‘नपुंसकता कहिलेसम्म ?’

बैशाख ३०, २०७७  |  ८६५ पटक पढिएको  |   साक्षी खबर

यता कोरोना सङ्क्रमण बढ्दै छ । उता सीमा अतिक्रमण बढ्दै छ । लाग्छ, यी दुवै बढोत्तरीले देश सिकिस्त बिरामी छ । कदाचित् कोरोनाको निदान भेटिएला तर लिपुलेक र कालापानीको उपचारमा देखिएको विवशता डरलाग्दो छ ।

हामीले पुर्खाको ढोलक खुबै पिट्यौँ । वीरवीराङ्गनाका गाथा असाध्यै घोक्यौँ । सगरमाथा र बुद्धका प्रशस्तिगान ज्यादै गर्यौं । अखण्ड स्वाधीनताका नाराबाजी पनि अतिशय गर्यौं । यिनै प्रशस्तिमा हाम्रो नपुंसकता र लाचारी विकास भएको हामीलाई हेक्का नै रहेन । विगतको एउटा गौरवको व्याज सधैँभरि खान सकिँदैन । समयको फेरबदलसँगै नयाँ पुँजीको निवेश गर्नैपर्छ । त्यो पुँजीले राष्ट्रिय मागलाई सम्बोधन गर्नैपर्छ । दुर्भाग्य ! हामी जहाँ थियौँ त्यसभन्दा अझ गहिरो खाल्डोमा पुरियौँ । हाम्रो हालत शालीनदीमा कुँजिएकी चन्द्रावतीको भन्दा माथिल्लो हुन सकेन ।

संसारका केही चरित्र छन्, प्रकृतिका पनि केही नियम छन् । ‘दैवो दुर्बल घातक’ त्यसै भनिएको होइन । एउटै पोखरीमा ठुलो माछाले सानो माछा खान्छ, उही जङ्गलमा बाघले मृग घिसारेर आफ्नो शक्ति प्रदर्शन गर्दछ ।

संसारका केही चरित्र छन्, प्रकृतिका पनि केही नियम छन् । ‘दैवो दुर्बल घातक’ त्यसै भनिएको होइन । एउटै पोखरीमा ठुलो माछाले सानो माछा खान्छ, उही जङ्गलमा बाघले मृग घिसारेर आफ्नो शक्ति प्रदर्शन गर्दछ । मनुष्यमा थोरै चेतना र कानुनी अङ्कुशले खुल्लमखुल्ला त्यसो गर्न नसके पनि चोर बाटोबाट आफ्नो हस्तक्षेप प्रकट गरिहाल्दछ । ‘वीर भोग्या बसुन्धरा’ अर्थात् वीरले धरतीलाई आफ्नो शासनमा ल्याउँछ । यो सनातन सिद्धान्त र संस्कार हो । मान्छेले शक्ति र बुद्धिको आडमा परायाको वर्चस्वलाई आफ्नो अधिकारक्षेत्रभित्र समायोजन गराएर नै आज राष्ट्र नामक गञ्जक बनेका हुन् । अतितको त्यो ग्रन्थि चेतना मान्छेभित्र विद्यमान छ । त्यो चेतनाले आफ्नो प्रभुता विस्तार गर्न खोजिरहन्छ । अमेरिकाले सारा विश्वलाई आफ्नो कठपुतली बनाउन खोजेको सङ्केत त्यही मानवीय उन्मादीको द्योतक हो ।

कुनै पनि राष्ट्रले अर्को राष्ट्रको अस्मितामाथि धाबा किन बोल्दछ ? सबैलाई थाहा छ तर हाम्रा शासकलाई थाहा छैन । अथवा तिनका आत्माहरू बन्धनमा छन् । यसलाई बुझ्न हाम्रो शरीर विज्ञानलाई मनन गर्दा काफी छ । शरीरमा जब कुपोषणको आधिक्य हुन्छ, पौष्टिक दुर्वलता हुन्छ, तब नाना थरीका व्याधिले आक्रमण गर्न थाल्दछन् । हामी दीर्घरोग पालेर बसेका मान्छे हौँ । रोगी भईकन निरोगीको भ्रम पाल्नाले हामी अनेक रोगबाट ग्रस्त भएका छौँ । स्वयंले निर्माण गरेको किटाणुलाई किनारामा बसेर सत्तोसराप गर्नु हाम्रो फगत् आत्मवञ्चना हो ।

२००७ सालदेखि हामी भारतको वक्रदृष्टिमा थियौँ । यस्तो हुनुमा हाम्रो आत्मविश्वासको क्षयीकरण दोषी छ । काँक्रोले थाक्रोको सहारा लिने बानी बसेपछि उसको विकास हुँदैन । हाम्रा परिवर्तनका घटनाक्रममा जहिल्य‌ै भारतलाई निर्णायक साक्ष्य बनायौँ हामीले । सत्ता परिवर्तनका मामिला होऊन् अथवा अन्य देशीय सम्बन्ध विस्तारका नूतन आयाम होऊन्, तिनमा भारतकै इसारालाई विराट् दर्शन मान्यौँ । उसकै कृपाबाट हाम्रा गन्तव्यका मार्ग प्रशस्त गर्यौं । उसकै तीर्थभूमिको परिक्रमाबाट मुक्तिभुक्तिको दीक्षामन्त्र ग्रहण गर्यौं । आजीविकाकै सवालमा तिनकै ढोके, चौकिदार, कोठीदार बन्यौँ । यसरी जीवनका सूक्ष्मतमदेखि शिक्षा, चिकित्सा, राजनीति, धर्म, दर्शनसम्मका स्थुल विषयमा भारतकै शरणार्थी भएपछि उसको स्वामी चरित्र विकास हुनु स्वाभाविक नै छ ।

मित्रताले समानता खोज्दछ । आत्मनिर्भरताको व्यवसाय गर्न हामीले कहिल्यै जानेनौँ । मागिखाने आदर्शमा हाम्रो इतिहास र वर्तमान जीवित छ । यो विकलाङ्गतामा छिमेकीपन दिगो हुनै सक्दैन ।

मित्रताले समानता खोज्दछ । आत्मनिर्भरताको व्यवसाय गर्न हामीले कहिल्यै जानेनौँ । मागिखाने आदर्शमा हाम्रो इतिहास र वर्तमान जीवित छ । यो विकलाङ्गतामा छिमेकीपन दिगो हुनै सक्दैन । आदर्श मित्रता पौराणिक ग्रन्थमा सुहाउँछन् । पौराणिक ग्रन्थमै पनि राज्य विस्तारका सन्दर्भहरू भेटिन्छन् । विविध यज्ञादिको आयोजन, दिग्विजयको घोषणा र चक्रवर्ती राजाको परिकल्पना पौराणिक यथार्थ हुन् । समय फेरिएको छ, सन्दर्भ फेरिएको छ तर शक्तिले दुर्वलतालाई शासन गर्ने मूल चेतना हिजो जे थियो, त्यही छ । भारतबिना हाम्रो भान्सा पाकेन, भारतबिना हाम्रो लाज छोपिएन, उसको दान बिना हाम्रो जीविका बनेन । हाम्रा चेलिबेटी उतैका भोग्य सामग्री भए । हाम्रो क्रान्तिको इन्धन उतैबाट आयो, सत्ता सञ्चालनको रूटिन उसैले बनाइदियो । संविधानका हरफमा उसकै मूर्च्छना सुनियो । यसरी हरेक कुरामा उसका जुँघाका सङ्केतलाई हामीले अकाट्य शक्ति मान्यौँ । हामीले आफ्नो ऐना नै बनाएनौँ । उसकै कुरूप व्याख्याको दर्पनमा आफ्नो विद्रुप अनुहार हेरेर मख्ख परिरह्यौँ । आफूलाई नचिन्नेले बारम्बार लज्जित हुनुपर्छ ।

कालापानी र लिपुलेकमाथिको भारतीय दमन निन्दित अवश्य छ । बसुधैव कुटुम्बकमको राग छोड्ने मोदीको नकावभित्रको चेहरा भयानक देखिएको छ । आध्यात्मिकताको घुम्टो ओढेर रामराज्यको परिकल्पना गर्ने उसको व्यवहार रावणको भन्दा कम छैन । हरेक भाषणमा सबैको अस्तित्वलाई स्विकार्ने उनका अभिव्यक्तिभित्र ठुलो छद्म देखिन्छ तर के हामी दोषभागी छैनौँ रु हामीले कहिल्यै आफै उभिने चेष्टा गर्यौँ ? विश्वमञ्चमा हामीले कहिल्यै आफूलाई ज्ञान, बुद्धि, यन्त्र, प्रविधि र आविष्कारले योगदान गर्यौँ । कुममा कुम जोडेर हिँड्न सक्ने हैसियत बनायौँ ? अहँ, हामी सधैँ नामर्द भयौँ, सधैँ घिस्रिरहने चिप्लेकिरो भयौँ, असहाय र किंपुरुष भएर बाँचिरह्यौँ । हाम्रो मूर्च्छत चेतना कहिल्यै जाग्रत भएन । सधैँ भिक्षामा बाँच्यौँ । यसको मूल दोष कुनै अमुक शासक हैन, हिजोका शाही महाराजदेखि लिएर आजका साना महाराजसम्म उत्तिकै दण्डभागी छन् ।

आफ्नो स्वार्थ रक्षाका निम्ति स्वाभिमानलाई किस्तीमा राखिदिने घटिया चरित्रले आज हामी घर न घाटको भएका हौँ । भूगोलको कुनै त्रुटि छैन । संसारका सबै भूखण्ड समान छन् । जन्मजात कुनै देशले ईश्वरीय ‘तथास्तु’ पाएका होइनन् । कुनै सामुद्री सम्पदाले युक्त छन्, कुनै द्विपीय रूपले सुन्दर छन् । हामी सबैभन्दा उपयुक्त कित्तामा उभिएका थियौँ । पहाडी, हिमाली र मैदानी भूगोलभित्र समशीतोष्ण जलवायु र अनेक जातजातिको कोलाज भएको यो भूमि वास्तवमा दिव्य थियो । हामीले नागासाकी र हिरोसिमाको बम खानुपरेन । हामीले अफ्रिकी मुलुकका भोकमरी कहिल्यै झेल्नुपरेन, हामीले खाडी मुलुकका रेगिस्तानको उच्चाट लाग्ने व्यथा भोग्नुपरेन । प्रकृति र संस्कृतिको सुन्दर समागम भएको यो मुलुकलाई हामीले केही गरेनौँ । हो त्यही केही नगरेर चिरनिद्रामा सुत्नु नै अहिले हाम्रो कात्रो बनेको हो । यसको सम्पूर्ण दोष विगतदेखि वर्तमानका सबैका टाउकामा राखिदिए पुग्छ । कोरोना र कालापानीले हाम्रो मक्किएको अहंलाई यतिखेर ध्वस्त पारेको छ । के अब हामी अल्लि जिउँदो बन्न सकौँला ? के अझै पनि अपमान र लाचारीको विषपानको धङधङीबाट व्युँझौँला ? शङ्का यथावत् छ । किनकि कुकुरको पुच्छर सधैँ बाङ्गो रहिरहन्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार