छाती छोएर भनौँ– ‘रेलमार्ग’ कि ‘धावनमार्ग’ ?

जेठ १९, २०७७  |  ४५८६ पटक पढिएको

दाङको नारायणपुरमा नयाँ एयरपोर्ट रच्नका लागि बजेटले सम्बोधन गरेको छ । यस विषयमा दङ्गाली फेसबुके मित्रहरूमा कतै अतिरेक हर्ष र कतै व्यङ्ग्य–कटाक्षका वाणहरू वर्षिएका देखिन्छन् । सामान्यतः निर्माण वा रचनात्मक कार्य आफैमा सुखद् घटना हो । अझ हामी दाङवासीका लागि यो थप उत्साहको विषय हो । एउटा एयरपोर्ट तुलसीपुरमा हुँदाहुँदै अर्को एयरपोर्ट किन ? बरू पुरानैलाई विस्तार गरी अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट बनाए भइहाल्थ्यो नि भन्ने केही अभिमत पनि देखिन्छ, जुन अस्वाभाविक हैन । एयरपोर्टको विस्तारका लागि आवश्यक पर्ने भूमिको उपलब्धता र मुवाब्जास्वरूप लाग्ने धनराशिले पनि त्यसमा अर्थ राख्दछ । कालान्तरमा अन्तर्राष्ट्रिय विमानस्थल नै बनाउनुपरेमा नारायणपुर जति उपयुक्त ठाउँ छ, त्यति तुलसीपुरमा नभएको धरातलीय यथार्थ सबैले स्विकार्नुपर्दछ ।
राजनीतिको तुस पोखिइरहन्छन् हामीकहाँ । विपक्षीले गरेका राम्रा कार्यलाई पनि कमलपित्तका आँखाले हेर्नु राजनीतिको धर्म नै भएको छ । यसो गर्दा राजनीतिक बढुवा त हुन्छ तर देशले घाटा व्यहोरिरहनुपर्दछ । सरकारले गरेको घोषणामा विपक्षीले जेजस्तो भने पनि कार्यको थालनीमा तीव्रता आयो भने त्यस्ता फत्तुर लगाउनेहरू आफै किनारा लाग्दछन् । तर घोषणा गर्दैमा रजत जयन्ती मनाउन थालेकोजस्तो हर्षबढाइँ अहिल्यै गरिहाल्नु पनि ठिक हुँदैन ।

सामान्य नियम के हो भने जब दुई अतिवादी पक्षको विचार आपसमा बाझिन थाल्दछ, त्यस्तोमा सामान्य जनको अभिमत निष्कपट मानिन्छ । यसलाई तेस्रो दृष्टि वा आयाम मानिन्छ । त्यो मत कम्तीमा सङ्कीर्णताको घेराबाट अल्लि मुक्त हुन्छ र सत्यका साना झरना बग्न थालेका हुन्छन् । यहाँ एक थरी देखिन्छन्, जो सरकारी घोषणालाई आफ्नै व्यक्तिगत पुरुषार्थको रूपमा ग्रहण गर्दछन् र कदाचित् उक्त योजना पूरा नहुँदा फेरि दोस्रो पक्षको टाउकामा खन्याइदिन्छन् । अर्को विपक्षी पक्ष आफ्नो लोकप्रियता भत्किने डरले त्यसलाई सकेसम्म विफल बनाउने तर्फ केन्द्रित हुन्छन् । म यी दुवै अतिवादलाई किनाराबाट हेर्ने र आफ्नै किसिमले मूल्याङ्कन गर्ने प्राणी हुँ । मेरो विचार आग्रह र विग्रहका रसानयबाट टाढा छ । तथापि यसमा कसैको चित्त दुखिहाल्नेछ, किनकि यो संसारमा मान्छेबाहेकका जीवलाई खुसाउन सकिन्छ तर मान्छेलाई चित्त बुझाउन सकिन्न ।

मैले माथि नै भनेको छु,– हरेक राम्रा सृजना उपकारक हुन्छन् । सृजनाको नाम नै सकारात्मकता हो । दाङमा दुईवटा होइन, दशवटा विमानस्थल हुनु असाध्यै सुन्दर घटना हो यदि देशको स्रोत र साधन पर्याप्त छ भने । राज्यको ढुकुटी बलियो भएको अवस्थामा गरिनुपर्ने काम नै यस्तै भौतिक पूर्वाधारको निर्माण हो । अझ अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सक्ने हो भने दाङको पर्यटन क्षेत्रको विकास पनि हुने र पछिल्लो चरणमा विदेशमा गएका दङालीहरूलाई आफ्नै भूमिमा आरोहण, अवतरण गर्न सजिलो हुने देखिन्छ । तर रचनात्मक कामको प्रशंसा गर्दै गर्दा कतै मनको लड्डु घ्युसित खाने स्थिति त हुँदैन ? यसतर्फ सावधान हुनैपर्दछ । रचनात्मक योजना अघि सार्दा राष्ट्रिय वित्तीय स्वास्थ्यको अवस्था, योजनाको प्रथमिकता र उपादेयताले पनि अर्थ राख्दछ कि ? वास्तवमा फेसबुकमा जति पनि खिसिट्युरीका कुरा उब्जिएका छन्, ती विपक्षीका छटपटी मात्रै होइनन् अपितु हरेक वर्षको बजेट कार्यान्वयन नभएको यथार्थलाई पनि सङ्केत गर्दछन् । मेलम्ची आउन युग बित्नु, पोखरा, निजगढ विमानस्थलले लामो समयसम्म जात्रा देखाइहनु, काठमाडौंवरपरकै सडकको दुर्दशा देखिनु, तुइन विस्थापनको घोषणा अझै लाचार बन्नु र भर्खरै कोरोना परीक्षणमा देखिएको लबस्तरो हालतले गर्दा जनताले सरकारी योजनालाई पत्याउनै नसक्ने अवस्था छ । लुम्बिनी गुरुयोजना र बबई सिँचाइको कुरा म बच्चा हुँदाको बजेट भाषणमा सुन्ने गर्दथेँ । चालिसौँ वर्ष बित्दा पनि तिनको नाममा वार्षिक बजेट विनियोजन भइराखेको सुनिन्छ । पैसा कहाँ जान्छ ? ती योजना किन पूरा हुँदैनन् ? हाम्रोमा एउटा बेथिति नै बसिसकेको छ– विकास खर्चमा नियोजित रकम नौ महिनासम्म उपयोगमा आउँदैन, जब असार सकिन थाल्दछ, रातारात सडक बन्न थाल्दछन् । केही दिन अघि मात्रै बागलुङ जिल्लामा एउटा जस्तापाताले घेरिएको सयजना अटाउने सभागृहको लागत झण्डै दुई करोड देखाइएको थियो । उता दुई जनाको कोरोना उपचारमा डेढ करोड लागत लागेको समाचार आएको थियो । यस्तो किसिमको कार्यश‌ैलीले गर्दा हरेक योजनालाई जनताले ‘ढाँटको भोज खाई पत्याई’का रूपमा लिन थालेका छन् । त्यसलाई विपक्षी पार्टीले मरमसला हालेर साँधिदिन्छ अनि निस्किन्छ निषेध र नकारात्मक अभिव्यक्ति ।

दाङजस्तो सुगम ठाउँका लागि दुईवटा एयरपोर्ट साच्चिकै टड्कारो आवश्यकता हो त ? जहाँबाट हरेक दिन सयौँ बस राजधानी लगायत अनेक जिल्लामा आवागमन गर्दछन्, के त्यहाँ विमानस्थल अनिवार्य छ ?

खासमा भन्ने हो भने यतिखेर नेपालमा फगत तीनचारवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पुग्दछ । दाङमा अबको पाँच वर्षमा भएको एयरपोर्ट नै बन्द गर्दा हुन्छ । प्रथमतः एयरपोर्ट बनाउनका लागि पहिला डिपिआर तयार पार्नुपर्यो, त्यो बन्न नै पाँच वर्ष लाग्ला । त्यसपछि जग्गा मुवाब्जा प्रकरण उठ्नेछ । विमानस्थल बन्ने क्षेत्रका बासिन्दाले सुरुमा आफ्ना जग्गाको भाउ मुख मिठ्याएर गर्न थाल्नेछन्, त्यसमा राज्यले ठुलो मूल्य चुकाउनुपर्नेछ । त्यसपछि भौतिक संरचना, धावनमार्ग, सुरक्षाप्रबन्ध, तारबार, कर्मचारी नियुक्ति आदिमा ठूलै रकम लाग्नेछ, सबै तयार भइसकेपछि नजिकै बस्ने बासिन्दाले ‘ध्वनि प्रदूषण भयो, विमानस्थल हटाउनुपर्यो’ भनेर धावनमार्गमा सुतिदिन थाल्नेछन् । करिब दुई दशक लगाएर बनाएको ठूलो परियोजना लथालिङ्ग हुन जानेछ । यो मनोगत प्राक्कल्पना मात्रै हो र दङालीको प्रवृत्तिलाई हेरेर गरिएको अनुमान हो । लौ यो अनुमान हावादारी नै साबित भयो रे । दाङजस्तो सुगम ठाउँका लागि दुईवटा एयरपोर्ट साच्चिकै टड्कारो आवश्यकता हो त ? जहाँबाट हरेक दिन सयौँ बस राजधानी लगायत अनेक जिल्लामा आवागमन गर्दछन्, के त्यहाँ विमानस्थल अनिवार्य छ ? कुतर्क त जे गर्न पनि सकिन्छ । दुई वर्षअघिसम्म तुलसीपुरबाट यात्रु नपाएर जहाजले द‌ैनिक रुटिन बनाउन सकेको थिएन, यति चाँडै अर्को ठाउँमा एयरपोर्ट ? फेरि एयरपोर्ट कसका लागि ? कुन प्रयोजनका लागि ? असल शिक्षक त्यो हो, जसले सबैभन्दा कमजोर विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षण गर्दछ, असल शासक त्यो हुन्छ जसले निपट निम्नवर्गप्रति लक्षित भई उनीहरूले अधिकतम लाभ हासिल गर्ने योजना बनाउँछ ? जनताको आर्थिक स्तरलाई नउठाई केही हुने–खानेका निम्ति वा सरकारी–आईएनजिओका हाकिमको सुविधाका निम्ति जनताको करको दुरुपयोग गर्नु न्यायसङ्गत हो ? दुईचार हजार रुपियाँ नभएर यहाँ कयौँ नेपालीले पशुपति दर्शन गर्न पाएका छैनन्, क्वारेन्टिनमा सिटामोल नपाएर एउटाले ज्यान फालेको धेरै भएकै छ‌ैन । दुर्गममा सुत्केरी समस्याले कति आमा मरेका छन्, तिनको बेवास्ता गर्न मिल्छ र ?

रेल सस्तो होला कि प्लेन ? वस्तु ढुवानीको माध्यम रेल बन्ला कि प्लेन ? वस्तुको मूल्यमा कमी रेलले ल्याउला कि प्लेनले ? यी विमानका मनगढन्ते योजनाभन्दा रेल सुचारू हुँदा छेउँछाउँका पहाडी जिल्ला सडक सञ्जालमा आउलान् कि नआउलान् ?

मेरो अन्तिम तात्पर्य के हो भने नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छन्, केही हिमाली जिल्लामा घरेलु विमानस्थल अझै अपरिहार्य छन् तर दाङमा एउटै काफी छ, त्यो पनि दुईचार वर्षलाई । राम्रोसित मनन गरौँ– पूर्वपश्चिम पुग नपुग हजार कि.मि. भएको देशमा राम्रो रेल सेवा आवश्यक छ कि एयरपोर्ट ? रेलमा धेरैले सुविधा पाउलान् कि प्लेनमा ? यदि रेल चल्यो भने बिहान मेची र साँझ काली गर्न सकिएला कि नसकिएला ? रेल सस्तो होला कि प्लेन ? वस्तु ढुवानीको माध्यम रेल बन्ला कि प्लेन ? वस्तुको मूल्यमा कमी रेलले ल्याउला कि प्लेनले ? यी विमानका मनगढन्ते योजनाभन्दा रेल सुचारू हुँदा छेउँछाउँका पहाडी जिल्ला सडक सञ्जालमा आउलान् कि नआउलान् ? ठाउँठाउँमा स्टेशन हुँदा आर्थिक क्रियाकलाप बढ्ला कि नबढ्ला ? विमानस्थल सित्तैमा बन्ने त होइन होला नि ? डिपिआर, मुवाब्जा, संरचना निर्माणको पैसाले न्यूनतम पनि दाङ जिल्लाभरिको रेल ट्रयाक त खनिएला नि ? अमेरिका, युरोपजस्ता मुलुकमा २००० किलोमिटरका दूरी निजी गाडी र सार्वजनिक सवारीबाटै सम्पन्न हुन्छन् भने नेपालमा त्यो किन गर्न सकिन्न ? छातीमा हात राखेर भनौँ त जहाज आम नेपालीको पहुँचको साधन हो ? भवितव्य अवस्थामा ऋण कर्ज गरेर बिरामी बचाउन चढ्नु बाध्यात्मक घटना हो । अन्यथा साधारण जनको जहाज चढ्ने ल्याकत बनेकै छैन । विमानस्थल बनाउन खर्चिने यो राष्ट्रिय पुँजी केवल पुँजीपतिको हितार्थ मात्रै होइन र ? सबै नेपालीका लागि भविष्यमा हैसियत बन्न सक्छ भन्ने तर्क आउँछ ।

छेउँछाउँका जग्गा सशुल्क अधिग्रहण गरौँ, सुकुम्बासी, हुकुम्बासी सबैलाई राष्ट्रनिर्माणको महायज्ञमा सुहाउँदो योगदान गर्न भनौँ । बहुमतको सरकारको सामर्थ्य बुझौँ । यति पनि गर्न नसकेर सीमित कार्यकर्तालाई मोटाउने, माथिका नेताका छोरा–भाइलाई ठेकेदारी दिलाउने प्रपञ्च हो भने यो पाखण्डलाई अन्त्य गरौँ ।

वर्तमानको आवश्यकतालाई नजरअन्दाज गरेर भविष्यकेन्द्री हुने हो भने हुम्लामा पाँचतारे होटेल खोलौँ, रसुवामा क्रिकेट मैदान बनाओैँ, ताप्लेजुङमा अनुसन्धान केन्द्र स्थापना गरौँ, जुम्लामा नरिवल र धनुषामा स्याउ बागबानी बनाओैँ र मुस्ताङमा कृषि उद्योग सञ्चालन गरौँ । किनकि सृजनात्मक सोच आफैमा फलदायी हुन्छ, दायाबायाँ केही सोच्नै परेन । होइन भने भएको विमानस्थललाई स्तरोन्नति गरौँ, नयाँ बनाउने खर्चले तुलसीपुरलाई नै अन्तर्राष्ट्रिय बनाउन सकिन्छ यार ! छेउँछाउँका जग्गा सशुल्क अधिग्रहण गरौँ, सुकुम्बासी, हुकुम्बासी सबैलाई राष्ट्रनिर्माणको महायज्ञमा सुहाउँदो योगदान गर्न भनौँ । बहुमतको सरकारको सामर्थ्य बुझौँ । यति पनि गर्न नसकेर सीमित कार्यकर्तालाई मोटाउने, माथिका नेताका छोरा–भाइलाई ठेकेदारी दिलाउने प्रपञ्च हो भने यो पाखण्डलाई अन्त्य गरौँ । सुविधाजनक विकल्प रेल नै हो, रेल नै सर्वाधिक खाँचो हो, यसैमा लोकको आकाङ्क्षा साकार हुन्छ । अति सम्पन्न भएपछि व्यक्तिगत घरमाथि हेलिप्याड बनाएर हेलिकोप्टर चढ्दा कसैले ओठ लेब्र्याउने छैन ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार