अप्रिल फुल कि, हामी फुल ?

चैत्र १९, २०७६  |  ८९८९ पटक पढिएको  |   साक्षी खबर

आज अप्रिल फुल । ढाँट्ने, छक्याउने र दुःख दिने दिन । सायद हँसीमजाकका लागि मनाउने सन्दर्भमा यसको प्रादुर्भाव भएको थियो कि ! यो पनि पश्चिमी सभ्यताकै अनुपम रीति हुनुपर्छ । हाम्रो भारत वर्षमा विक्रमीय संवतको परम्परा थियो र छ । ईशवीय तारिख र महिना त उतैका ज्योतिषीले बनाएको हो ।
हाम्रो एउटा दीर्घरोग के छ भने हामी गोरेलाई जिउँदो भगवान् मान्दछौँ । उनका हरेक क्रियालाई ‘हीरामोती’ ठानि हाल्छौँ । तिनका सामाजिक, सांस्कृतिक जीवनमा जे उपयोगी हुन्छन्, त्यो हाम्रा लागि पनि अनुकरणीय नहुन सक्छ भन्ने हामी बुझ्दैनौँ । यन्त्र, प्रविधि, चिकित्साको आविष्कार गर्दैमा उनीहरूका सम्पूर्ण कुरा पूर्णविराम नलगाई पछ्याउनुपर्ने आवश्यकता हुँदैन । तर हामी हीनभावनाग्रस्त छौँ । त्यसैले झट्टपट्ट सिको गरेर नव आधुनिक बन्न हामीलाई काउछो लागिहाल्छ ।

एक देश र जातिको राम्रो चलन अर्को देश र जातिका लागि भद्धा र कुरूप हुन सक्छ । हरेक समाजका आफ्नै संस्कार हुन्छन् । गोरेले अर्काकी श्रीमतीलाई मज्जाले गाला र ओठ जोडिदिन्छ, त्यही कुरा हाम्रा लागि असभ्यता मात्रै होइन कि पातकी काम भइदिन्छ । त्यस्तै हाम्रो देशमा बाबुआमाले छोराछोरीलाई दुईचार थप्पड हिर्काइहाल्छन् र छिप्पिसक्दा पनि जिम्मेवारी बोकिरहन्छन्, यस्तो शैली उनीहरूका नजरमा घोर अन्याय हुन्छ। यी नमुना हेर्दा दुवैलाई एकअर्काका कुरा हास्यास्पद लाग्छन् किन्तु समाजको सापेक्षतामा दुवै ठीक छन् । त्यस्तै यो ‘अप्रिल फूल’ पश्चिमाहरूका लागि मनोरञ्जनको एउटा क्रीडा बन्ला, हाम्रो लागि दुर्घटनाको कारक बन्नसक्छ, झगडाको बिउ पनि बन्न सक्छ । आध्यात्मिक दृष्टिले पनि यो अनुचित मानिन्छ । शास्त्रले बताएको छ– ‘सत्यं ब्रूयात्, प्रियं ब्रूयात्, न ब्रूयात् सत्यमप्रियम्’ साँचो बोलोस्, मीठो बोलोस्, सत्य पनि अप्रिय लाग्ने छ भने नबोलोस् । त्यस्तै ‘सत्यं वद, धर्मं चर, सत्यमेव जयते’ आदि भनिएको छ । यो स्थितिमा झुटो बोलेर आनन्द लिनु शास्त्रको उल्लङ्घन हुन्छ र अनावश्यक रापतापमा फस्नुपर्ने हुन्छ । नपत्याए एउटा घटना पढ्नुहोस् र जान्नुहोस्ः

कुरा करिब ३२ वर्षअघिको हो । यो घटनाको मञ्चन क्षेत्र दाङको बिजौरी नै हो । बिजौरी शैक्षिक केन्द्र र देशैभरि सवारी साधन चढ्न आउने रमाइलो खाल पनि हो । अप्रिल फूलकै दिनमा प्रतीक्षालयमा केही बुढापाकाहरू आफैमा गफिँदै थिए । दोघरियाबाट पद्मप्रसाद रेग्मीजी (उहाँलाई हामी भान्दाइ भन्छौँ) पनि प्रतिक्षालयमा आइपुग्नुभयो । गफमा लम्पट भएका जहदागाउँका भक्तिराम मजगैयाँलाई (उहाँलाई हामी दाजु भन्दछौँ) श्रीधर मजगैयाँ दाजुले अलिअलि हनुमान् चढाउन थाल्नुभयो । दाजुले पनि मजा मानेर पद्मप्रसादजीलाई भन्नुभयो– ‘तपाईँलाई क्याम्पस प्रमुखले बोलाउनुभएको छ, तुरुन्त जानुस् रे ।’ त्यसबेला क्याम्पस प्रमुख स्व. स्थानेश्वर गौतम हुनुहुन्थ्यो । सामान्य गृहस्थीमा जीवन बिताइरहेको मान्छेलाई प्राज्ञिक र ओहोदामा बसेको मान्छेले खोज्नु सामान्य जनले गर्व गर्ने विषय हुन जान्छ र त्यसमा गहिरो चासो बढ्न थाल्छ । पद्मप्रसादजीले आफूलाई स्मरण गर्ने क्याम्पस प्रमुखको आह्वानलाई तत्काल कार्यरूप दिनुभयो । उहाँ क्याम्पस प्रमुखको कक्षमा पुग्नुभयो । नमस्कार आदिका शिष्टाचार त हुने नै भए । प्रमुखका त अफिसमा धेरै कार्यभार हुन्छन् । पद्मप्रसाद भान्दाइ धेरै बेरसम्म त्यहाँ बसिरहँदा पनि प्रमुखले आफूलाई किन बोलाएको हो ? उहाँले बुझ्न सक्नुभएन । प्रमुख अफिसबाट केही नबोली बाहिर निस्कने स्थिति आयो । आफ्नो उत्सुकता अन्योल थाम्न नसकी पद्मु भान्दाइले आफै कुरा खोल्नुभयो– ‘गुरु यो के चाला हो ? मलाई बोलाउने अनि आफू लुसुक्क बाहिर निस्कने ?’ प्रमुख अवाक् हुनुभयो । भन्नुभयो– ‘के रे ! मैले त तपाईंलाई बोलाएको छैन त , कसले भन्यो यो कुरा ?’ पद्मु भान्दाइले सम्पूर्ण नालिबेली पोख्नुभयो । अन्त्यमा रहस्य खुल्यो, यो सब अप्रिल फुलको प्रहसन थियो ।

अब परिणाम हेर्नुहोस् है ! लज्जा र आत्मग्लानिले भुतुक्क हुनुभएका पद्मप्रसाद भन्दाइ त्यहाँबाट सासै नफेरी सिँह मुद्रामा प्रतीक्षालय पुग्नुभयो । जहाँ अप्रिल फुल बनाएको रमझममा सबै बूढाखाडा र जवानहरू खित्का छाडेर हाँसिरहेका थिए । पद्मु भान्दाजुले आफ्नो भित्रको भँडास हस्तप्रहारका साथ यसरी पोख्नुभयो– ‘भक्ते ! तैँले मलाई अप्रिल फुल बनाउने ? खुब ठूलो पुरुषार्थ गरिस् मु ……….. तँलाई त्यस्तो रहर छ भने तेरा गाउँका गोठालालाई बना मु ………. ग्वालो । दुवैजना समाजका प्रतिष्ठित पात्र हुनुहुन्थ्यो । यो भाषामा कसैले कहिल्यै यसरी बोल्दैनथे । पद्मु भान्दाइको झप्पु, तँतँ र मु…………को हुँङ्कार सुनेपछि भक्तिराममा पनि पारो चढिहाल्यो । आफ्नो वेग थाम्न नसकी यसरी जवाफ लगाउनुभयो– ‘तँ पद्मे मु ………. तँ होस् ग्वालो, तँ होस् थारू, थारूलाई यस्ता कुराको के थाहा छ, अनपढ गवाँर तैँ होस् मु……..अप्रिल फुलको महत्त्व तँजस्ताले के बुझ्दछ !’ यति भनेर इँटा टिपेर प्रहार गर्न थालिहाल्नुभयो । धन्न नजिकै बसेका श्रीधर दाजुले हात समात्नुभयो र घटना रक्तरञ्जित हुन पाएन । यसरी स्थिति बाँझाबाँझबाट हात हाल्नेसम्मको पुग्यो । पछि त्यहाँ बसेका बिजुलीप्रसाद मजगैयाँ, कृष्णप्रसाद मजगैयाँ र खगेश्वर मजगैयाँ श्रीधर मजगैयाँ लगायत अन्य व्यक्तिले त्यो महाभारतलाई सहजीकरण गर्न प्रयत्न गरे र घटना साम्य भयो ।

मलाई थाहा छैन, यी दुईजनाको अहिले सम्बन्ध कस्तो छ तर त्यहाँ बस्ने सबैले नमिठो अनुभव गरिरहेका थिए, सबैजना आफै खिस्सेका बिराला जस्ता भएका थिए । कसलाई दोषी भन्ने ? कसलाई जायज भन्ने ? हरेक व्यक्तिका आ–आफ्ना बुझाईका स्तर हुन्छन् । अरु बेला गम्भीर देखिने भक्तिराम दाइ त्यस दिन हाँस्यरसिक बन्नुभयो र सधैँ हाँसो ठट्टा गर्ने पद्मप्रसाद भान्दाई उक्त दिन सिरियस भइदिनुभयो । अप्रिल फुलको चेतना दुवैसित हुँदाहुँदै पनि हक्की स्वभाव र भिन्न परिस्थितिले गर्दा वातावरण नमज्जाको भइदियो । झगडाको कारण यही थियो । त्यसैले कुन कुरा कसलाई कुन हदसम्म गर्ने भन्ने र त्यसको परिणाम के आउँछ भन्ने बुझिएन भने सम्बन्धको डोरी च्वाट्ट चुँडिन पनि सक्छ । होस गरौँ, सोचेर कदम चालौँ, सकेसम्म यस्ता काम नै नगरौँ ।

प्रतिक्रिया दिनुहोस