लकडाउनः के गर्दैछन् नेताहरु ?

चैत्र २०, २०७६  |  ११२६७ पटक पढिएको  |   साक्षी खबर

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट नेपालपनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसै सन्दर्भमा छिमेकी मुलुक चिनमा कोभिड—१९ को संक्रमण व्यापक भएसंगै अर्को छिमेकी भारतमा पनि यसको संक्रमण बढिरहेको छ । तैपनि नेपालमा यसको संक्रमण अझैपनि नियन्त्रणमा छ । कोरोनाको संक्रमण फैलन सक्ने उच्च जोखिमलाइ मध्यनजर गर्दै नेपाल सरकारले पनि समग्र मुलुकलाई लकडाउन गरेको आज नवौं दिन पुरा भैसकेको छ ।

लकडाउनको समयलाई राजनेताहरुले कसरी सदुपयोग गरिरहेका छन् भन्ने सन्दर्भमा साक्षीखबरले तयार पारेको एउटा रिपोर्ट अनलाइन संस्करण मार्फत प्रस्तुत गरिएको छ ।

सामाजिक दुरी कायम गरेको छुः नरुलाल चौधरी(मेयर, घोराही)


लकडाउनको अवस्था अत्यन्तै संवेदनशील अवस्था हो । यसलाइ कार्यान्वयन गराउनु एउटा पाटो हो भने स्थानिय सरकार प्रमुखको हैसियतले बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव सृजना हुन नदिनुपनि अर्को पाटो हो । तेस्रो पाटो भनेको आफ्नै व्यक्तिगत सुरक्षा पनि हो, त्यसका लागि पनि एउटा सामाजिक दुरी कायम गर्नु उत्तिकै महत्वपुर्ण सवाल हो ।

हो अहिले लकडाउनको अवस्था छ, सकेसम्म घरवाहिर निस्कनु उपयुक्त होइन, तर पनि हामी स्थानिय सरकारका नाताले यो गरिरहन दिन्न । त्यसैले मेरो दैनिकी विहानको शारीरिक अभ्यासबाट सुरु हुन्छ । एक्लै अभ्यास गर्छु । त्यसपछि सबै वडाध्यक्षहरुलाई फोन सम्पर्क गरी हरेक वडामा सम्भावित संक्रमितको तथ्यांक र बजारको अवस्थाको बारेमा जानकारी लिन्छु । त्यसपछि कुइरेपानीमा सञ्चालनमा आएको क्वारेन्टाइनको फलोअप । आज तपाइले फोन गरिरहँदा म कुइरेपानीको क्वारेन्टाइनमा स्थलगत अनुगमनमा आएको छु । हातमा सेनीटाइजर दलेर मुखमा मास्क लगाई सुरक्षित तवरले म यहां आएको छु । मैले यहाँ एउटा निश्चित दुरीमा रहेर सरोकारवालासँग जानकारी लिइरहेको छ । ताकि सम्भावित संक्रमितबाट म र अरु पनि बच्न सकुन् भनेर । दिउँसो विपत व्यवस्थापनका बारेमा नियमित छलफल हुन्छ । सायद दैनिक जसो बेलझुण्डिमा रहेको कोरोना विशेष अस्पतालमा रहेका बिरामीका विषयमा पनि जानकारी लिन्छु । बेलाबेलामा प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय मामिला मन्त्रालयमा पनि समन्वय गरिरहन्छु । यसरी लकडाउनको समयलाई मैले सदुपयोग गरिरहेको छु ।

………………………………………………………………………………………………………………………………………………………………………………………………………..

मर्निङवाकबाट सुरु हुन्छ दैनिकिः जीवन गौतम (इन्चार्ज) नेकपा दाङ


लकडाउनको आज नवौं दिन, आज पनि मैले दैनिकि मर्निङवाकबाटै सुरु गरें । दैनिक जसो कम्तिमा एक घण्टा मर्निङ वाक गरेपछि केहि रिलिफ फिल हुन्छ । त्यसपछि घरमा आइ चियानास्ता र घर वरपरको सरसफाई । परिवारका सदस्य सबैलाई आफ्नो व्यक्तिगत सरसफाई तथा घरवरपरको सरसफाईका लागि आग्रह गर्दछु । त्यसपछि अहिलेको समय भनेकै कोरोनाको संभावित संक्रमणबाट जोगिने समय हो । पार्टिका सबै तह र तप्काका साथिभाइहरुसंग फोन सम्पर्क गर्छु । पार्टि इन्चार्जका नाताले जिल्लाका सबै स्थानमा व्यवस्थापन गरिएका क्वारेन्टाइन र आइशोलेशन वार्डका बारेमा जानकारी लिन्छु । त्यसको व्यवस्थापनका लागि आवश्यक सामाग्री र श्रोत साधन जुटाउने सवालमा प्रदेश सरकार र संघीय सरकारसँग नियमित सम्पर्क गर्छु ।

विशेष गरी दाङको बेलझुण्डीमा सञ्चालनमा आएको कोरोना विशेष हस्पीटलको व्यवस्थापन समिति सदस्य भएका नाताले हस्पीटलको विषयमा नियमित जानकारी लिन्छु । लकडाउनको अवधि भएकाले आवश्यक काम बाहेक बाहिर चोकचोकमा चिया पिउने र साथीभाई जम्मा भएर गफिने अवस्था छैन । घरमै पाकेको खाना खाने, बाहिर हिंड्दा आवश्यकता अनुसार मास्क प्रयोग गर्ने र सेनीटाइजरको पनि प्रयोग गर्ने गरेको छ । हो अहिलेसम्म दाङका विभिन्न आइशोलेशन वार्डमा भर्ना भएका शंकास्पद कोरोना संक्रमित कसैको पनि संक्रमण पुष्टि भएको छैन । हाल सम्म परीक्षण गरिएका १६ जनामा सबैको रिपोर्ट नेगेटिभ आएको पनि यहाँहरुलाइ जानकारी गराउन चाहन्छु । तर पनि जोखिमको अवस्था कायमै छ । भारतमा दिनहँु संक्रमितको संख्या बढिरहेको अवस्थामा नेपालमा पनि यसको उच्च जोखिम रहेको छ । त्यसमा दाङ पनि संक्रमण फैलन सक्ने अत्यन्तै जोखिमको जिल्ला हो । किनकि दाङ पनि सीमा क्षेत्रबाट नजिककै जिल्ला हो । त्यसैले लकडाउनको पुर्ण रुपमा पालना गरौं भन्न चाहन्छु आम जिल्लाबासी नागरिकहरुलाई । अनि लकडाउनलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन सुरक्षा निकायलाई सहयोग गर्न आम पार्टि नेतृत्व तथा विभिन्न जनवर्गिय संगठनका नेता कार्यकर्ताहरुलाई आह्वान गर्न पनि चाहन्छु । आफु सुरक्षित बनौं, अरुलाई पनि संक्रमणबाट जोगाऔं ।

………………………………………………………………………………………………………………………………………………………………………………………………………..

पुस्तक पढेर लकडाउनको सदुपयोगः किर्ति खड्का, सभापति नेका दाङ


लकडाउनको समयमा नेपाली कांग्रेस दाङका सभापति किर्ति बहादुर खड्काले भने विशेषगरी पुस्तक पढेर बिताइरहेका छन् । अहिले उनले दुर्गा सुवेदीले लेखेको विमान विद्रोह पुस्तक पढिरहेका छन् । दुईदिन अघि उनले बिपिको टकराव पुस्तक दोहोर्याएर पढ्न भ्याए ।

तैपनि विश्व कोरोना भाइरसको संक्रमण विरुद्धको अभियानमा जुटेसंगै नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेकाले दैनिकजसो समाचार अपडेट गरिरहेको खड्काको अभिव्यक्ति छ । उनकै भनाइमा म सबैभन्दा पहिले मर्निङवाकमा जान्छु । सामान्य पसिना आउन्जेल पैदल यात्रापछि घरमा फर्केर नुहाईधुवाई गरी पुजापाठमा केहि समय बित्छ । त्यसपछि दाङ जिल्लामा लकडाउनका कारण मजदुर एवं सर्वसाधारणले भोग्नुपरेका समस्या, स्वास्थ्यकर्मि र सुरक्षाकर्मिले भोग्नुपरेका समस्याका विषयमा जानकारी लिन्छु । त्यसपछि पार्टिका सबै तहका नेता कार्यकर्ताहरुमा यो विषयमा जानकारी गराउँछु । आफु बाहिर सकेसम्म जान्न, गईहालेपनि मास्क र सेनीटाइजरको प्रयोग गरेर मात्र निस्कन्छु । यो विषमा परिस्थितिमा आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित बनाउन आम कार्यकर्ताहरुलाई फोनबाटै निर्देशन दिन्छु । त्यसपछि समयसमयमा स्थानीय सरकारलाई पनि ध्यानाकर्षण गराउँछु । गाउँघरमा पनि भिडभाड नगराउन सम्झाउंदै हिंड्ने गरेको छु । भोजभतेर, जुवातास लगायत भिड बढि हुने कुनैपनि काम नगरौं भन्ने गर्छु ।

हो अहिले मुलुकमा एक साता भन्दा बढि लकडाउन भएको छ । यसलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याउनु हामीसबैको साझा दायित्व हो । यदि सम्भावित संक्रमित भेटिए उनीहरुलाई सुरक्षित रुपमा उपचार व्यवस्थापन गर्नु आवश्यक छ । त्यसैले पनि सबै तह र तप्कामा रहेका कांग्रेस कार्यकर्ताहरुलाइ यो महान साझा अभियानमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह पनि गर्दछु । कोरोना भाइरसको विश्वव्यापी महामारीका विरुद्धमा एकजुट भएर सामना गरौं ।

प्रतिक्रिया दिनुहोस