मधुकर प्यास

असार १९, २०७७  |  ३४९ पटक पढिएको

छन्द : मालिनी

तन चहकिन लाग्यो कोपिला फक्रिनाले
मन बहकिन लाग्यो बैँसले पक्रिनाले ।
दिनदिन वय खिल्दै दामिनी रूप चन्द्र
मदनगृह रमाई पस्छु भन्दै छ भृङ्ग ।।

हरपल मुख न्यारी मोहिनी शुभ्र तन्वी
अधर जहरिली छौ स्पर्श विस्फोट अङ्गी ।
चपल युगल नेत्री रागिनी ताल नाच्दी
अतिशय सुकुमारी काम उत्ताल साँच्दी ।।

थकित पुररुवाकी उर्वशी स्वप्न रानी
चकित मन विहारी प्यासकी तीव्र खानी ।
मचमच दिल मथ्ने कामिनी मेघमाला
मधुकर उर गुच्छा चुम्न चाहन्छ गाला ।।

चमचम शशि चम्क्यो रातमा मात भर्दै
छमछम कर बाला छन्कियो बात गर्दै ।
अयि ! प्रणय पियारी गामिनी राजहंशी
हृदय तट हुँडल्ने छेडिद्यौ राग वंशी ।।

सुरभित मद प्याला छल्किँदै छल्किँदै छ
दिनकर पनि टाढा अस्तमा ढल्किँदै छ ।
निकट – निकट आऊ नागिनी बाहु बेर
विकल छ बबुरो यो प्यारले कण्ठ सेर ।।

दनदन तन ज्वाला भड्किएको छ आज
उपवन तरु सुक्दै तड्पिएको छ आज ।
अलिकन जलकुण्डी शालिनी खोल आज
भ्रमर पिउन चाह्यो मालिनी झोल आज ।।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार