‘फेरिदै बेलझुण्डी रङ्गशालाको स्वरुप, स्विमिङ पुल र फुटबल स्टेडियम बन्न बाँकी’

असार २४, २०७७  |  ३२५ पटक पढिएको

२४ असार, दाङ / जग्गा स्वामित्व पाएको तीन दशकसम्म बेवारिसे अवस्थामा रहेको बेलझुण्डी रङ्गशालाको अहिले भनेँ स्वरुप नै परिवर्तन भएको छ । स्थानीयवासीहरुका लागि गाई बाख्रा चराउने थलो बनेको बेलझुण्डी रङ्गशाला भने अब साच्चिकै रङ्गशाला जस्तै बनेको छ ।

चारैतिर पर्खालले घेरिएको क्षेत्र बिचमा बनेको फुटबल खेल मैदान, मैदानको बिचौबिच छेऊ भागमा भि आ पि प्याराफिट, मैदानमा हरियो दुबो यो मनमोहक दृश्य हो रङ्गशालाको । घोराही तुलसीपुर सडकखण्डको बेलझुण्डीमा रहेको रङ्गशालामा अचेल खेलाडीभन्दा तस्बीर खिच्नेको भीड नै लाग्ने गर्छ । २ वर्ष अघि कसैको नजर नपुग्ने ठाउँमा अचेल धेरैको नजर पुग्ने गरेको छ । ४ सय ६२ सिट क्षमता रहेको भि आइ पि प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इन्जिनियर आशकुमार रायले जानकारी दिए । एथलेक्टिस टूयाक सहितको फुटबल मैदानमा भने आठौ राष्टिूय खेलकुदका विभिन्न खेलहरु सम्पन्न भएका थिए ।

२४ करोड २४ लाख ४५ हजार २सय ९३ रुपियाको लागतमा सेन्थेटिक एथलेक्टिस ट्रयाक, फुटबल मैदान,नाली निर्माण, भि आइ पि प्याराफिट, मिडिया घर निर्माण र साधारण प्याराफिट निर्माण भएका हुन् । २०७५ असार ७ गते सम्झौता भई सम्झौताको ८महिना भित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने भएपनि राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रदेश एक्सपोका कारण काममा ढिलाई भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

असार महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरी राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरणको गरिने निर्माण कम्पनी दिवा एम ए प्रतिष्ठान कन्ट्रक्सन जेभि काठमाडौका इन्जिनियर आशकुमार रायले जानकारी दिए । १५ बिगाहा क्षेत्रफल रहेको खेलकुद विकास समितिको जग्गामा गुरु योजनाअनुसार अब फुटबल मैदान र स्वीमिङ पुल निर्माण कार्य बाँकी रहेको कार्यालय प्रमुख शान्ति सोमैले जानकारी दिए ।

निर्माण गरिएका संरचना हस्तान्तरण पश्चात् विकास समितिले व्यवसायीकरुपमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि समेत शुल्क लिएर उपलब्ध गराउन सकिने कार्यालय प्रमुख सोमैले बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयले खेलकुद विकास समितिलाई २०४५सालमा १५ बिगाहा जग्गा हस्तान्तरण गरेको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७मा रहेको रङ्गशालाको जग्गा स्थानीयले अतिक्रमण गर्न थालेपछि दाङ जिल्ला खेलकुद विकास समितिले अतिक्रमणको हटाउन पहल सुरु गरेको तत्कालीन खेलकुद विकास समितिका उपाध्यक्ष हिमबहादुर डाँगीले जानकारी दिए । रङ्गशाला व्यवस्थापनका लागि लागि प्रदेश सरकारबाट बजेटका लागि आफूले पहल गरिरहेको डाँगीले बताउनुभयो ।

यता खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष डिल्ली डाँगीले गुरुयोजनाअनुसार बेलझुण्डी रङ्गशालामा स्विमिङ पुल र फुटबल स्टेरियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले बजेट विनियोजन गर्न नसक्दा दाङको खेल क्षेत्रमाथि नै खेलवाड गर्न खोजेको आरोप लगाउनुभयो । आफ्नो कार्यकालमा खेलकुद विकास समितिको जग्गा अतिक्रमण गरी बसेका २८ वटा घर टहरा हटाइएको दाबी गर्नुभयो । डाँगीले भने ‘जग्गा अतिक्रमण गरी बसेका घर टहरा हटाएर चारैतिर पर्खाल लगाएका छौ, अब कसैले अतिक्रमण गर्न सक्ने छैनन्’ ।

अतिक्रमित जग्गा हटाउने क्रममा स्थानीयहरुबाट असहयोग भएका कारण काम गर्न निकै कठिनाई उत्पन्न भएको डाँगीले बताए । घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा रहेको खेलकुद विकास ४५ बिगाहा जग्गा हटाउनका लागि प्रयास गरेपनि सार्थकता प्राप्त गर्न नसकिएको बताए । रामपुरमा रहेको जग्गा अतिक्रमण हटाउनका लागि राष्ट्रिय खेलकुद परिषद्का योजना प्रमुख, मन्त्रालयबाट सहसचिव सहितको टोलीलाई पुर्याउँदा पनि कुनै पपहल नगरिएको डाँगीले बताए ।

अतिक्रमित जग्गामा पक्की घर, टहरा बनाएर बसेका छन् भने प्लटिङ गरेर जग्गा बिक्रि गरेको प्रमाण फेला परेको छ । अतिक्रमित क्षेत्रमा ३० घरधुरी बनेका छन् । पटक पटक राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वसंग अतिक्रमित जग्गामा खेलकुद ग्राम बनाउन र खेल प्रशिक्षण केन्द्रका रुपमा विकास गर्नका लागि पहल आग्रह गरिएको डाँगीले बताए । यता दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जिल्लामा खेलका भौतिक संरचना बन्नु राम्रो कार्य भएको बताए । ऐलानी, पर्ति जग्गा अतिक्रमणको चपेटामा परेका छन् यो अवस्थामा खेलमैदान हुन खेलाडीहरुका लागि सुखद कुरो हो पुनले भने ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार