखिन्छ । दाङका खोलाहरु सुक्दैछन् । ग्वारबाहेक अरु खोलाहरु खहरेकैरुपमा देखा पर्दैछन् ।

यस्तो अवस्थामा माडीको पानी दाङमा ल्याउन अति जरुरी भइसकेको छ । यस कार्यमा यहाँका नेतृत्वगण अग्रसर हुनुपर्ने देखिन्छ ।

दाङ उपत्यका एसियाकै सुन्दर उपत्यका हो तर मरुभूमिमय बन्न थाल्यो भनेँ यहाँको सुन्दरता र अस्तित्व माथि नै प्रश्न खडा हुन सक्छ ।

जसरी आजभन्दा पचासवर्ष अघि दाङका खोलामा बाह्रै महिना पानी बग्दथे भन्ने कुराको प्रमाण हामी जिल्ला समन्वय समितिको गेट नजिकै समाजसेवी पण्डित टेकनाथ गौतमको शिलालेख प्रमाणकारुपमा हामीलाई राखिदिनुभएको छ ।

हामीले त वर्षायाममा खोला बगेको देखेका छौ तर हाम्रा पुस्ताले खोला पनि देख्न नपाउने अवस्था सिर्जना नहोस् भन्नका लागि पनि माडीको पानी दाङमा र सम्भव भएसम्मका खोलामा हाइड्याम बनाउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार