विपत्तमा निर्दयी बन्ने कि, ‘माया, करुणा अनि मानवता’को ख्याल गर्ने ?

चैत्र २१, २०७६  |  ७६३३ पटक पढिएको  |   साक्षी खबर

हामीले सुनेको या थोरै भएपनि भोगेको कुरा पहिले हाम्रा पुर्खा अनि अग्रजहरुको पालामा कतै घटना घट्यो भने सारा दुनियाँ अचम्मित हुन्थे । कोहि कसैको मृत्यु भयो भने दुखित हुँदै सबैलाई थाहा दिन्थे र गन्धर्वहरु त्यसैलाई गीतको माध्यमबाट सबैलाई जानकारी दिन्थे । कसैलाई केही पर्यो भने सबै एकजुट भएर सहयोग गर्थे तर आज भोलीका मान्छेहरु किन निर्दयी बन्दै छन् ?

प्रसंग जोडौं नेपाल मात्रै नभएर विश्वमा नै सन्त्रास फैलाएको कोरोना भाइरसका कारण विभिन्न देशमा कयौं जनताहरुले मृत्यवर्ण गरिसकेका छ्न् भने कयौं जनताहरु जिन्दगीको कठोर अनि पीडादायी क्षणमा तड्पिरहेका छन् ।

हामी यान्त्रिक हुँदैछौं हामीमा मातृत्व, भातृत्व अनि आत्मीयता हराउदै छ । हामीलाई फेसबुक या विभिन्न सामाजिक सन्जालले एकोहोरो अनि रोगी बनाउदै छ। एकपल्ट सोचौ कुनैपनि मृत्यु या घटना जसलाई परेको हुन्छ उसलाई र उस्को परिवारलाई मात्र सबैभन्दा पीडा हुन्छ।

अर्कोको मृत्युमा रिप लेख्न हतार गर्ने निर्दयीता प्रकट नगरौं, उसको जीवन कति मुल्यवान छ एक शब्द हार्दिक श्रद्धाञ्जली लेख्न पनि हामीलाई हतार छ, रिप लेखेर हामी पन्छिन्छौ । भोलि पीडा सबैलाई पर्छ सोचौं, देशका जनता गुमाउँदाको पीडा अनि देशलाई अनि जनतालाई हुने हानी मनन् गरौं ।

यस्तो संकटको घडिमा नेपाल सरकार कता तर्फ जान थालेको छ ? देशमा आइपर्ने जस्तासुकै विपत्तिमा राज्य, सरकार समस्या होइन, समाधान हुनुपर्दछ । किरोना भाइरसले गर्दा विश्व नै लकडाउन गरिएको सन्दर्भमा रोजगारको सिलसिलामा विदेशबाट फर्कने जनताहरु आफ्नो घर फर्किन नसक्दा बिचबाटोमै अलपत्र हुनुपर्ने बाध्यता छ ।

समस्यामा परेका यस्ता आफ्ना नागरिकलाई लाठीचार्ज गरेर कोरोना भाइरस भाग्दैन । आफ्नो जन्मभूमि र आफ्ना सन्ततिको मायाले छट्पटाउँदै सीमा नाकासम्म आइपुगेका नेपाली नागरिकलाई कि त त्यहाँको सरकारसँग सार्थक पहल गरी त्यहीँ सुरक्षित राख्ने वातावरण सिर्जना गर्नु पर्यो कि त त्यहाँ अलपत्र पार्नु भन्दा सरकारले आफ्नो देशमा प्रवेश गराई सबैलाई अनिवार्य क्वारेन्टाइनमा बसेर मात्रै घर फिर्ता हुने वातावरण गराउनु पर्यो ।

यदि ल्याउने होइन र गैरजिम्मेवार बन्ने हो भने देशभर बनाइएका क्वारेन्टाइन के देखाउन र प्रचारको प्रपोकाण्ड मच्चाउन खडा गरिएको हो ? भोलि यदि १ दिन मात्रै आवागमन खुल्ला गरियो भने मात्रै पनि प्रवासमा रहेका लाखौं नेपाली नागरिक आफ्नो भूमिमा प्रवेश गर्नेछन् । त्यतिबेलाको परिस्थितिसम्मलाई मध्यनजर गरी राज्यले योजना बनाएको हुनुपर्छ ।

उता दैनिक ज्यालादारीमा काम गरी एक छाक टार्ने मजदुरहरूका समस्या आइरहेका सूचनाहरू प्रशारित भएका छन्, व्यवहारिक रूपमा नै उनीहरूका समस्याको समाधान राज्यले तत्कालै गर्नुपर्दछ । आफ्ना नागरिकहरूप्रति राज्य उत्तरदायी र जिम्मेवार बन्नुपर्दछ अनि नागरिकहरूले पनि यो संकटको समयमा आफ्ना कर्तव्यहरू भुल्नु हुँदैन ।

लेखकः
गौमुखी मा.वि. प्युठानका शिक्षक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस