२०७९ माघ २४, मंगलबार

बैशाख अन्तिमबाट तुलसीपुर बसपार्क सञ्चालनमा आउने

चैत्र १२, २०७५  | १८८५ पटक पढिएको

१२ चैत्र, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक बसपार्क बैशाख अन्तिम साताबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडमा निर्माण गरिएको बसपार्कको सम्पूर्ण पूर्वाधार तयार भएर सञ्चालनमा आउन लागेको निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सनका विजय बोगटीले जानकारी दिए । उनले भवनको रङ लगाउने र मार्वल बिछ्याउने काम बाँकी रहेकाले तिव्रताका साथमा काम भइरहेको बताए ।

२०७४ वैशाखमा ठेक्का भएको बसपार्क निर्माणका लागि जग्गाको विवाद भएपछि निर्माण अवरुद्ध भएको थियो । जनप्रतिनिधिहरु आएपछि समस्या समाधानसँगै निर्माणको काम निकै तिव्र रुपमा अगाडि बढेको इन्जिनियर पवन योगीले जानकारी दिए । नगरप्रमुख घनश्याम पाण्डेले चुनावी एजेण्डाका रुपमा लिएको बसपार्क निर्माणमा आफु सफल भएको बताए । “तुलसीपुर बिस्तारै व्यवस्थित हुँदै जानेछ” नगरप्रमुख पाण्डेले बताए । निरिक्षणका क्रममा उनले ठेकेदारलाई निर्माणमा ढिलाइ नगर्न आग्रह समेत गरेका छन् ।

तुुलसीपुरलाई व्यवस्थित वनाउनका लागि निर्माण गरिएको बसपार्क साढे ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । वसपार्कमा करिव ३ सय गाडी अटाउने क्षमता रहेको पनि इन्जिनियर योगीले जानकारी दिए । आधुनिक यात्रु प्रतिक्षालयसँगै, भवन, शौचालय, पार्क र सडक निर्माण गरिएको उनले जानकारी दिए । बसपार्कभित्र ५२ वटा व्यवसायिक टहराका साथै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका रहेन बताईको छ । बसपार्कमा स्तनपान कक्षका साथै सेन्सरयुक्त ढोका समेत राखिने बताइएको छ । आवश्यक क्षेत्रफल बढाउनका लािग उपमहानगरपालिकाले नमुना अटो भिलेज समेत निर्माण गरेको छ । निर्माणको लागि असारसम्म म्याद भएपनि वैशाख अन्तिम साता निर्माण सम्पन्न गरेर हन्तान्तरण गरिने निर्माण कम्पनीले बताएको छ ।

आधुनिक वसपार्क सञ्चालन हुने कुराले यातायात व्यवसायीहरुमा उत्साह पलाएको छ । “हाम्रा गाडी अव सुरक्षित हुने भए” राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले बताए । उनले गाडी जथाभावि राख्नुपर्ने बाध्यताको अन्त्य हुने समेत बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस