२०७९ माघ २१, शनिबार

आन्तरीक किचलोमा आयुर्वेद शिक्षण अस्पताल

फागुन ०४, २०७५  | २०१६ पटक पढिएको

फिट अस्पतालमा निल बिरामी

साक्षी खबर
आयुर्वेद शिक्षण अस्पताल, बेलझुण्डी नाम राखिएको छ । करीव एक सय वेड तयारी अवस्थामा राखिएका छन् । पतन्जलीले उपहार दिएका २५ वटा वेडसंगै संस्था आफैले ७५ वेड किनेर तन्ना समेत विच्छाएर राखिएको छ । अस्पताल फार्मेसीमा काम गर्ने कर्मचारी वेरोजगार जस्तै छन् । प्रयोगशालाका सामानहरुमा खिया धमिरा लाग्न थालेका छन् । भएका चिकित्सकले बिरामी नपाएर चौरमा घाम तापिरहेको अवस्था छ । आयुर्वेद चिकित्साका अध्ययनरत विद्यार्थीहरु प्राक्टिस गर्न राजधानीसम्म पुग्नु पर्ने बाध्यता रहेको छ ।
भौतिक रुपमा फिट भएको दावी गरीएको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पताल आन्तरीक किचलोका कारण सञ्चालनमा आउन सकेको छैन । अस्त व्यस्त व्यवस्थापन सुधार र जनशक्ति व्यवस्थापनमा विश्वविद्यालयका पदाधिकारीहरुले चांसो नदिंदा अस्पतालकै उपहास भईरहेको छ । ‘अस्पतालमा आयुर्वेद अस्पताल छ भन्ने नै जानकारी छैन’–मानपुर झिंगैका स्थानीयबासी रामकुमार रिजाल भन्छन्, आयुर्वेद स्वास्थ्य सेवा लिन बिजौरी जाने गरेका छौं ।

सुन्दर नवनिर्मित अस्पताल भवनमा १ सय ८ कोठा छन् । प्रशासन, स्टोर, प्रयोगशाला, फार्मेसी, ओपिडि कक्ष, अन्तरंग विभागमा महिला वार्ड र पुरुष वार्ड, विशेषज्ञ चिकित्सकका नेमप्लेटले अस्पतालको सेवालाई गिज्याइरहेको छ, तर आयुर्वेद अध्ययन संस्थान व्यवस्थापन भने कानमा तेल हालेर बसेको छ । क्याम्पस प्रमुख सुनिलकुमार ओझा हत्पति जनसम्पर्कमै आउंदैनन्, अधिकांश समय क्याम्पस बाहिरै बित्ने गरेको बताइन्छ । उनी भारतीय नागरीक पनि हुन्, त्यसैले चांसो नदेखाएको हुन सक्ने स्थानीय सरोकारवालाहरुको टिप्पणी छ । स्थानीयबासी टोपबहादुर वली भन्छन्, विश्व विद्यालयको किचलोले संस्कृतको आयुर्वेद चिकित्साको गरीमालाइ कहिल्यै उज्यालो बन्न दिएन ।

नेपाल संस्कृत विश्व विद्यालय माताहतको आयुर्वेद अध्ययन संस्थानमा अहिले सातौं व्याचको विएएमएस (आयुर्वेदमा स्नातक) कक्षा चलिरहेको छ । यो बर्ष विद्यार्थी कोटा २० बाट बढाएर ४० स्वीकृत भएको छ । तर त्यहां अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिजौरी आयुर्वेद चिकित्सालय, तुलसीपुर प्रादेशिक अस्पताल तथा काठमाण्डौको नरदेवीमा रहेको आयुर्वेद अस्पतालमा धाउन बाध्य भएका छन् । ‘यहिं अस्पताल भैदिएको भए प्राक्टिसका लागि काठमाण्डौ जाने अवस्था हुन्थेन, तर किन अस्पताल चलेको छैन हामी विद्यार्थीहरु समेत अन्यौलमा छौं’, विएएमएस छैंठौ व्याजका एक विद्यार्थीले नाम उल्लेख नगर्ने सर्तमा भने, सरहरुको किचलोको मारमा हामी विद्यार्थीहरु परेका छौं । अघिल्लो सालसम्म विएएमएसको जम्मा शुल्क ८ लाख रुपैया थियो । यसपली बढेर करीव १२ लाख नाघेको बताइएको छ । तर विद्यार्थीहरुलाई प्राक्टिस गर्न एलोप्याथिक अस्पतालमा धाउनु पर्ने बाध्यताले आयुर्वेद चिकित्सामा पर्फेक्ट हुन समेत कठिन भएको विद्यार्थीहरुको गुनासो छ । प्राक्टिसमा तालमेल मिलाइ दिन चांडै अस्पताल सञ्चालन हुने भनिए पनि व्यावस्थापनले सुनुवाइ गरेको छैन ।

कोटेशन मार्फत बर्दियाको गुलरीया आयुर्वेदिक स्टोरले फार्मेसी सञ्चालनको जिम्मा पाएको छ । तर शिक्षण अस्पतालमा बिरामी शुन्य हुँदा औषधी विक्रि पनि शुन्य छ । करीव ४० प्रकारका आयुर्वेदिक औषधीहरु राखेर फार्मेसी सञ्चालन भए पनि विक्रिबाट आएको मुनाफाले मासिक दुई हजार भाडा तिर्न समेत मुस्किल भएको फार्मेसी सञ्चालिका शैलवाला शर्माले साक्षी खबरलाइ बताइन् ।
प्रयोगशालाका टेस्टट्युवहरुमा फोहर भरिन्छ दिन दिनै, किनकि ती सामानहरु प्रयोग विहीन छन् । केहि बिरामीको सुगर परीक्षण वाहेक नगन्य प्रयोगशाला परीक्षण । प्रयोगशालामा धेरै प्रकारका अत्यावश्यक रक्त परीक्षण गरीने भए पनि बिरामी नै नभएपछि प्राविधिकहरु समेत काम विहीन अवस्थामा रहेका छन् ।

आयुर्वेद अध्ययन संस्थानले विधिवत् रुपमा अस्पताल सञ्चालनमा आएको छैन भने पनि केहि बिरामीहरु भने आउने गरेका छन् । तर तोकिएको दिन तोकिएको विशेषज्ञ चिकित्सक पाउन मुस्किल छ । गत बुधबार अस्पतालमा १ जना बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि आए । शुक्रबार २ जना, आइतबार शुन्य बिरामी, सोमबार मध्यान्नसम्म पनि कुनै बिरामी नआएको अस्पतालका कविराज दुर्गा प्रसाद देवकोटाले भने । अस्पतालको टिकट काउण्टर अगाडि स्त्री रोग विशेषज्ञ स्वेता पोखरेलको नाम छ । बाल रोग कक्ष भनिए पनि विशेषज्ञ छैनन् । मंगलबार कायाचिकित्सक संस्थानकै डिन डा. सन्जय पोखरेल आउंछन् रे । तर सबै चिकित्सक नियमित छैनन् ।
आयुर्वेद अध्ययन संस्थानका डिन डा. सन्जय पोखरेल भन्छन्–‘अस्पताल भौतिक रुपमा मात्रै फिट
छ, दक्ष प्राविधिक र अन्य जनशक्तिका अभावले अझै अधुरो छ ।’ उनको भनाइमा अस्पतालमा पदाधिकारीहरुबीच समन्वयको किचलोका कारण अस्पताललाई विधिवत रुपमा अझै सञ्चालन गर्न नसकिएको हो । ‘न्युनतम प्राविधिक जनशक्ति व्यवस्थापनका लागि भिसि, रेक्टर र रजिस्टारलाई पटक पटक लिखित माग ग¥यौ, तर सुनुवाइ भएको छैन’–डिन पोखरेलले गुनासो पोखे । कार्यकारी परीषदको विवादका कारण जनशक्ति व्यवस्थापनमा समेत ढिलाइ भएको उनको तर्क छ, टिम वर्क नभएपछि काम गर्न असहज हुने रहेछ । अब पदाधिकारीहरुबाट जनशक्तिको समस्याका विषयमा सुनुवाइ भएपछि मात्र अस्पताल विधिवत रुपमा सञ्चालनमा आउने उनको दावी छ । तर सिनेट बैठक नहुंदै पदाधिकारीहरु फेरीने समय भैसकेको छ ।
पदाधिकारीले सिनेट बैठकका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपि ओलिबाट समय पाएका छैनन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस