डाक्टरसावको लोकर ह्याचरी

माघ २९, २०७६  |  १८४ पटक पढिएको  |   साक्षी खबर

२९, माघ बिजौरी /फिलिफिन्सको युनिभर्सिटिमा पाएको एमविविएस सर्टिफिकेटलाई थन्क्याएर रुकुम जिल्लाका डा. राजन केसी भिनाजु रामकुमार अधिकारीलाई साथमा लिएर लोकल कुखुराको बिज्नेसमा छन् । अण्डा उत्पादनदेखि लिएर चल्ला उत्पादन र मासु खान लायक भएका चल्ला बेच्ने पनि उनीहरुको सोंच छ । त्यसैले त उनीहरुले तुलसीपुर उपमहानगरपालिका फुलबारीको दमारगाउँमा राइसा ह्याचरी एण्ड पोल्ट्री फर्म दर्ता गरी सञ्चालनमा ल्याएका छन् । आयुसा राजनकी भान्जीका नाम हो, त्यसैले फर्मको नाम पनि आइसा राखिएको हो । डाक्टरमा भन्दा लोकल कुखुरा पालनमा पैसा पनि बढी साथै सोख पनि त्यतै भएकाले लोकल कुखुरा फर्ममा लागेको डा. केसीको भनाई थियो ।


हालसम्म सवा दुई करोड लगानी भैसकेको र थप लगानी ३ करोड पुर्याउने उनीहरुको टार्गेट छ । नेपालभरी बढीमा दश जना मुख्य कुखुरा व्यवसायीको सिन्डिकेटका कारण साना व्यवसायीहरु धरासायी बन्दै गएको अवस्थामा त्यसलाई व्यवस्थापन गरी स्थानीय किसानहरुको समेत आयस्तर वृद्धि गर्ने उद्देश्यले फर्म सञ्चालन गरिएको डा. राजन केसीले बताए । त्यसका लागि दाङमै पहिलो पटक लोकल कुखुराको ह्याचरी सहित चल्ला समेत बिक्रि वितरण गर्न उद्योग सञ्चालन गरिएको हो । साढे तीन विगाहाको क्षेत्रफल भएको जग्गामा कुखुराको चरनको समेत व्यवस्थापन गरिएको छ । विशुद्ध रुपमा अर्गानिक चल्ला उत्पादनका लागि यो अभियान सुरु गरेको सञ्चालकहरुको अभिव्यक्ति छ ।

लोकल कुखुराले दिएको अण्डाबाट चल्ला उत्पादन गर्न उनीहरुले दुई वटा अत्याधुनिक वातानुकुलित मेसीन राख्नु भएको छ । सत्र हजार अण्डा अटाउने एउटा सेटर मेसीन छ । सो मेसिनमा भर्खरै पारेको अण्डा राखिन्छ । अर्को त्यस्तै ह्याचर मेसीन छ, त्यसमा अण्डा राखेको ७२ घण्टापछि चल्ला निस्कन्छन् । यी मेसिनबाट हप्तामा ४ हजार चल्ला निस्कन्छन् । अण्डाबाट औषत ९७ प्रतिशत स्वस्थ चल्ला निकाल्न सफल भएको अर्का सञ्चालक रामकुमार अधिकारीले बताए । अधिकारीका अनुसार चल्लाको मुल्य उमेर अनुसार हुन्छ । तर खानका लागि तयार भएका चल्लाको खुद्रा मुल्य ५ सय ५० रुपैया प्रतिकेजी छ । अहिले उत्पादन भएका चल्ला उनीहरुले दाङ, रोल्पा, रुकुम सल्यान देखि पश्चिममा कन्चनपुरसम्म पनि पुर्याउने गरेका छन् ।

त्यसो त साला भेनाले विभिन्न विदेशी कुखुराहरु समेत पालेका छन्, त्यो स्याम्प्लीङका लागि हो, अहिल्यै बेचविखनका लागि भने होइन । क्रस विडिङको अध्ययनका लागि ती विदेशी कुखुरा ल्याइएका हुन् । विदेशी कुखुरा र नेपाली लोकल कुखुराबीच क्रस गराएर उनीहरुले केही चल्ला समेत उत्पादन गरिसकेका छन्, तर विक्रि वितरणका लागि भने होइन । एक जोडी भाले पोथीको ३५ हजार मुल्य तिरेर उनीहरुले विदेशी कुखुरा पनि ल्याएका छन् । ल्याएको भाले पोथीबाट क्रसव्रिडिङ पनि सुरु भैसकेको छ । चल्लालाई खुवाउने दाना पनि उनीहरुले स्थानीय दानाको अभ्यास गरिरहेका छन् । चरनबाट नपुग्ने चल्लालाई ब्रोइलरको केही दानामा धान मकै मिसाएर खुवाउने गरेका छन् । चल्लाको नियमित स्वास्थ्य परीक्षण भेटनरी चिकित्सकबाट भैरहेको छ । स्याहार सुसार गर्ने महिला पनि भेटनरी प्राविधिकलाई नै राखेका छन् । आफु लगानीकर्ता दुई जना वाहेक ४ जनालाई रोजगारी पनि दिएका छन् ।


नेपालबाट लोकल कुखुरा लोप हुनै लाग्दा यो व्यवसाय सुरु गरेको सञ्चालक रामकुमारले बताए । आफुले मात्र नभएर यो अभ्यास स्थानीय महिला समुहलाई पनि गराउने तरखरमा छन् । ‘पहिलो पटक गाउँका महिला समुहलाई आठ/दशवटा चल्ला निशुल्क उपलव्ध गराउने छौं, उनीहरु पनि यसमा सफल भएर व्यवसायिक बन्न चाहे बल्ल शुल्क लिएर आवश्यकता अनुसारका चल्ला उपलब्ध गराउने छौं’–रामकुमार भन्छन्, स्थानीय अर्थतन्त्रमा पनि हाम्रो फर्मले केही दायित्व निर्वाह गर्न सकोस् ।

उनीहरुलाई यो फर्म सञ्चालनका लागि नेपाल सरकारबाट जम्मा १२ लाख रुपैया अनुदान प्राप्त भएको हो । एक करोड रुपैया एनएमवि बैंकबाट कृषि ऋण लिए, अनि एक करोड आफैले नगद जम्मा गरे । त्यसपछि उद्योग सञ्चालनमा आएको हो । अहिले अण्डादेखि दुई किलो सम्मका कुखुरा फर्ममा उत्पादन भईसकेका छन् । बजारको समस्या छैन रे । खान लायक भैसकेका चल्लाको अर्डर रोल्पाबाट आईसकेको छ । बढीमा तीन वर्षमा लगानी उठाउने उनीहरुको लक्ष्य रहेको छ । पहिलो वर्ष लगानीमै बितेकाले खासै मुखाफा नभए पनि कम्तिमा २० लाख बचत गर्ने छन् । अर्को वर्षदेखि वार्षिक ५० लाख मुनाफा आर्जन गर्ने उद्देश्यका साथ उनीहरु अघि बढिरहनु भएको छ । ‘डाक्टर भए पनि मेहनेत गर्नै पर्छ, किसान भए पनि मेहनत गर्नै पर्छ, तर यहाँ धेरै सम्भावना देखेर यो व्यवसायमा आएको हुँ’–डा. राजन भन्छन् । स्थायी घर रुकुम भएका राजन पनि अहिले फर्मकै रेखदेखमा दमारगाउँमै बस्छन् । अब उनीहरुको बधिया भाले उत्पादन गर्ने सोंच छ । किनकी उनीहरुले यसको परीक्षण समेत गरिसकेका छन् । ‘दशवटा भालेलाई बधिया बनाएका थियौं, दशवटै सफल भए’, राजनले भने । कानुनी मान्यता पाएमा कालिज पनि पालन गर्ने सोंचमा यी दुइ पार्टनर अघि बढेका छन् ।

छोरा राजन र छोरीज्वाई रामकुमारलाई यो व्यवसायमा हौस्याउने अभिभावक भने नयन केसी हुन् । उनी औषधि व्यवस्था विभाग नेपालगन्जका लेखा अधिकृत पनि हुन् । ‘बेलाबेलामा सल्लाह दिन र फर्म हेर्न यहाँ आउंछु, नत्र मेरो पेसा र बसोबास नेपालगन्जमै छ’–नयनले भने । कृषिकर्म हराउंदै जाँदा दुःख लागेकाले यो पेसा अंगाल्न सल्लाह दिएको उनको अभिव्यक्ति थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार