२०७९ माघ १३, शुक्रबार

मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

चैत्र १८, २०७५  | १०४३ पटक पढिएको

१८ चैत, धनुषा / गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ ।

आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २७ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ७०० घाइते उपचाररत छन् ।

उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भन्नुभयो, “हामीले प्रत्येक मृतकलाई रु तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौँ उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।”

त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।

उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै दुःख प्रकट गर्नुभएको छ ।

गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभयो ।

आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गर्नुभएको छ ।

उहाँले घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस