प्रदेश सडक: ‘कतै गुणस्तरहिन, कतै मापदण्ड विपरीत’

फागुन ०३, २०७६  |  २३५ पटक पढिएको

– खेमराज रिजाल
३ फागुन, पच्कल्ला(मानपुर) / प्रदेश सरकारले निर्माण गर्न थालेका सडकहरु गुणस्तरहिन र मापदण्ड विपरीत भएपछि उपभोक्ताहरु आक्रोशित भएका छन् । जिल्लाका अधिकांश प्रदेश सडकहरु गुणस्तरहिन भएपछि उपभोक्ताहरुले पत्रकार गुहार्न थालेका छन् । निर्माण कम्पनीका आधिकारीक व्यक्ति तथा प्राविधिक तथा सडक ठेक्का लगाउने प्रदेश स्तरीय डिभिजन सडक कार्यालयका अधिकारीलाइ समेत सम्पर्क गर्न नसकेपछि उपभोक्ताहरुले पत्रकार सम्मेलन गरी सम्बन्धित अधिकारीहरुलाई ध्यानाकर्षण गराएका छन् ।

बिजौरी—साइपुर—भोजपुर सडक कालोपत्रे गर्ने क्रममा अत्यन्तै लापर्वाहि गरिएको उपभोक्ताहरुको गुनासो रहेको छ । सुरुमा बाह्र मिटर सडकको चौडाइ कायम गर्ने र ५ दशमलव ५ मिटर कालोपत्रे गर्ने भनिएपनि अहिले निर्माण कम्पनीले कहि ६ मिटर चौडा त कहिं ९ मिटर र कहिकहिंमात्र १२ मिटर चौडाइ कायम गरिएको बताएका छन् । काममा खटिएकाहरुलाइ पटक पटक जानकारी गराउँदा पनि उनीहरुबाट चित्तबुझ्दो जवाफ पाउन नसकेपछि उपभोक्ताहरु सडकमै आएर पत्रकार सम्मेलन गर्नुपरेको स्थानीय उपभोक्ता यज्ञमुर्ति गौतमले बताए । उपभोक्ता समिति र वडा कार्यालयले यस्तो गैरजिम्मेवारीपुर्ण काम गरीरहँदा पनि कुनै प्रतिक्रिया नजनाएको उपभोक्ताहरुको आरोप थियो ।

आवश्यक स्थानमा हिमपाइप लगाउन्, आवश्यक स्थानमा तारजाली समेत लगाउने र पक्कि नाला निर्माण गरेपछि मात्र सडक कालोपत्रे गर्नुपर्नेमा नाला निर्माणनै नगरी ग्रावेल विच्छाएर अलकत्र पोख्न थालेपनि उपभोक्ताहरु आक्रोशित भएका हुन् । उपभोक्ताहरुले पत्रकार सम्मेलनगरी प्रेस विज्ञप्ती समेत जारी गरी सञ्चारकर्मिहरुमार्फत प्रदेश सडक कार्यालय प्युठान चक्चकेको ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण पत्रमा बाटोको स्टीमेट सार्वजनिक गरिनुपर्ने, सबैस्थानमा १२ मिटर चौडा कायम गरिनुपर्ने, मानव बस्तीमा आवस्यकता अनुसार नाला तयार गरीनुपर्ने, हिमपाइप राखेर मात्र कालोपत्रे गरिनुपर्ने, बाल र जाली लगाउनुपर्ने स्थानमा सडक पिच गर्नु पुर्व नै लगाउनुपर्ने, मापदण्ड अनुसारको गुणस्तर कायम गरिनुपर्ने, प्युठानको चक्चकेस्थीत प्रदेश सडक कार्यालयका प्राविधिकले तुरुन्त बाटो अनुगमन
गर्नुपर्ने, काम भैरहेको स्थानमा एक जना प्राविधिकको पनि उपस्थित हुनुपर्ने लगायतका मागहरु समेटिएका छन् ।

आर्थिक वर्ष २०७४/०७५को बहुवर्षिय योजनामा करिव १६ करोड ६८ लाख बजेट विनियोजन गरिएको थियो । सोही बजेट अन्तर्गत जलजला निर्माण सेवाले सडक निर्माणको जिम्मा लिएको छ । बाह्र मिटर चौडाइको पक्कि सडक निर्माण भएपछि स्थानीयबासी हौसिएर घरखेत समेत कटाएर सडकका लागि निःशुल्क जग्गा दिएका थिए ।

तर सडक गुणस्तरहिन र मनोमानी रुपमा निर्माण हुन थालेपछि स्थानीयहरु आक्रोशित भएको अर्का स्थानीयबासी विष्णु बहादुर वलीले बताए । सडक स्तरोन्नतिका लागि साइपुर चौकमै केहिको खेतबारी मात्र होइन, भान्सा कोठा समेत सडकले काटेको थियो ।

मापदण्ड अनुरुप छैनः उपभोक्ता अध्यक्ष केसी
पत्रकार सम्मेलनमा सो सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गिरीराज केसी काम विशेषका कारण भेटिएनन् । तर फोन वार्तामा भने उनले यो सडक मापदण्ड अनुसार नभएको अभिव्यक्ति दिए । गुणस्तर र मापदण्डका विषयमा आफुले प्युठानस्थीत प्रदेश सडक कार्यालयमा समेत ध्यानाकर्षण गराएको बताए । तर प्रदेश सडककै डिइ र इन्जिनियर अनियमितताको आरोपमा अख्तियारको
कारवाहिमा परेका छन् । अन्य प्राविधिकहरु आएनआएको आफुलाइ जानकारी नभएको पनि उनले बताए ।

उनले राज्यको संरचना बदलिएपछि विकाश निर्माणका काममा ठुलो असर परेको बताए । ‘संघिय सरकारले गर्दै आएको सडक निर्माणको अधुरो काम प्रदेश सरकारले नलिनुपथ्यो, लिइहालेको अवस्थामा मापदण्ड अनुरुप हुनुपथ्र्यो’, केसीले भने, तर मनोमानी रुपमा काम भैरहेको छ । विरोधकालागी विरोध गर्नुभन्दा अन्य विकल्प उपभोक्ताहरुले खोजिरहेको पनि उनको अभिव्यक्ति थियो ।

अर्को विकल्पका विषयमा भने उनले पछि जानकारी दिने बताए । यो विषयमा आफुले प्रदेशसभा सांसद अमर डाँगीलाई समेत बताइसकेको र गुणस्तरका विषयमा अन्य प्राविधिकलाइ पनि देखाएको अभिव्यक्ति दिए । ‘सडककै प्राविधिकलाइ ल्याएर देखाएको हुं, उनका अनुसार पनि यो सडक तोकिएको मापदण्ड अनुरुपको छैन’—केसीले भने । विजौरी—साइपुर—भोजपुर क्रमांगत सडक संघिय सरकारले सुरु
गरेको हो । विजौरीदेखि साइपुर चौक सम्म सडक निर्माण पुरा भैसकेपछि त्यसपछि भोजपुर सम्मको सडक निर्माणको जिम्मा प्रदेश सरकारले लिएर पुनः ठेक्का लगाएको थियो ।

बाह्र मिटरको बाटो होइनः निर्माण कम्पनी
यसैबीच निर्माणको ठेक्का लिएको जलजला निर्माण सेवाले सडकको चौडाइ बाह्र मिटर नहुने बताएको छ । कहि थोरै र कहिं बाह्र मिटर भएपनि वास्तविक रुपमा कालोपत्रे गर्ने भनेको ५ मिटर चौडाइको मात्र रहेको निर्माण कम्पनीका प्रोपाइटर इश्वर पुनले बताए । ‘हामी सडक कार्यालयको निर्देशन अनुसार काम गर्दै छौं, उपभोक्ताले भनेअनुरुपको होइन’, पुनले भने नाला र हिमपाइपको काम पछि गर्दै गरौंला । आवश्यक स्थानमा नाला निर्माण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएको स्वीकार्दै पुनले ढुंगाको अभावले नाला निर्माण हुन नसकेको पनि अभिव्यक्ति दिए । ‘आयोजना अझै रनिङमै छ, हस्तान्तरण गर्नुअघि संझौतामा भएअनुरुपका काम सकिने छन्’—प्रोपाइटर पुनले भने । आफु गुणस्तरमा फाइन एण्ड क्लिन भएको दावी गर्दै नाला र चौडाइका विषयमा सडक कार्यालयलाइनै सोध्न आग्रह गरे ।

हेमन्तपुर—वनकट्टा—साइपुर—टरीगाउं सडक क्षतविक्षत
यसैबीच पाँच नम्वर प्रदेश सरकार अन्तर्गतको हेमन्तपुर—मानपुर—टरीगाउं सडक पनि निर्माण सम्पन्न नहुंदै क्षतविक्षत भएको छ । सो सडक खण्डको साइपुर—जगतागाउँ सडक खण्डको विभिन्न स्थानमा सडक भासिएपछि निर्माण कम्पनीले गिट्टि राखेर टालटुल पारेको छ । कल्भर्ट र नाला निर्माण भएका स्थानहरुमा सडक भासिएको स्थानीयबासीले बताएका छन् । प्राविधिकको निगरानी र नियमित अनुगमनको अभावमा निर्माण कम्पनीले मनोमानी रुपमा गुणस्तरहिन काम गर्दै आएको उपभोक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार