२०७९ माघ १७, मंगलबार

“भ्रष्टाचार नियन्त्रण गर्न विद्रोह आवश्यक छैन” – स्थायी कमिटि सदस्य पोख्रेल

चैत्र १४, २०७५  | १२३५ पटक पढिएको

– गोकर्ण पौडेल
१४ चैत्र, तुलसीपुर (दाङ) / नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम् पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले भ्रष्टाचार नियन्त्रणका लागि विद्रोह आवश्यक नरहेको बताएका छन् ।  

नेपाल कम्युनिष्ट पार्टी तुलसीपुर उपमहानगरको सपथ ग्रहण तथा कार्यकता भेलालाई सम्बोधन गर्दै पोख्रेलले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक प्रमाण दिएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै पोख्रेलले अब प्रदेश सरकारबाट जनताले अनुभूति पाउने गरी विकासका क्रियाकलापहरु अघि बढ्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले सपथ ग्रहण पश्चात् प्रदेशको उपनिर्वाचनको क्षेत्र भएका कारण निर्वाचित कमिटिलाई कामको प्रभाव देखिने गरी लाग्न निर्देशन दिएका थिए ।

उनले पछिल्लो समयमा प्रतिपक्षले जनतालाई भ्रम सिर्जना गर्दै हिडेको बताएका थिए । कार्यक्रममा बोल्दै पोख्रेलले नेपालको स्वार्थ अनुकूल भएका गतिविधिको समेत विरोध गर्दै हिड्नुको प्रतिपक्षको कुनै अर्थ नरहने बताएका थिए । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री समेत रहेका पोख्रेलले दाङ जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारबाट विभिन्न गतिविधि भइरहेको जानकारी दिएका थिए । पोख्रेलले भने– ‘विगतमा जिल्लामा एक दुई पुलबन्दा ठुलै उत्साह देखिने तर नेकपाको सरकारका बखत तीन दर्जन बढी पुल निमार्णको क्रममा रहँदा पनि विकास भएन भन्दै जनतालाई प्रतिपक्षले भ्रम सिर्जना गर्नु दुखद् पक्ष हो’ ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पाटी पाँच नम्बर प्रदेशका सचिव जगप्रसाद शर्मा अपारले पाँच नम्बर प्रदेशका जिल्लामा रहेका एक सय पाँच स्थानीय तहमा सपथ ग्रहणको कार्यक्रम सम्पन्न गरिएको बताएका थिए । दाङ जिल्लामा दश वटै स्थानीय तहमा कमिटि निर्माणको कार्य पुरा भएको बताएका थिए । नेपाल कम्युनिष्ट पार्टी तुलसीपुर नगर कमिटि अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव माधव वलीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस